ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

थोरै समय र बजेटमा ट्रेकिङ : ट्रान्जिट पोइन्ट चिसापानी

२०७९ असोज, १६  
समाचार
Tvs Raider Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । नेपालमा सबैभन्दा लामो बिदा बडादशैंको उपलक्ष्यमा दिने चलन छ । फूलपातीको दिनदेखि द्वादशीसम्म सार्वजनिक बिदा प्रायः कार्यालयले दिन्छन् । 

परिवारसँगको मिलन, ठूलाबडाको आशीर्वाद र सानालाई मायासँग जोडिएको दशैंलाई खानपान, भेटघाटबाहेक अझ रोचक र रमाइलो बनाउन चाहनेका लागि छोटो दूरीका हाइकिङ, ट्रेकिङजस्ता घुमघामका विकल्प छन् ।

पछिल्लो समय नेपालीमा घुम्ने बानी विकास भएको छ । कतिपय लामो दूरीका ट्रेकिङमा जान्छन् त कतिपयको रोजाइमा एकरात बस्ने, हिँड्न पाइने र प्रकृतिको सुन्दरतासँग पनि रमाउन सकिने खालका छोटो दूरीका ट्रेकिङ गन्तव्य पर्छन् । त्यसका लागि सुन्दरीजल–चिसापानी ट्रेकिङ (छोटो दूरी) उपयुक्त हुन सक्छ । दशकौंदेखि ट्रेकिङको ट्रान्जिट पोइन्टका रूपमा रहेको चिसापानीमा अर्को आकर्षण पनि थपिँदै छ ।

प्रदूषित बागमती नदीमा सफा पानी प्रवाह गर्ने उद्देश्यले शिवपुरी निकुञ्जभित्रै अहिले धाप अर्थात् ताल निर्माण गरिँदै छ । बागमती धाप परियोजनामार्फत अहिले यो काम भइरहेको छ । कात्तिकदेखि बागमतीमा पानी छोड्ने गरी काम भइरहेको उक्त धापले पनि चिसापानीमा एउटा पर्यटकीय ‘प्रडक्ट’ थपिदिएको छ । सुन्दरीजल हुँदै जाने चिसापानीमा अब धाप हेर्नका लागि पनि मानिसहरूको आगमन बढ्ने देखिन्छ । 

कुलेखानीपछि काठमाडौंको नजिकमा पर्ने यो ताल गर्मी महीनामा उपयुक्त गन्तव्य बन्न सक्छ, जसले चिसापानीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने चिसापानीमा होटेल व्यवसाय गर्ने सन्तु लामा बताउँछन् । मनसुन सिजनमा जाँदा कुहिरोले ढाकिएको धाप हावाको झोक्काले कुहिरो हटाउँदा भने उत्तिकै मनमोहक देखिन्छ । बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने बागमती धाप परियोजनामा जम्मा गरिएको पानी आगामी असोज २९ गतेपछि नदीमा पठाउने तयारी भएको छ ।

उपत्यकाको उत्तरपूर्वी चुचुरो मूलखर्क गाउँको सिरानमा बनिरहेको कृत्रिम ताल निर्माणको लागत ४५ करोड रुपैयाँ छ । १५८ रोपनीमा फैलिएको उक्त धापको काम सन् २०१५ मा शुरू गरिएको थियो । परियोजनाका प्रमुख इन्जिनीयर निश्चल छतकुलीले बागमतीमा पानीको बहाव र गुणस्तर बढाउन विभिन्न स्थानमा धाप निर्माण गरी स्नानयोग्य बनाउने उद्देश्य रहेको बताए । धाप निर्माण भएसँगै यहाँ डुंगा सञ्चालन गर्न सके पनि आम्दानीको स्रोत राम्रो बन्ने देखिन्छ । 

ट्रान्जिट पोइन्ट चिसापानीबाट गर्न सकिने पदयात्रा
पदयात्राका लागि ट्रान्जिट पोइन्ट मानिने चिसापानीमा यो प्रडक्टले गतिविधि बढाउने देखिन्छ । यहाँबाट १ महीनासम्मको गोन्जला ट्रेक रूट अहिले बन्द छ । यो सिन्धुपाल्चोकमा पर्छ । अलिक उमेर पुगेकाहरू र कम उमेरका ९बालबालिका०का लागि १ साताको काठमाडौं भ्याली कल्चरल ट्रेक रूट छ । यसमा काठमाडौं–चिसापानी, चिसापानी–नगरकोट, नगरकोट–धुलिखेल–नमोबुद्ध र पनौती गरेर ७ दिने ट्रेक रूट छ । सजिलो ट्रेकिङ रूट मानिने यो रूटबाट हिमालहरू पनि देखिन्छन् ।

खासगरी चिसापानीबाट जाने मुख्य ट्रेकिङमा लाङटाङ रूट पर्छ । यो १७ दिनको रूट हो । यहीँबाट हेलम्बु ट्रेकिङ शुरू हुन्छ । अर्को गोसाइँकुण्ड पनि जान्छ । यो रूट ४ दिन लाग्छ । चिसापानीमा ४० वर्षदेखि पर्यटक आउन थालेको लामा बताउँछन् । २०१० देखि होटेल व्यवसाय गर्दै आएका शाङ्बोला होटेलका सञ्चालक सन्तु लामाले मुख्य सिजन दशैंरतिहार र अर्को चैत, वैशाख र जेठमा यहाँबाट पदयात्रा गर्ने र चिसापानीलाई नै गन्तव्य बनाउने बढी हुने बताए । 

पाँच वर्षअघि सिजनमा १ महीनाअघि नै बुकिङ गर्नुपथ्र्यो । तर, पछिल्ला वर्षमा त्यति धेरै बुकिङ हुँदैन । अहिले नेपालीहरू घुम्न र बढी खर्च गर्ने पर्यटकमा गनिन थालेको उनको अनुभव छ ।

मेलम्ची नगरपालिकामा उनले ३ करोड रुपैयाँ लगानी गरेर होटेल शाङ्बोला खोलेका छन् । उनको होटेल २०७२ को भूकम्पबाट ढलेको थियो । उनले उक्त स्थान छोडेर अहिले तलपट्टि ५ रोपनीमा होटेल खोलेका छन् । अब उनी होटेलसँगै कृषि–पर्यटनलाई पनि अघि बढाउने तयारीमा छन् ।

चिसापानीबाहेक मुलुकका अन्य गन्तव्यमा पनि पदयात्रा तथा घुमघामका लागि जान सकिन्छ । कोरोना भाइरस ९कोभिड–१९० बाट विस्तारै उठ्दै गरेको पर्यटन क्षेत्रका लागि अहिले आन्तरिक पर्यटक नै मुख्य खम्बा भएका छन् । यद्यपि २०२२ लागेयता भने विदेशी पर्यटकको आगमनमा सुधार आउँदा यो वर्ष पर्यटन क्षेत्रले पुनरुत्थानका लागि बलियो जग बसाल्ने देखिन्छ । दशैंको बिदालाई सदुपयोग गर्न नजीकका हाइकिङ, छोटा तर सहज हुने ट्रेकिङ रूटमा पदयात्रा गर्न सकिन्छ ।

सरकारको सहयोग छैन : सन्तु लामा
व्यवसायीले चिसापानी बचाएका छन् । पाटी भञ्ज्याङ संरक्षण गरिएको छैन । निकुञ्ज त पछि बनेको हो । हामी भएर निकुञ्ज भएको छ । पहिले यो तिब्बतबाट नुन ल्याएर काठमाडौंमा वितरण गर्ने बाटो हो । अहिले टुकुचा खोलाजस्तै गायब भएको छ । पुस्तौंदेखि बाटोका रूपमा प्रयोग हुँदै आएको रूट पछि शिवपुरी राष्ट्रिय निकुञ्ज भयो । अहिले हामीले टिकट काटेर आवतजावत गर्नुपर्छ । टिकटले व्यवसाय पनि धराशयी भयो । निकुञ्जले बढी शुल्क लिँदा पर्यटकहरू चिसापानीमा बस्दैनन् । शुल्क लिएअनुसार बीचबीचमा सूचनापाटी तथा अन्य पूर्वाधार बनाएको छैन । 

निकुञ्जको छैन सहजीकरण
काठमाडौंको सुन्दरीजल हुँदै चिसापानी पुग्न २ रूट प्रयोग हुन्छ । शिवपुरी निकुञ्जभित्र हुँदै एउटा रूट सुन्दरीजल–मूलखर्क–धाप–चिसापानी हो ।  अर्को मूलखर्क हुँदै दायाँ लागेर जंगलैजंगलको बाटो हुँदै चिसापानी पोइन्टमा पुग्न सकिन्छ । तर, मूलखर्कमाथि हुँदै जाँदा उक्त रूटमा न कुनै स्थानको नाम तथा सूचनापाटी नै राखिएका छन्, न त शौचालय नै छ । स्थानीयले नै बनाएका २ ओटा पाटी भने यात्रामा देख्न सकिन्छ ।

पानी मुहानमाथि रहेको टिकट काउन्टरलाई अहिले निकुञ्जले तल सारेर त्यहाँ जानेबाट प्रतिटिकट १०० रुपैयाँ राजस्व संकलन गर्दै आएको छ । पानी मुहान अहिले चर्चित गन्तव्य बनेको छ । तर, निकुञ्जभित्र भने उपयुक्त संरचना, गन्तव्य तथा स्थानको नाम प्लेटहरू राखिएका छैनन् । यसले गर्दा पहिलोपटक जाने पर्यटक द्विविधामा पर्ने जोखिम उत्तिकै छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro