ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

बैंकहरूलाई पोस्ने काम राष्ट्र बैंक र सरकारले नै गरिरहेको छ : उद्योगी/समाजसेवी दीनबन्धु गोयल

२०७९ कात्तिक, १८  
अन्तरवार्ता
Tvs Raider Image Not Found

दीनबन्धु गोयल विराटनगरसहित मुलुककै उद्योग व्यवसायको क्षेत्रमा परिचित नाम हो । गोयल उद्योगी मात्र नभई अग्रणी समाजसेवी समेत हुन् । समाज सेवामा पुर्‍याएको योगदानकै कदरस्वरूप उनलाई नागरिक अभिनन्दन गरिएको छ । साधारण किराना पसलबाट शुरू भएको आफ्नो व्यावसायिक यात्रालाई उनले देशकै ठूलोमध्ये पर्ने मारुती सिमेन्ट उद्योगको स्थापनासम्म पुर्‍याए । उनले साबुन, बिस्कुट, मिस्री, पेट्रोलियम पदार्थको कारोबार, निर्माण व्यवसाय, प्लाष्टिक, कोरुगेटेड कार्टोन र मैनीबत्ती उद्योग समेत सञ्चालन गरे । साथै टेक्सटाइल, टीएमटी छड, गार्मेन्टलगायतका दर्जनौं उद्योग स्थापना गरे । तर डेढ दशकयता उनी समाज सेवामा सक्रिय छन् । प्रस्तुत छ, हालै उनलाई गरिएको नागरिक अभिनन्दन, नेपालको निजीक्षेत्र तथा उद्योग क्षेत्रको अवस्था लगायत समसामयिक विषयमा आर्थिक अभियानका विराटनगर संवाददाता वेदराज पौडेलले गरेको कुराकानीको सार :

भर्खरै मात्रै नागरिक अभिनन्दनबाट सम्मानित हुनुभयो । कस्तो अनुभव गर्नुभएको छ ?
म र मेरो परिवारले असहाय, गरीब तथा दीनदु:खीलाई गरेको सेवाको कदर गर्दै विराटनगरको नागरिक समाजले जुन सम्मान गर्‍यो, त्यसबाट निकै उत्साहित छु । यसले समाज सेवामा लाग्न थप प्रेरित गरेको छ । सबैले कुनै न कुनै रूपमा सक्नेजति समाज सेवा गर्नुपर्छ भन्ने मलाई लाग्छ । एउटा सानो सहयोगले पनि कसैको जीवनमा ठूलो महत्त्व राख्छ । त्यसैले समाजलाई आफूले सकेको सहयोग गर्न म सबैलाई आग्रह समेत गर्छु ।

समाज सेवामा किन र कहिलेदेखि हुनुहुन्छ ?
म पहिले उद्योग व्यापारमा संलग्न थिए । २२ वर्ष अघिसम्म सक्रिय रूपमा लागेको थिएँ । १५ वर्षअघि जब मेरी श्रीमतीलाई मष्तिष्काघात भयो, त्यस बेलादेखि मैले सम्पूर्ण व्यापार र उद्योगको काम हेर्न छाडेँ । जीविकाका लागि मानिसलाई पैसाको आवश्यकता हुन्छ । तर कति आवश्यक पर्छ भन्ने एउटा निश्चित सीमा हुन्छ । जीवनका आधारभूत आवश्यकता पूरा हुने कमाइ छ भने त्यसमै पनि सन्तुष्टि मान्नुपर्ने हुन्छ । किनकि चाहेर मात्र पनि सबै पाइँदैन । यसका लागि सबै कुराले साथ दिनुपर्ने हुन्छ । खान र लगाउनकै लागि त सामान्य आर्जनले पनि पुग्छ । अरूलाई सहयोग गर्दा मलाई आनन्दानुभूति हुन्छ । आफूले गरेको सहयोगले अन्य व्यक्तिको जीवनमा केही सहज भएको देख्दा खुशी लाग्छ । त्यही खुशी र आनन्दले मलाई समाज सेवामा लागिरहन प्रेरित गरेको छ ।

प्रसंग फेरौं, पछिल्लो समय बैंकहरूको चर्को ब्याजले उद्योग सञ्चालनमा समस्या भएको उद्योगी व्यवसायीको गुनासो छ । यो समस्याको सम्बोधन कसरी होला ? 

उद्योगी व्यापारीलाई हेर्ने सरकारको दृष्टिकोण फेरिनुपर्छ । 


हुन त अहिले मैले आफ्नो उद्योग व्यवसाय हेरेको छैन । तर पनि बैंकहरूलाई पोस्ने काम राष्ट्र बैंक र सरकारले नै गरिरहेको छ । यो अवस्थाको अन्त्य हुनुपर्छ । उद्योगधन्धा र व्यापार व्यवसाय नरहे मुलुकको आर्थिक अवस्था कस्तो होला ? मुलुकको असहज आर्थिक अवस्थाकै कारण बेलायती प्रधानमन्त्रीले राजीनामा दिनुपर्‍यो । हाम्रो मुलुकका नेताहरूमा आर्थिक विकासको भिजन नै छैन । मुलुकका सबै क्षेत्र कोरोनाका कारण तहसनहस भएका बेला अन्य क्षेत्रलाई बचाउनुपथ्र्यो । त्यस्तो संकटका बेलामा समेत बैंकहरूले अर्बाैं नाफा कमाउनैपर्ने जुन अवस्था सरकारले बनाइदिएको छ, त्यो निकै खतरापूर्ण छ । अहिले पनि उद्योगीहरूसँग ब्याज तिर्ने र श्रमिक/कर्मचारीलाई तलब खुवाउने पैसा समेत छैन । आउँदो दुई वर्षसम्म पनि यही अवस्था रहे ७० प्रतिशत उद्योग टाट पल्टिएर बन्द हुन्छन् । यसले हाम्रो अर्थतन्त्रलाई संकटको अवस्थामा पुर्‍याउन सक्छ । सरकारको आयात नीति पनि अस्थिर र अव्यावहारिक छ । नचाहिँदा सामान ल्याउने अनुमति दिइन्छ, तर चाहिने सामान ल्याउन प्रतिबन्ध लगाइन्छ । मुलुकको आर्थिक विकासका लागि यस्ता नीति प्रत्युत्पादक हुन्छन् ।

विनाअध्ययन धेरै उद्योग खोलेर मात्रै औद्योगिक विकास हुँदैन । 

सरकारले निजीक्षेत्रलाई हेर्ने दृष्टिकोण सही भएन भनिन्छ । यसबारे तपाईंको बुझाइ के हो ?
हो, उद्योगी व्यापारीलाई हेर्ने सरकारको दृष्टिकोण फेरिनुपर्छ । सरकारले उद्योगी व्यवसायीका समस्या बुझेर, आवश्यक सहजीकरण र समाधान गर्दै आर्थिक विकासको मुद्दामा सँगै अघि बढ्न आवश्यक छ । यस्तै राष्ट्र वित्तीय तथा आर्थिक क्षेत्रको अभिभावक हो । अभिभावकले आफ्ना छोराछोरीलाई कसरी सक्षम बनाउने भन्ने सोच्नुपर्छ । तर सरकार र राष्ट्र बैंकले निजीक्षेत्रलाई जहिले पनि नकारात्मक दृष्टिकोणले हेरेका कारण अहिलेको अवस्था आएको हो । सबैलाई साथमा लिएर अघि बढ्यो भने मात्र मुलुक सही दिशामा अघि बढ्छ । निजीक्षेत्र, राष्ट्र बैंक र सरकार मिलेर विद्यमान समस्या र अप्ठ्यारालाई सन्तुलित रूपमा समाधान गर्न सके मुलुकमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय लाग्दैन । तर एकले अर्कालाई बदमास देख्ने प्रवृत्तिले विश्वासको वातावरण बन्न सकेन । यसले समस्या झन् जटिल बन्दै गएको छ ।

सरकारले के के सुविधा दिए निजीक्षेत्र सक्षम हुन्छ जस्तो लाग्छ ?
निजीक्षेत्रलाई पक्कै पनि प्रोत्साहन र सहुलियत चाहिन्छ । भरपर्दो विद्युत्, सडक लगायत अत्यावश्यक पूर्वाधार र उद्योग खोल्ने वातावरण चाहिन्छ । कति उद्योग खोल्ने, कुन कुन उद्योग खोल्ने र किन खोल्ने भन्ने विषयमा सरकारसँग ठोस मापदण्ड हुनुपर्छ । विनाअध्ययन धेरै उद्योग खोलेर मात्रै औद्योगिक विकास हुँदैन । उद्योग सञ्चालन हुन सकेन भने त्यसको दायित्व उद्योगी सरकार र राष्ट्र बैंकको टाउकोमा आउँछ । त्यसैले आवश्यकता अनुसार मात्र उद्योग खोल्नुपर्छ । विद्युत् र तुलनात्मक लाभ भएका अन्य उत्पादन बाहिर पठाऔं । त्यसले पनि अर्थतन्त्रलाई सुदृढ बनाउँछ । 

हजुरबुबाले सञ्चालन गरेको उद्योगलाई नै नातीले निरन्तरता दिइरहनु परेको छ ।

राजनीतिक दलहरूले निर्वाचनका बेला निजीक्षेत्रसँग नै चुनाव खर्चका लागि हारगुहार गर्छन् । तर परेको बेला निजीक्षेत्रका समस्यालाई एजेण्डा बनाउँदैनन् भन्ने गुनासो सधैं हुने गर्छ । के भन्नुहुन्छ ?
राजनीतिक दलहरूले केही गर्दैनन् भन्ने प्रमाणित भइसक्यो । सबै आफ्नै दुनो सोझ्याउनतिर लाग्छन् । देश र जनताका लागि केही गरौं भन्ने नेताहरू अहिले छैनन् । अब राजनीतिक दलहरू र तिनका नेताहरूसँग कुनै आशा/अपेक्षा गर्न सकिने अवस्था छैन । आफ्नो परिवार, नातागोताभन्दा माथि उठेर काम गर्ने नेता मैले अहिलेसम्म देखेको छैन । त्यस्ता नेता नजन्मिएसम्म मुलुकको दिगो विकास सम्भव छैन । ३०–४० वर्षअघि सरुवा बढुवाका लागि भारतमा घूस खुवाउनुपर्छ भनेको सुन्दा अचम्म लाग्थ्यो । तर अहिले नेपालमा पनि त्यही अवस्था सृजना भएको छ । अहिले खुलमखुला भ्रष्टाचार हुने गरेको छ । कर्मचारी सरुवा लिएर आउँदा नै लाखौं रकम खुवाएर आउने गरेपछि उसले खर्चसहित नाफा उठाउन खोज्छ । त्यसैले कर्मचारीतन्त्र चौपट भएको छ । माथिल्लो तहदेखि नै नियन्त्रण नभएसम्म तल्लो तहसम्म भ्रष्टाचार निर्मूल हुन सक्दैन । केही उद्योगी व्यापारीले गलत गरेका पनि होलान् । तर त्यसकै आडमा सबै उद्योगी व्यापारी फटाहा भनेर दु:ख दिने काम गर्नु हुँदैन । तत्कालीन समयमा मलाई पनि सबै काम दुरुस्त हुँदा समेत बोलाएर दु:ख दिएको अहिले पनि सम्झन्छु । त्यतिबेला मैले खेपेको जस्तो दु:ख अरु उद्योगीले नपाऊन् भन्ने चाहन्छु ।

मुलुकमा उद्योग स्थापनाको वातावरण कस्तो देख्नुहुन्छ ?
सरकार विनाआधार विदेशी लगानी भित्र्याउँछु भनेर हास्यास्पद कुरा गरिरहेको छ । जब कि स्वदेशी लगानीमा सञ्चालित उद्योगहरूले २० वर्षदेखि नयाँ उद्योग स्थापना गर्न सकिरहेका छैनन् । किनकि यहाँ उद्योग सञ्चालनको वातावरण नै छैन । यहाँ हजुरबुबाले सञ्चालन गरेको उद्योगलाई नै नातिले निरन्तरता दिइरहनु परेको छ । नयाँ पुस्तालाई नयाँ नयाँ उद्योग लगाउन प्रोत्साहन नै छैन । अनुकूल औद्योगिक वातावरण नभएसम्म यस क्षेत्रमा लगानीका लागि कोही तयार हुँदैनन् । अत: सरकारले सर्वप्रथम उपयुक्त वातावरण तयार पार्नुपर्‍यो । यसका लागि नीति निर्माण, भएका नीतिको समयसापेक्ष संशोधन, प्रक्रियागत सहजीकरण, छूट सहुलियत लगायत व्यवस्था हुनुपर्छ । तब मात्र उद्योग क्षेत्रमा लगानी आकर्षित हुन सक्छ । विनाआधार भाषण र आश्वासन मात्र दिएर लगानी आउन सक्दैन ।

मुलुकको दिगो विकासका लागि गर्नैपर्ने काम के के हुन् ?
नेपालमा विकासका अथाह सम्भावना छन् । मुख्यत: प्राकृतिक स्रोधसाधनले सम्पन्न छ । विकासमा फड्को मार्न नेपालका लागि यो ठूलो वरदान हो । त्यसैले मुलुकको विकास गर्न धेरै समस्या नै छैन । यसका लागि नेताहरूमा नैतिकता र कर्मचारीतन्त्र भ्रष्टाचारसहित हुनुपर्छ । तर अहिलेसम्म नैतिकताको राजनीति भएन । नेताहरू बूढो भए पनि उनीहरू कुर्सीकै लडाइँमा लागिरहेका छन् । कुनै एक नैतिक नेताको उदयले पनि मुलुक बन्न सक्छ । विहार बनाउन नीतिशकुमार नै पर्याप्त भएजस्तै नेपाल बनाउन पनि एउटा कुशल र नीतिवान् नेताको आवश्यकता छ । त्यसपछि कर्मचारीतन्त्र पनि स्वच्छ हुनुपर्छ । किनकि नीतिगत विषय कार्यान्वयन गराउने प्रमुख संयन्त्र नै काममा प्रतिबद्ध भएन भने जतिसुकै राम्रा नीतिले पनि प्रतिफल दिन सक्दैन ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro