ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

प्युठान–१ का एमाले उम्मेदवार थापा भन्छन्- प्रतिस्पर्धी उम्मेदवारको अलोकप्रियता नै मेरो जित्ने आधार

२०७९ कात्तिक, २१  
अन्तरवार्ता
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन् । उनीहरू आफ्ना विभिन्न एजेन्डा लिएर मतदाताकहाँ पुगिरहेका छन् । तीमध्ये कसैले सामाजिक एजेन्डा उठाएका छन् त कसैले आर्थिक । 

प्युठान–१ बाट नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सूर्य थापाका पनि विभिन्न एजेन्डा छन् । चुनावी सेरोफेरोमा रही उनीसँग आर्थिक अभियानका गणेश सुवेदीले गरेको ४ प्रश्न ।

कस्तो छ चुनावी माहोल ? जितिन्छ त ? 

प्युठानको स्थानीय निर्वाचनको परिणामअनुसार हामी पहिलो पार्टी हौं । स्थानीय चुनावमा हामीले करीब ४० हजार मत प्राप्त गरेको हो । दोस्रो कांग्रेसले २१ हजार र माओवादी केन्द्रले साढे १५ हजार पाएको छ ।

हामी एक्लै प्रतिस्पर्धामा छौं । तर, हामीलाई नेपाली कांग्रेस (बीपी) र राप्रपाले पनि नैतिक सहयोग गरेका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले उम्मेदवारी दिएको भए हाम्रो राम्रै प्रतिस्पर्धा हुन्थ्यो । तर, उसले उम्मेदवार नपाएपछि जिल्लामै खुम्चिएको/सकिँदो शक्ति राष्ट्रिय जनमोर्चाको उम्मेदवार दुर्गा पौडेल दोस्रोपटक प्रतिस्पर्धी भएर आउनुभएको छ । 

चुनावी अभियानका क्रममा आजसम्म ३२ वडामा पुगें र सबै वडामा प्रश्न गरें– चुनाव जितेपछि उहाँ फर्केर आउनुभयो ? तर, कसैले पनि उहाँ आउनुभयो भनेनन् । कसैले पनि देखेनौं, भेटेनौं, हाम्रो समस्याबारे चासो राख्नुभएन भनेको मात्रै सुनें । उहाँमा जवाफदेहिता देखिएन । त्यसैले उहाँलाई मत दिनु भनेको खेर फाल्नु मात्रै हो भन्ने किसिमको जनप्रतिक्रिया छ ।

यो नै मेरो जितको बलियो आधार हो । अर्कोतर्फ दुई क्षेत्रबाट मात्रै उम्मेदवारी दिएको पार्टीबाट उहाँ उम्मेदवार हुनुहुन्छ । दुवै ठाउँमा उहाँको पार्टीका उम्मेदवारले हार्ने निश्चित छ । यस्तो स्थितिमा हामीले स्वत: चुनाव जित्छौं । राष्ट्रिय जनमोर्चाको सकिँदो स्थिति र दुर्गा पौडेलको घोर अलोकप्रियताको जगमा उभिएर हामीले व्यापक प्युठानी जनताको आशिर्वादसहित चुनाव जित्छौं । 

काठमाडौंको बसाइ, पत्रकारिता गरेर राजनीतिमा आएको तपाईंलाई प्युठानी जनताले भोट किन दिने ? 

त्यसो भन्नु गलत हो । म पहिले पढाइसँगै राजनीतिमा सक्रिय, त्यसपछि काठमाडौंमा गएर उच्च शिक्षा अध्ययन गर्ने क्रममा पत्रकारिता र फेरि राजनीतिमा सक्रिय व्यक्ति हुँ ।

मैले पार्टीको प्यूठान इन्चार्जका हिसाबले गत वर्ष मङ्सिरदेखि अहिलेसम्म ११ पटक जिल्लाको फन्को लगाएको छु । म प्युठानका जनताबीच परिचित मान्छे हुँ ।

म यहीं जन्मेको, हुर्केको र यहींका जनताको आशीर्वाद लिएर अगाडि बढेको हुँ । उच्च शिक्षा अध्ययन, व्यक्तित्व विकास र पेशाको निम्ति र राजनीतिक जिम्मेवारीका हिसाबले म काठमाडौंमा क्रियाशील भए पनि प्युठानको धर्तीपुत्र हुँ । म प्युठानका हरेक विकास निर्माण र जनताका सुख, दु:खमा सधैं साथमै छु । यसकारण मलाई भोट दिनुहुन्छ ।

अर्को कुरा– प्यूठानको विकासको खाका, योजना र परिकल्पना कसैसँग छ भने नेकपा एमालेसँग मात्रै छ । राष्ट्रिय जनमोर्चासँग परिकल्पना छ भनेर कसले पत्याउनु । ३० वर्षसम्म प्युठानमा रजगज गर्नुभयो, रजाइँ गर्नुभयो, दाइँ लगाउनुभयो । तर, काम केही गर्नुभएन । पञ्चायतले ३० वर्ष देशमा र राष्ट्रिय जनमोर्चाले ३० वर्ष प्युठानमा उस्तै गरे । त्यो भएकाले राष्ट्रिय जनमोर्चाले चुनाव जितेर केही गर्छ भन्ने केही आधार म देख्दिनँ ।

तपाईंसँग प्युठान विकासका योजना के छन् ? 

पाँच वर्षपहिले राष्ट्रिय जनमोर्चाको मानोमा एमालेको मुरी हैसियत मिसाएर निर्वाचित गरेको हो । उहाँले ढलेको सिन्को उठाउनुभएन । सर्वत्र असफल हुनुभयो । जनताको आलोचना र आक्रोश छ । तर, हामीले प्युठानलाई राष्ट्रिय राजमार्गसँग जोडेका छौं ।

मदन भण्डारी राष्ट्रिय राजमार्ग एनएस नाइन र एनएस नाइन्टिन दुई विन्दुबाट प्युठान छिचोलेर बाहिर निस्कने, सुर्खेत पुग्ने र दार्चुला पुग्ने खण्ड बन्नेछ । जीवराज आश्रित, कृष्णसेन इच्छुक प्रादेशिक राजमार्ग प्युठानबाट प्रवेश गरेर सल्यानतर्फ ६७ किलोमीटर यही जिल्लामा पर्छ ।

स्वर्गद्वारी विमानस्थल निर्माणको कुरा गरेका छौं । हामीले कोइलाबास–बागदुल्ला–ठूलाबेंशी–भिमगिठे र मुस्ताङको लोमाङथाङ जोड्ने त्रिदेशीय राजमार्गको परिकल्पना गरेका छौं । पर्यटन विकासमा केन्द्रित छौं । प्युठान विकासको प्राथमिकता निर्धारण गरेका छौं । मल्लरानी–लिस्ने भञ्ज्याङ–झुलेनी–हंसपुर हिलस्टेशनको पूर्वाधार योजना अगाडि बढाएका छौं ।

अलपत्र परेका आयोजना अघि बढाएका छौं । हामीले ४ पृष्ठको प्रतिबद्धतापत्र तयार गरेर जनतामाझ प्रस्तुत गरेका छौं । यसमा ६४ ओटै वडामा पुगेर सल्लाह सुझाव लिएर प्युठानलाई कसरी समृद्ध बनाउने र हाम्रो काम गर्ने आधारपत्रमा रूपान्तरण गर्ने भन्ने घोषणा गरेका छौं । 

यस हिसाबले योजना, परिकल्पना, सपना भएको पार्टी एमाले हो । राष्ट्रिय हैसियत भएको पार्टी हाम्रो हो । एकल बहुमतको सरकारको दावेदारीका साथ निर्वाचनमा जुटेको पार्टी हामी हो । प्युठानका जनताका लोकप्रिय मत प्राप्त गरेर अगाडि बढेको सबैभन्दा लोकप्रिय पार्टीको उम्मेदवार हामी हौं । यसैले प्युठानका जनताको आशीर्वादमा चुनाव जित्न हामी अग्रसर छौं ।

स्थानीयको आर्थिक र शैक्षिक विकासका लागि तपाईंले नीतिगत र स्थानीय स्तरबाट कस्ता पहल गर्नुहुन्छ ? 

पूर्व–पश्चिम, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्गसँग प्युठानलाई जोड्ने र कोरिडोरहरू जोड्ने कुरालाई बढी महत्त्व दिएका छौं । प्युठानका स्याउलीबाङ, खवाङ, रजगणा र अर्खा जस्ता चारओटा वडामा अहिले पनि विद्युतीकरण भएको छैन । त्यहाँ विद्युतीकरण गर्ने र शतप्रतिशत प्युठानीलाई उज्यालोमा लैजाने संकल्प गरेका छौं ।

विद्यालय शिक्षामा हामीले कम्प्युटर प्रविधि र अंग्रेजी माध्यमलाई जोड दिने र विद्यालयको गुणस्तर खास गरी सार्वजनिक विद्यालयको गुणस्तर सुधारमा जोड गरेका छौं । 

परनिर्भरता हटाउने, आयात प्रतिस्थापन गर्ने, उत्पादन वृद्धि गर्ने, व्यावसायिक कृषिमा जोड दिने र जनताको जीवन बदल्ने समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा कार्यान्वयन गर्ने कुरामा हामीले जोड दिएका छौं ।

यिनै अवधारणा, परिकल्पना, सपना र कार्यक्रमका आधारमा हामीले भनेका छौं– हामीसँग प्रतिस्पर्धा गर्न वा टक्कर लिन सक्ने क्षमता अरूमा छैन । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro