ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

खर्चिलो चुनावको परिणति

२०७९ कात्तिक, २५  
पाठक विचार
Tvs Raider NA

नेपालमा नीतिगत भ्रष्टाचार निकै बलियो छ । यस्तो भ्रष्टाचार विभिन्न कामका लागि दिने लाइसेन्सबाट हुने गर्छ । कुनै पनि कम्पनी खोल्न नियामकीय निकायबाट स्वीकृति लिनुपर्छ । तर, यस्ता नियामकीय निकायले आवश्यकता र औचित्यका आधारमा स्वीकृति दिने वा नदिने निर्णय लिनभन्दा पनि त्यसबाट आर्थिक लाभ लिन खोजेको पाइन्छ । यसमा सिधै अर्थमन्त्रीको चासो रहेको आरोप छ । लघुबीमा कम्पनी खोल्नेदेखि शेयर ब्रोकरको लाइसेन्स दिनेसम्म यस्तो भएको बताइन्छ ।

बीमाका लागि नयाँ लाइसेन्स दिने प्रयास होस् वा करको दर हेरफेर गर्ने निर्णय, त्यसमा चुनावी खर्च उठाउने नियत हुन्छ । चुनावको सम्मुखमा यस्ता नीतिगत निर्णयहरू बग्रेल्ती हुन्छन् । आफ्ना कार्यकर्ता र निकटलाई परियोजना दिने निर्णयदेखि रकमान्तरको प्रयास पनि हुन्छ । स्वार्थ गाँसिएको विषयमा दुवैतर्फबाट निर्णय गरेर नियामक निकाय नै सरकारी सम्पत्तिको दुरुपयोगमा सहभागी हुन्छन् । चुनावको मिति टुंगो लागेसँगै मन्त्रिपरिषद् र संसदीय समिति निष्क्रिय हुने हुँदा चुनाव प्रचारकै लागि र आर्थिक सहायताकै लागि पनि अन्य समयमा भन्दा बढी नीतिगत भ्रष्टाचारहरू हुने गरेको पाइन्छ ।

राजनीतिमा व्यवसायीहरू सक्रिय भएपछि उम्मेदवार हुनका लागि टिकट किन्नेसम्मको काम भएको पाइन्छ । पदमा बसेकाले गरेको निर्णयमा कुनैले तत्काल प्रभाव देखाउँछन् भने कुनैको प्रभाव दीर्घकालसम्म देखिन्छ ।

अहिले निर्वाचन निकै खर्चिलो भएको भनी धेरैले बताउने गरेका छन् । निर्वाचनका लागि नेताहरूलाई कहाँबाट पैसा आउँछ ? व्यवसायीहरूले चन्दा दिएका हुन्छन् । त्यो चन्दाले मात्रै यति धेरै खर्च धानेको जस्तो देखिँदैन । सरकारमा बस्ने दलले निर्वाचनमा बढी खर्च गर्ने आशंका गरिन्छ । हुन पनि नीतिगत निर्णय गरेर भ्रष्टाचार गर्ने परिपाटी चलेको धेरै नै भइसकेको छ । यस्तो भ्रष्टाचारको सम्बन्ध निर्वाचनसँग छ । भ्रष्टाचारबाट कमाएको पैसा पानीसरह बगाएर निर्वाचनमा प्रभाव पार्ने गरिएको छ । त्यसैले महँगो निर्वाचन भ्रष्टाचारको एउटा कारण हो भनेर भनिएको छ । यस्तो अवस्थामा जनता आफै सचेत हुनुपर्ने हो । तर, स्वतन्त्र जनताभन्दा राजनीतिक दलप्रतिको आस्था भएको जनसंख्या ठूलो भएकाले आरोपप्रत्यारोप लगाइने गरिन्छ जसले गर्दा वास्तविकता के हो भन्ने पनि थाहा पाउन सकिँदैन । अतः निर्वाचनमा यो विकृति रोक्न सक्ने नेतृत्व छान्न सक्नुपर्छ ।

दिनेश श्रेष्ठ
हात्तीगौँडा, काठमाडौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro