विदेशी लगानीका लागि चासो लिएर आउने व्यक्तिलाई सरकारले भिसामा सहजीकरण गर्ने गरेको छ । यो जरुरी पनि छ । तर, अहिले आएर विदेशी व्यावसायिक भिसामा कडाइ गर्ने भएको छ । प्रतिबद्धताअनुसार विदेशी लगानी नआएपछि विदेशी नागरिकलाई व्यावसायिक भिसामा कडाइ गर्न लागेको हो । पछिल्लो समय विदेशीहरूले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्र विदेशी लगानी स्वीकृत गरेको विभागको भनाइ छ । विदेशी लगानी स्वीकृत भएपछि यस्ता लगानीकर्ताको परिवारले नै भिसा पाउँछन् ।
विदेशीहरूले व्यावसायिक भिसा लिए पनि लगानीका लागि भने कुनै पहल नगरेको पाइन्छ । केही महीनाका लागि भिसा लिनेबित्तिकै उसले लगानी नै ल्याउँछ भन्ने होइन । ऊ लगानीको वातावरण हेर्न र बुझ्न आएको हुन सक्छ । त्यसो हुँदा भिसा लिए पनि उसले लगानी ल्याएको हुँदैन । वास्तवमा भिसा र लगानीको खासै सम्बन्ध छैन भन्दा पनि हुन्छ । ठूला लगानीकर्ताले भिसा शुल्कको लोभ गरेर बस्छन् भन्ने हुँदैन । भिसा शुल्क जोगाउनकै लागि लगानीको बहाना बनाएको सोच नेपाल सरकारको देखिन्छ । वास्तवमा यस्तो सोच केटाकेटी पाराको हो । लगानी नभित्रिनुका कारण भिसा हुँदै होइन, लगानी वातावरण नहुनु हो । लगानीको वातावरण छ भने शुल्क तिरेर पनि नेपाल आउन उनीहरूलाई समस्या हुँदैन होला । अर्को कुरा सरकारले कति जना लगानीकर्ताले यस्तो भिसा लिएर नेपालमा बसिरहेका छन् भन्ने तथ्यांक दिएको छैन । यस्तो निर्णय गर्दा त्यो पनि उल्लेख गरेको भए विश्वसनीय हुन्थ्यो । त्यसैले अहिलेको निर्णय हचुवामात्र छैन, केही गरेको देखाउने सस्तो नाटक हो भन्ने देखिन्छ ।
भिसामा कडाइ गर्दा नेपालमा व्यावसायिक वातावरण अध्ययन गर्न आउने वातावरणसमेत खलबलिन सक्छ । त्यसैले लगानी नआउनुका कारण खोजेर त्यसको समाधान गर्नु सरकारको काम हो । सरकारी रवैयाकै कारण लगानीकर्ता बिच्किएको समेत पाइन्छ । झन्झटयुक्त प्रशासनिक सेवा र अझ स्वीकृति दिँदा व्यक्तिगत रूपमा आफूलाई के फाइदा हुन्छ भन्ने सोचको सरकार रहेसम्म लगानी आउने त कुरै आउँदैन । लगानी गर्न आउने कम्पनीले निश्चित प्रतिशत शेयर दिएपछि मात्रै लगानीका लागि स्वीकृति दिएको विगतको घटनाका कारण नेपालमा लगानीका लागि विश्वमा सकारात्मक सन्देश गएको छैन । यो नकारात्मक प्रचारबाट बच्न नेपालले खुला र उदार व्यवहार देखाउन सक्नुपर्छ । नेपाली भिसा लिएर गलत काम गरिररहेका छन् भने तिनलाई कारबाही गर्न सक्नुपर्छ । अन्यथा दुरुपयोग हुन सक्ने सम्भावनाको नाम देखाएर भिसा रोक्नु उपयुक्त देखिँदैन ।
महेश थापा
कपन, काठमाडौं ।