काठमाडौं । काठमाडौंको बौद्ध स्तूपा परिसर नजिकै सिस्नु विक्री गर्दै एक महिला । सुगर/ प्रेसरका लागि उपयोगी मानिने सिस्नु उनले प्रतिपाेका ५० रुपैयाँमा बेचेको बताइन् ।
सिस्नो (Stinging nettle) भनेर चिनिने यो वनस्पति नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने अट्रिक्यसी परिवारको पोल्ने झार हो । यसमा औषधीय गुण हुन्छ । यसलाई उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्ल (Formic acid) ले पोल्ने (जलन) र हिस्टामाइन (Histamine) ले सुन्निने भएकोले पीडादायक हुन्छ । पानीमा उमालेपछि ती तत्त्वहरू नाश भएर जान्छन् । सोही दुर्गुणको कारण पहिलेपहिले यातना दिन यसको प्रयोग गरिन्थ्यो ।
यसमा पाइने भिटामिन ए,भिटामिन सी, भिटामिन डी, लौहतत्त्व (Iron), पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल (Nettle soup) खाने चलन लामो समयदेखि छ। यसमा २५% सम्म प्रोटिन हुन्छ । त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन मानिन्छ ।
अति मूल्यवान् 'गउडा चीज' (Gouda) र यार्ग (Yarg) मा स्वादको लागि प्रयोग गरिन्छ । नेपाल को पहाडी क्षेत्रमा उपभाेग गर्नेहरू बढेका र अन्य झारहरूको प्रसारले सिस्नो पहिलेजस्तो जता ततै पाइन छाडेको छ | केही जिल्लामा सिस्नुको व्यावसायिक खेतीसमेत गरिँदै आएको छ ।