काठमाडौं । चुनावको मौका छोपेर बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि गरिएको पाइएको छ ।
मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा हरेक उपभोग्य वस्तुको मूल्य १५ प्रतिशत भन्दा बढीले बढेको पाइएको हो ।
सरकारको सम्पूर्ण ध्यान मंसिर ४ गतेको निर्वाचनमा केन्द्रित हुँदा उपभोक्ता भने बजारमा अत्याधिक रुपमा बढेको मूल्य वृद्धिको मारमा परेका छन् । सरकारका बजार नियमनकारी निकायका कर्मचारीहरू समेत निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुशी मूल्य तोक्न लागेको उपभोक्ताहरूले गुनासो गरेका छन् ।
नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले दशैँ–तिहारपछि मात्रै दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य १५ प्रतिशतले बढेको बताए । उनले पछिल्लो समय खाने तेल, दाल, चामल मात्रै नभएर हरेक खाद्यान्न लगायत अन्य वस्तुको समेत मूल्य बढेर आएको बताए ।
पूर्वअध्यक्ष बज्राचार्यले अन्य कारणले पछिल्लो एक वर्षमा ३० प्रतिशत भन्दा बढी मूल्य वृद्धि भइसकेको पनि बताए । दशैँ-तिहारको समयमा २४० रुपैयाँ पर्ने थालेको खानेतेल अहिले बजारमा २८० रुपैयाँ पुगेको उनकले जानकारी दिए । सनफ्लावर, भटमास तथा तोरीको तेलमा पनि प्रतिलिटर ४० रुपैयाँले मूल्य बढेको उनको भनाइ छ ।
भारत सरकारले नेपालमा चामल निर्यातमा प्रतिबन्ध लगाएपछि मात्रै एक बोरा चामलको मूल्य ४०० रुपैयाँसम्म बढेको पनि उनले बताए । भारतले धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत कर १५–२० दिन पहिले नै हटाइ र चामलको मूल्य घटेर आएपनि नेपाली चामल मिलवालाले भने अहिलेसम्म पुरानो मौज्दात भन्दै अझै महँगोमा चामल विक्री गरिरहेको बज्राचार्याले बताए ।
बजारमा उपभोग्य वस्तुको मूल्य बढ्नुको कुनै कारण नभएर ठूला व्यापारीहरूले चुनावमा पार्टीहरूलाई दिएको चन्दा असुल गर्न निर्वाचनकै अवसरमा वस्तुको मूल्य वृद्धि गरेको आरोप लगाए । उनले निर्वाचनको समयमा सरकारी कर्मचारी निर्वाचन केन्द्रित भएको मौकामा बजारमा उपभोग्य वस्तुको मूल्य बढाउनु अस्वाभाविक भएको बताए ।
सरकारले उपभोक्ताको हितमा चासो नराखेको भन्दै उनले चिन्ता व्यक्त गरे । बज्राचार्यले उपभोक्ताहरूको हितमा काम गर्ने हो भने बजारमा भएको अत्याधिक मूल्य वृद्धि सरकारले नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
अनुगमन गर्ने निकाय उपाभोक्ता हित संरक्षण विभाग बजारमा कुनै वस्तुको मूल्य वृद्धि भए खुद्रा पसलमा गएर अनुगमन गर्ने तर ठूला व्यापारीहरूकोमा अनुगमन गर्न जान नसक्दा बजारमा मूल्य वृद्धि भइरहने उनको भनाइ छ ।
त्यस्तै,कुलेश्वरका खाद्यसामग्री होलसल व्यापारी मनोज श्रेष्ठले खानेतेल,दाल चामलको मूल्य बढेर नै आएको बताए । उनले भारतले नेपालमा धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत करको कारणले चामलको मूल्य धेरै बढेको पनि बताए । डलरको मूल्य बढेकाले बजारमा खानेतेलको मूल्य वृद्धि भएर आएको भन्दै बाहिरबाट नै वस्तुको मूल्य बढेर आएकाले बजारमा बेच्नलाई समेत समस्या भएको श्रेष्ठले बताए ।
त्यस्तै,कुलेश्वमा खाद्यन्न किन्न आएकी विष्णु प्रधानले दाल, चामल तथा तेलको मूल्य वृद्धि अत्याधिक बढेर सामान किन्न नसक्ने अवस्था भएको गुनासो गरिन् । उनले भारतले चामलमा लगाएको कर घटाएको भनिए पनि व्यापारीहरूले मूल्य नघटाएको बताइन् ।
उनले सरकार निर्वाचनमा मात्रै नभएर उपभोक्ताले प्रयोग गर्ने उपभोग्य वस्तुको मूल्यको विषयमा पनि बजार अनुगमनमा ध्यान दिनुपर्ने बताइन् । व्यापारीहरूले भारतबाट आउने चामलको मात्रै मूल्य बढेको तर नेपाली चामलको मूल्य घटेर आएको बताएका छन् । तर बजारमा उपभोक्ताहरूले दैनिक रुपमा प्रयोग गर्ने उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा दिनभर काम गरेर बिहान बेलुका दुई छाक टार्नेहरू मारमा परेका छन् । सरकारले समयमा नै बजार मूल्य नियन्त्रणका लागि बजार अनुगमन गर्नुपर्ने उपभोक्ताहरूको माग छ ।
यो पनि पढ्नुहोस
भारतले हटायो धान र चामल निर्यातमा लगाएको शुल्क, उद्याेगीलाई राहत