एक दशकदेखि पाउरोटी उत्पादन गर्दै आएको महेन्द्रनगर अवस्थित सुरज बेकरी कच्चा पदार्थको अभावमा बन्द भएको छ । पाउरोटी उत्पादनका लागि आवश्यक मैदा र अन्य सामग्री भारतीय व्यापारीहरूले सीमा नाकाबाट आउन नदिएपछि उद्योग बन्द गर्नुपरेको सञ्चालक महेन्द्रबहादुर चन्दले अभियानलाई बताए । करीब रू. २० लाखको लगानीमा सो उद्योग स्थापना भएको बताइएको छ ।
सञ्चालक चन्दले आफ्नो उद्योगको पाउरोटीको माग नेपाली बजारमा कम भएपछि उत्तर प्रदेशका पाउरोटी व्यापारीले भन्सारलगायत सशस्त्र सुरक्षा बलका मानिसहरूलाई रकम दिएर मैदा, चिनीलगायत कच्चा पदार्थ ल्याउन रोक लगाएपछि आफूले उद्योग बन्द गर्नुपरेको बताए । उनले उद्योग बन्द भएपछि आफूलगायत अन्य ६ जना कामदारको रोजीरोटी खोसिएको दुखेसो पोखे ।
केही दशक अघिसम्म भारतीय पाउरोटीको जगजगी रहेको कञ्चनपुर जिल्लामा पाउरोटी उद्योग स्थापना भएपछि भारतीय पाउरोटीलगायत खाद्यवस्तुको माग निकै घटेको थियो । सुरज बेकरी उद्योगबाट पाउरोटीका साथै क्रिमरोल, सेल रोटी, बिस्कुट र अन्य विभिन्न किसिमका केक र बर्थडे केक उत्पादन हुँदै आएका थिए ।
महेन्द्रनगरका साथै झलारी र आसपासका अन्य स्थानमा राम्रो व्यापार गर्दै आएको सो उद्योग बन्द भएपछि कञ्चनपुर, कैलालीमा फेरि भारतीय केक र पाउरोटी आउन थालेको व्यापारीहरूले बताए । नेपाली पाउरोटीभन्दा भारतीय पाउरोटी कम गुणस्तरका हुने र मूल्य पनि बढी हुने गरेको उनीहरूले बताए ।
वर्ष ६, अंक २४, बिहीवार, १४ असोज, २०६७