ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

यातायात व्यवसायीका लागि दोस्रो दशैं ! भोट हाल्न जानेहरू बढे, 'टिकट काटेरभन्दा रिजर्भमा धेरै'

२०७९ मंसिर, १  
यातायात
Tvs Raider Image Not Found

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या बढेको छ । मत खसाल्न आफ्नो मतदाता नामावली भएको ठाउँमा जानेहरू बढेका छन् । यात्रुको चाप बढेसँगै सडकमा गुड्ने सवारी साधनको सङ्ख्या पनि वृद्धि भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अहिले सवारीको चाप केही बढेको बताए । 'उपत्यकाबाट औसत अवस्थामा दैनिक ४० देखि ४५ हजार यात्रु भित्रिने र सोही बराबर बाहिरिन्छन् । तर पछिल्लो २४ घण्टामा ४१ हजार पाँच सय तीन जना यात्रु उपत्यकामा आएका छन् भने ५५ हजार एक सय ४७ जना बाहिरिएका छन्', भट्टले भने, 'अहिले औसतभन्दा केही चाप बढेको छ ।'

आजसम्म शैक्षिक संस्था र सरकारी कार्यालय सञ्चालनमै रहेकाले निर्वाचनका लागि बाहिरिने यात्रुको सङ्ख्या उल्लेख्य देखिनसकेको भोलिदेखि चाप बढ्न सक्ने उनको भनाइ छ । 

बुधवार ५१ हजार चार सय ५० जना उपत्यका छिरेको र ५१ हजार तीन सय १९ जना बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा आवतजावत गर्ने सवारी साधनको सङ्ख्या हेर्दा ८ हजार १० सवारी साधन भित्रिएको र ७ हजार ७०९ सवारी साधन बाहिरिएका छन् । त्यस्तै बिहीवार ८ हजार ३३६ सवारी साधन उपत्यकामा भित्रिएका थिए भने सोही सङ्ख्यामा सवारी बाहिरिएका छन् ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले कात्तिक अन्तिम सातायता सवारी साधन परिचालनमा चाप देखिएको बताए । 'पछिल्लो तीन–चार दिनयता देशभर रिजर्भ गाडीहरू बढी चलेका छन् । दैनिक बुकिङका गाडी पनि गइरहेकै छन् । यो क्रम शनिवारसम्मै चल्छ', सिटौलाले भने, 'अहिले सबैजसो दलले रिजर्भ गरेरै गाडी लगिरहेका छन् । दैनिकरूपमा टिकट काटेर चल्ने गाडीभन्दा रिजर्भ गाडीहरू बढी चलेका छन् । चुनावलाई मात्रै लक्षित गरेर पाँचदेखि छ लाख मानिस आवत–जावत गर्ने अनुमान हामीले गरेका छौँ ।'

लामो दूरीका सवारी साधनहरू शुक्रवार र छोटो दूरीका गाडीहरू शनिवारसम्म चल्ने उनको भनाइ छ । चुनावका लागि परिचालन भएका सवारी साधनको सङ्ख्या बढे पनि त्यसको व्यवस्थापन गर्न समस्या नरहेको सिटौलाले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro