ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

यसरी घाममा सुकिरहेको छ १ करोड बढी लगानी भएको नमुनावस्ती

२०७९ मंसिर, ३  
समाचार घरजग्गा
Tvs Raider Image Not Found
सांकेतिक फोटो

चौतारा। विसं २०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली सङ्घले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ शिखरपुरमा बनाइदिएको नमूना माझीगाउँका ४६ घर प्रयोगविहीन भएका छन् ।

भूकम्पलगत्तै रोटरी इन्टरनेशनलसमेतको सहयोगमा थाई नेपाली सङ्घले १ करोड ७ लाख खर्चेर नमूना वस्ती बनाएको थियो । फराकिलो भए पनि एककोठे घर व्यावहारिक नभएपछि विकल्प खोज्नुपरेको धनबहादुर माझी बताउँछन् ।

बाक्लो नमूना वस्तीमा रहेको घरमा माझीले ताल्चा झुन्ड्याएका छन् । माझीले वस्तीको पछाडि छकोठे आरसिसी घर ठड्याएका छन् । तेह्र सदस्यीय परिवार नमूना वस्तीको एककोठे घरमा नअटेपछि अर्को घर बनाउनुपरेको माझीले बताए । 

तत्काललाई नमूना वस्तीले सुविधा दिए पनि अहिले प्रयोगविहीन बनेको सीता माझीको भनाइ छ । उनका अनुसार केही माझी परिवारले नमूना वस्तीका घरलाई अन्नपात राख्ने र भान्छा बनाएका छन् । वस्तीका धेरैजसो घर प्रयोगविहीन अवस्थामा छन् ।

तीनवटा सामूहिक धारा र एक सामुदायिक भवनसहितको नमूना वस्तीका घरमा आधा भागसम्म ढुङ्गाको गारो र बाँकीमा प्रिफ्याब प्रयोग गरिएको छ । निर्माणमा प्रयोग गरिएका सामग्रीको आधारमा वस्तीका घर अल्पकालीन संरचना भएको नमूना वस्ती उभभोक्ता समितिका अध्यक्ष नारायण माझीले बताए । उनका अनुसार माझी वस्तीका ४६ परिवारले नै अर्को घर बनाइसकेका छन् । वैकल्पिक घर बनाउँदा माझी परिवारलाई २ देखि १० लाख रुपैयाँसम्म ऋण लागेको उनले बताए ।

दीर्घकालीन सोच नराखी बनाइएको नमूना वस्तीका एककोठे घरमा कहाँ सुत्ने, कहाँ अन्नपात राख्ने, लुगाफाटा कता राख्ने, खाना कहाँ बनाउने र पाहुना आउँदा कसरी अटाउनेजस्ता समस्या आएपछि वैकल्पिक संरचना बनाउनुपरेको माझी समुदायको भनाइ छ ।
–रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro