काठमाडौं । नेपाली कांग्रेसका युवा उम्मेदवार गगन थापा र प्रदिप पौडेल दुवै जना काठमाडौबाट चुनाव लडिरहेका छन् । थापा काठमाडौं ४ र पौडेल काठमाडौं ५ बाट चुनाव लडिरहेका छन् ।
युवा उम्मेदवारले चुनाव जित्ने नजित्ने फैसला मतपेटिका गइसकेको छ । तर मतदान गरेर फर्केका मतदाताहरूबाट लगिएको एक्जिट पोल र फिल्ड सर्भेक्षणले कांग्रेसबाट दुवै युवा उम्मेदवारले चुनाव जित्न सक्ने देखाएका छन् । तर, पौडेलभन्दा थापा बढी सुरक्षित देखिएका छन् ।
एक्जिट पोल अनुसार काठमाडौं ४ मा गगन थापा एमाले उम्मेदवार राजन भट्टराई भन्दा निकै अघि देखिएका छन् । काठमाडौं ५ मा प्रदिप पौडेल एमाले उम्मेदवार ईश्वर पोखरेल भन्दा केही मात्रै अघि देखिएका छन् । काठमाडौं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चुनाव चिन्ह लिएर प्रणय शमशेर राणा पनि चुनावी मैदानमा छन् । त्यसकारण प्रदिप पौडेल ठूलो मतान्तरमा निर्वाचित हुने सम्भावना कम छ । प्रणय तेस्रो नम्बरमा छन् ।
थापा मैदानमा रहेका काठमाडौं ४ मा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छैनन् । रास्वपाका उम्मेदवार नहुनु नै थापाले चुनाव जित्ने बलियो आधार बनेको हो । अन्य ठाउँमा भने रास्वपाका उम्मेदवार कतै निकै अघि देखिएका छन् भने कतै प्रतिस्पर्धामा देखिएका छन् ।