काठमाडौं । आज सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कलाकर्मीहरूले आफ्नो नजिकको मतदान केन्द्रमा मतदान गरेका छन् । मतदान गरिसकेपछि केही कलाकारले आउँदो निर्वाचनमा उम्मेदवारी दिने सङ्केत गरेका छन् ।
अभिनेता राजेश हमालले लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीलाई चुनाव लड्ने सङ्केत गरे । 'यो चुनावले राजनीतिमा परिवर्तन ल्याउने बुझाइ मेरो छ । पाँच वर्षमा मलाई पनि उम्मेदवारका रूपमा देख्नुहुनेछ', अभिनेता हमालले भने ।
अभिनेत्री करिश्मा मानन्धरले महाराजगञ्जस्थित काठमाडौँ महानगरपालिका–३ को वडा कार्यालयमा रहेको केन्द्रबाट मतदान गरिन् । उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै कलाकारहरू सक्रिय राजनीतिमा आएको राम्रो रहेको बताइन् । 'अहिले जतिले स्थान पाउनुभएको छ, त्यो आउँदो समयमा बढ्नेछ । अर्थात् कलाकार सक्रिय राजनीतिमा आउने क्रम बढ्नेछ', अभिनेत्री मानन्धरले भनिन् ।
चलचित्र विकास बोर्डको अध्यक्षसमेत रहेका अभिनेता भुवन केसीले काठमाडौँ क्षेत्र नं २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गरेपछि आफ्नो चाहना सक्रिय राजनीति रहेको बताए । उनले पार्टीले दिएको मौकाको सदुपयोग गर्दै आउँदो पाँच वर्षपश्चात् प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यमा उम्मेवारी दिने निश्चय रहेको बताए ।
कलाकार निर्मल शर्माले काठमाडौँ क्षेत्र नं ४ को सिफल मतदान केन्द्रमा, निर्माता तथा अभिनेता दीपकराज गिरीले काठमाडौँ क्षेत्र नं ९ को दहचोक खहरे केन्द्रमा, अभिनेत्री केकी अधिकारीले काठमाडौँ क्षेत्र नं ३ को अत्तरखेलस्थित लिटिल बर्ड स्कुल केन्द्रमा मतदान गरेका छन् । हास्यकलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ले सर्लाही–४ स्थित बरहथवा नगरपालिका–१५ मा रहेको मतदान केन्द्रबाट मतदान गरेपछि दलहरूले कलाकारलाई उचित स्थान दिनुपर्ने बताए ।
'हामी प्रचारप्रसारमा मात्र नभई सक्रिय राजनीतिमार्फत कला, संस्कृति र फिल्मको क्षेत्रमा नीतिगतसहित विभिन्न काम गर्न सक्छौँ । हामीलाई उचित स्थान दलले दिनै पर्छ', हास्यकलाकार रिजालले भने ।
निर्वाचनमा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भोट गर्न पाएनन् । उनीहरू कार्यक्रमका लागि संयुक्तराज्य अमेरिकामा रहेकाले यसपटक मतदानमा सहभागी हुन नपाएका हुन् । ‘नाइँ नभन्नु ल ६’ फिल्मको छायाङ्कनमा व्यस्त हुनुपरेकाले अभिनेत्री आँचल शर्माले पनि यसपटक भोट हाल्न पाइनन् । रासस