बागलुङ । बागलुङका दुई स्थानमा सुरक्षित मतगणनास्थल तयार पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको कार्यालय बागलुङ बजार र निर्वाचन अधिकृतको कार्यालयले बुर्तिबाङ नयाँ शहरी आयोजनाको कार्यालयमा मतगणनास्थल तयार पारेको छ ।
जिल्लामा दुई स्थानमा मतगणनाका लागि सीसी क्यामेरा जडानसँगै तारजालीको समेत व्यवस्था गरिएको छ । मतगणना स्थलमा सुरक्षा चुनौतीलाई मध्यनजर गरेर तारजाली र सीसी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिए ।
उनका अनुसार मतपेटिका राख्ने र मतगणना गर्ने कोठामा सीसी टिभी क्यामेरा जडान गरिएको छ भने गणनास्थलमा तारजालीको व्यवस्था मिलाइएको छ ।
यस्तै मतगणनास्थलमा दलका उम्मेदवार र प्रतिनिधिलाई बस्ने व्यवस्था तारजालीभन्दा बाहिर मिलाइएको छ । मतगणनास्थलको सुरक्षासँगै हुन सक्ने सम्भावित घटनाबाट बच्न तारजाली र सीसी क्यामेराबाट निगरानी गर्नुपरेको मुख्य निर्वाचन अधिकृत भट्टले जानकारी दिए ।
मतगणना जिल्ला समन्वय समितिको सभाहलमा तीन स्थानमा र निर्वाचन अधिकृतको कार्यालयले बुर्तिबाङ नयाँ शहरी आयोजनाको कार्यालयमा दुई स्थानमा हुनेछ । मुख्य निर्वाचन अधिकृत भट्टका अनुसार मत परिणाम छिटो सार्वजनिक गर्न क्षेत्र नं १ को तीन स्थान र क्षेत्र नं २ को दुई स्थानमा मतगणना गर्ने व्यवस्था गरिएको हो ।
भट्टले क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य र समानुपातिकतर्फको मतगणना जिल्ला समन्वय समितिको सभाहलमा गरिने बताए । उनले सभाहलभित्र तीन स्थानमा मतगणना गर्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए । मतगणना गर्ने प्रत्येक टोलीमा एकजना निर्वाचन अधिकृत, दुईजना गणक र एकजना कार्यालय सहयोगीको व्यवस्था गरिएको छ । मतगणनास्थलको सुरक्षाका लागि १० जनाको नेपाल प्रहरीको टोली र त्यसबाहिर सशस्त्र प्रहरी र नेपाली सेनाको टोली रहनेछ ।
यस्तै निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले बुर्तिबाङ नयाँ शहरी आयोजनाको सभाहल क्षेत्र नं २ तर्फको मतगणना गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार मतगणनास्थल रहेको सभाहलमा दुई स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ । रासस