ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमालेख ५४ प्रतिशतले बढ्दा पनि ६.३ प्रतिशत घट्यो बीमाशुल्क

२०७९ मंसिर, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो ३ महीनामा जीवन बीमा कम्पनीहरूको बीमालेखको संख्या ५४ दशमलव १० प्रतिशतले बढे पनि बीमाशुल्क भने ६ दशमलव ३ प्रतिशतले घटेको पाइएको छ । आव २०७६/७७ मा कोरोनाका कारण बीमाशुल्क कम उठेको थियो । कोरोना विस्तारै कम हुँदै गएपछि आव २०७७/७८ को पहिलो ३ महीनामा जरीवानासहित बीमालेख नवीकरण गर्नेको संख्या बढेपछि गत आवको पहिलो ३ महीनामा बीमालेख कम भए पनि बीमाशुल्क बढेको थियो । 

चालू आवमा भने बीमाशुल्क गत आवको तुलनामा घटेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आवको पहिलो ३ महीनामा १९ ओटा जीवन बीमा कम्पनीले ३५ अर्ब ७७ करोड ६८ लाख रुपैयाँ बराबर बीमाशुल्क उठाएका छन् । गत आवको पहिलो त्रैमासमा उनीहरूले ३८ अर्ब १८ करोड ६ लाख रुपैयाँ बीमा शुल्क उठाएका थिए । 

त्यस्तै जीवन बीमा कम्पनीहरूले गत साउनदेखि असोजसम्ममा १ करोड ३८ लाख ८३ हजार २५६ ओटा जीवन बीमालेख जारी गरेका छन् । गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीहरूले ९० लाख ९ हजार २७७ ओटा बीमालेख जारी गरेका थिए । 

प्राधिकरणले जारी गरेको तथ्यांकअनुसार चालू आवमा उठेको कुल बीमाशुल्कमध्ये ७ अर्ब ९ करोड ५५ लाख रुपैयाँ प्रथम बीमाशुल्क र २८ अर्ब ६८ करोड १३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क हो । 

प्राधिकरणका अनुसार पहिलो त्रैमासमा सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले उक्त अवधिमा १० अर्ब ४ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । दोस्रो बढी बीमाशुल्क उठाउनेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) रहेको छ । यो भारत र नेपालको संयुक्त लगानीको कम्पनी हो । एलआईसी नेपालले चालू आवको पहिलो त्रैमासमा ४ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गर्ने जीवन बीमा कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स (४ अर्ब ३८ करोड ४ लाख), राष्ट्रिय बीमा संस्थान (१ अर्ब ११ करोड ६७ लाख), अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफ (१ अर्ब ३१ करोड १ लाख), एशियन लाइफ (१ अर्ब ७४ करोड ३४ लाख), सूर्या लाइफ इन्स्योरेन्स (१ अर्ब ३२ करोड ४४ लाख) छन् । 

त्यस्तै प्राइम लाइफ इन्स्योरेन्सले १ अर्ब १६ करोड १४ लाख, युनियन लाइफ इन्स्योरेन्सले १ अर्ब ९१ करोड ४२ लाख, सन् नेपाल लाइफले १ अर्ब ८१ लाख र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ४७ करोड ११ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

त्यस्तै १ अर्ब रुपैयाँभन्दा कम बीमाशुल्क आर्जन गर्ने कम्पनीहरूमा पछिल्लो समय कारोबार शुरू गर्न अनुमति पाएका युनियन लाइफ र सन् नेपाल लाइफ कम्पनीबाहेकका आठ कम्पनी छन् । उनीहरूलाई जीवन बीमाको व्यवसाय गर्न लागि केही वर्ष अघिमात्र तत्कालीन बीमा समितिले अनुमति दिएको थियो । 

१ अर्बभन्दा कम बीमाशुल्क आर्जन गर्ने कम्पनीमा गुराँस लाइफ इन्स्योरेन्स (७५ करोड ७ लाख), आइएमई लाइफ इन्स्योरेन्स (८७ करोड १४ लाख), ज्योति लाइफ इन्स्योरेन्स (९५ करोड १८ लाख), रिलायन्स लाइफ इन्स्योरेन्स (७८ करोड ८० लाख), रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (८९ करोड ३१ लाख), सानिमा लाइफ इन्स्योरेन्स (५८ करोड २५ लाख) र प्रभु लाइफ इन्स्योरेन्स (५३ करोड ७२ लाख) छन् । 

सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीले चालू वर्षको पहिलो त्रैमासमा ४० करोड ५२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा प्राधिकरणले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)