क्वालालम्पुर (मलेशिया)। मलेशियामा नयाँ राजनीतिक संकट उत्पन्न भएको छ । आइतवार भएको निर्वाचनमा त्यहाँ इतिहासमै पहिलो पटक त्रिशंकु संसद बनेको छ ।
निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याएन । आश्चर्यजनक रुपमा इस्लामिक पार्टीप्रति समर्थन बढेको छ । सबैभन्दा ठूलो गठबन्धनले सरकार गठनका लागि पर्याप्त मत नल्याएको अवस्थामा यसले राजासँग थप समय मागेको छ ।
पछिल्लो घोषणाले चुनावी अनिश्चय झनै लम्बिएको छ । राजा सुल्तान अब्लुल्लाह सुुल्तान अहमद शाहले शुरुमा प्रधानमन्त्री र संसदमा बहुमतको गठबन्धको विकल्प पेश गर्न दिउँसो २ बजेसम्मको समयसीमा दिएका थिए । तत्कालै यो समस्या समाधान नहुने देखेर राजनीतिक दलहरुले अनुरोध गरेपछि राजाले म्याद बढाएर मंगलवार दिउँसोसम्म पुर्याएका छन् ।
विपक्षी नेता अनवर इब्राहिमको सुधारवादी गठबन्धनलाई २२० सिटमध्ये सबैभन्दा धेरै ८३ सिट प्राप्त भएको छ । तर यो बहुमतका लागि आवश्यक सिटभन्दा निकै कम हो । बहुमतका लागि ११२ सिट चाहिएको थियो । पूर्व प्रधानमन्त्री मुहिद्दीन यासीनको नेतृत्वको नेशनल एलायन्सलाई ७३ सिट मिलेको छ ।
युनाइटेड मलेज नेशनल अर्गनाइजेशन (यूएमएनओ) को अगुवाईको गठबन्धनको प्रदर्शन झनै खराब छ । सन् १९५७ मा बेलायतबाट मलेशिया स्वतन्त्र भएयता सन् २०१८ सम्म यही गठबन्धले मलेशियामा राज गरेको थियो । भ्रष्टाचारका कारण सन् २०१८ को निर्वाचनमा यसले अनवरको गठबन्धसँग अप्रत्याशित हार बेहोर्यो । यो पटकको निर्वाचनमा बलियो बनेर आउने यसको योजना तुहिएको छ । यो गठबन्धनलाई ३० सिट मात्रै मिलेको छ ।
निर्वाचनमा यो गठबन्धनले त्रिशंकु गठबन्धनका कारण मलेशियाको राजनीतिमा उथल पुथल मच्चिएको छ । आफूलाई बहुमतका लागि चाहिने सांसदको लिखित समर्थन मिलेको र यसलाई राजालाई सुम्पिने अनवरले बताएका छन् ।
यसबारे अन्तिम फैसला राजाले गर्नेछन् । ‘हामीले बहुमत हासिल गरेका छौं, बहुमतको अर्थ १११ भन्दा धेरै सिट’ अनवरले भनेका छन् । राजमहलबाट आफूहरुले एक पत्र पाएको, यसको संकेत आफ्नो गठबन्धनलाई सरकार बनाउन प्राथमिकता दिन सकिने उनको भनाइ छ ।
शनिवारको निर्वाचनको नतिजाले कयौं मलेशियालीहरु अचम्मित बनेका छन् । सन् २०१८ यता तीन ओटा प्रधानमन्त्री देखिसकेका मलेशियालीहरुले यस पटक पनि स्थिर सरकार पाउने आशा गरेका थिए । तर यस पटक पनि उनीहरुको आशा तुहिएको छ । एजेन्सी