काठमाडौं । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले जितको खाता खोलेको निर्वाचन क्षेत्र थियो, मुस्ताङ–१ । उक्त निर्वाचनमा एमालेका प्रेमप्रसाद तुलाचन विजयी भएका थिए । उनले ३ हजार ५४४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३ हजार २८१ मत पाएका थिए ।
५ वर्षपछि भने यो निर्वाचन क्षेत्रबाट एमालेलाई धक्का लागेको छ । यो चुनावको पहिलो मतपरिणाम सार्वजनिक हुँदा एमालेले आफ्नो क्षेत्र मात्रै गुमाएको छैन, जितको खाता खोल्ने अवसर पनि गुमाएको छ ।
अघिल्लो चुनावमा यो क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित तुलाचन यो चुनावमा नेपाली कांग्रेसका योगेश गौचन थकालीसँग पराजित भएका छन् । थकालीले ३ हजार ९९६ मत पाउँदा तुलाचनले ३ हजार ७८ मत मात्रै पाएका छन् । याे निर्वाचनमा तुलाचन पराजित मात्रै भएका छैनन्, अघिल्लो चुनावभन्दा कम मतसमेत पाएका छन् । उनले पाएको मत अघिल्लो चुनावभन्दा झण्डै ५ सय कम हो ।
देशभरका २६ ओटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये साेमवार दिउँसाे २:४५ बजेसम्मकाे मतगणनाकाे प्रारम्भिक नतिजा अनुसार एमालेले १०, कांग्रेसले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले २–२, नेकपा माओवादी केन्द र नागरिक उन्मुक्ति पार्टी १–१ ठाउँमा अग्रता बनाएका छन् । १ निर्वाचन क्षेत्रको भने मतगणना सकिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आइतवार देशभर मतदान भएको थियो ।
कहाँ कसकाे अग्रता ?