ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कांग्रेसका यी चर्चित अनुहार, जसले मतगणनामा अग्रता लिएका छन्

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत देशभरका विभिन्न स्थानमा मतगणना जारी छ । सोमवार अपराह्न ६ बजेसम्म ७६ स्थानको मतगणना चलिरहँदा नेपाली कांग्रेसले ३० स्थानमा अग्रता बनाएको छ । तीमध्ये ११ चर्चित नेता पनि छन् । 

यो सूचीमा शीर्ष स्थानमा हुनुहुन्छ, कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा । डडेलधुरा–१ बाट चुनाव लड्नुभएका देउवाले ५०० मतगणना हुँदा २३९ मत पाउनुभएको छ । देउवालाई नेपाली कांग्रेस (बीपी)का नेता कर्णबहादुर मल्लले पछ्याइरहेका छन् । उनले १४१ मत पाएका छन् । 

मतगणनामा अग्रता बनाउने अर्का चर्चित कांग्रेस उम्मेदवार हुन्, कांग्रेस महामन्त्री गगन थापा । उनले ३ हजार ४८९ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका डा. राजन भट्टराईले २ हजार ७१९ मत पाएका छन् । 

कोइराला परिवारको ‘उत्तराधिकारी’ मानिने कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला पनि मतगणनामा अग्रता बनाउने कांग्रेस उम्मेदवार हुन् । मोरङ–६ बाट चुनाव लडेका उनी एमालेका चर्चित नेता लालबाबु पण्डितसँग प्रतिस्पर्धा गरिरहेका छन् । कोइरालाले ४७८ मत ल्याउँदा पण्डितले पाएको मत संख्या ३६१ छ ।

कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले पनि आफ्नो क्षेत्रमा अग्रता बनाएका छन् । काठमाडौं–५ बाट चुनाव लडेका उनी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रतिस्पर्धामा छन् । पौडेलले ५७६ मत पाउँदा पोखरेलले पाएको मत संख्या ४५८ छ । 

चितवन–१ का कांग्रेस उम्मेदवार विश्वनाथ पौडेल पनि अग्रता बनाउने नेता हुन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका उनले ४८१ मतले अग्रता बनाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ४४२ मतसहित पछ्याइरहेका छन् । पौडेल शेयर बजारका चर्चित लगानीकर्ताका रूपमा चिनिन्छन् । 

यो सूचीमा छन्, कञ्चनपुर–३ का कांग्रेस उम्मेदवार रमेश लेखक पनि । कांग्रेसका प्रभावशाली नेता मानिने उनले ७५९ मत पाएका छन् भने एमालेकी उम्मेदवार निरू पालले ४७२ मत पाएकी छन् । 

भक्तपुर–२ मा एमालेका महेश बस्नेतसँग प्रतिस्पर्धा गरिरहेका दुर्लभ थापा करिव ५ सय मतान्तरले अगाडि छन् । उनले ४ हजार ११३ मत पाउँदा बस्नेतले ३ हजार ६८१ मत पाएका छन् । 

रूपन्देही–३ बाट गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणले पनि अग्रता बनाएका छन् । उनी राप्रपाका दीपक बोहोरासँग ४० मतको झिनो मतान्तरले अगाडि छन् । खाँणले १७४ मत पाउँदा बोहोराले पाएको मत संख्या १३४ छ । 

मतगणनामा अग्रता बनाउने ‘हाई प्रोफाइल’को सूचीमा छन्, काठमाडौं–१० का राजेन्द्र कुमार केसी । उनले १ हजार ८० मत पाएका छन् । उनको निर्वाचन क्षेत्रमा दोस्रोमा छन्, राप्रपाका प्रदीप विष्ट । विष्टले ८६५ मत पाएका छन् । 

अर्का चर्चित नेता शंकर भण्डारीले पनि मतगणनामा अग्रता बनाएका छन् । मतगणनाको प्रारम्भिक नतिजा अनुसार उनको प्रतिस्पर्धा एमालेका किरण गुरुङसँग छ । भण्डारीले २ हजार ६५१ ल्याउँदा गुरुङले २ हजार १३२ मतसहित पछ्याइरहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)