काठमाडौं। सङ्घीय राजधानी काठमाडौंका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी छ । सोमवार बिहानदेखि शुरू भएको मतगणना अधिकांश स्थानमा अहिले पनि जारी छ ।
सोमवार दिउँसोदेखि शुरू भएको काठमाडौं क्षेत्र नं १ को मतगणना सकिएको छ । यहाँबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । सिंहले ७ हजार १४० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम रविन्द्र मिश्रले ७ हजार मत कटाए पनि १२९ मतले पराजित भएका हुन् ।
काठमाडौंका बाँकी नौ वटा निर्वाचन क्षेत्रमा भने मतगणना अहिले पनि जारी छ । राति २ बजेसम्मको मतगणनामा काठमाडौं क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमको अग्रता कायमै छ । उनले २ हजार ८९१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)की ओनसरी घर्तीले १ हजार २८८ मत ल्याएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तादेवी पोखरेल १ हजार ११९ मतसहित तेस्रो स्थानमा छन् । एमालेका मणिराम फुयालले भने १ हजार ९८ मत प्राप्त गरेका छन् ।
काठमाडौं क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे ४ हजार ५०० मतसहित अग्रस्थानमा छन् । उनलाई एमालेका कृष्णबहादुर राईले ३ हजार २१३ मत सहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका रास्वपाका दुर्गाविक्रम थापा क्षेत्रीले १ हजार ६१७ मत प्राप्त गरेका छन् ।
काठमाडौं क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापाले ११ हजार ९८८ मत पाउँदा दोस्रो स्थानमा रहेका एमालेका राजन भट्टराईले ९ हजार २७७ मत ल्याएका छन् । राप्रपाका ठाकुरमोहन श्रेष्ठको १ हजार ४३९ मत ल्याएका छन् ।
काठमाडौँ क्षेत्र नं ५ मा कांग्रेसका प्रदीप पौडेल २ हजार ५९१ मतसहित अग्रस्थानमा छन् । नेकपा (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले १ हजार ६९८ मतसहित पच्छ्याइरहेका छन् ।
काठमाडौँ क्षेत्र नं ६ मा रास्वपाका शिशिर खनालले २ हजार ७९ मतसहित अग्रता कायमै राखेका छन् । कांग्रेसका भीमसेनदास प्रधानले १ हजार ४१२ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । एमालेका उम्मेदवार सर्वेन्द्र खनाल १ हजार ४१ मतसहित तेस्रो स्थानमा छन् ।
काठमाडौँ क्षेत्र नं ७ मा एमालेका श्यामकुमार घिमिरेले १ हजार ३५८ मत प्राप्त गरेका छन् । रास्वपाका उम्मेदवार गणेश पराजुलीले १ हजार ६५ मत ल्याएर पच्छ्याइरहेका छन् । माओवादी केन्द्रका अस्मिता सिंह (मानुषी) यमी भट्टराईले ९६३ मत सहित तेस्रो स्थानमा छन् ।
काठमाडौँ क्षेत्र नं ८ मा भने रास्वपाका विराजभक्त श्रेष्ठले ३ हजार ७७० मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । यस्तै हाम्रो नेपाल पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार ३१० मत सहित पच्छ्याइरहेका छन् ।एमालेका शिवसुन्दर राजवैद्यले १ हजार ५८७ मत ल्याएर तेस्रो स्थानमा छन् ।
यसैगरी क्षेत्र नं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले ५ हजार ७३४ मत ल्याएर अग्रस्थानमा छन् । यस क्षेत्रमा रास्वपाका टेकबहादुर पोखरेलले ५ हजार १४५ मतसहित पच्छ्याइरहेका छन् । लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका कल्पना धमलाले ३ हजार १३७ मत ल्याएकी छन् ।
त्यस्तै, क्षेत्र नं १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र कुमार केसीले २ हजार ४१८ मत ल्याएर अग्रता लिएका छन् । यहाँ रास्वपाका उम्मेदवार प्रदीप विष्टले १ हजार ८७८ मतसहित पच्छ्याइरहेका छन् । एमालेका हिमेश केसीले १ हजार ३०० मत प्राप्त गरेका छन् ।- रासस