ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

निर्यातमा पाँचखम्बे अवधारणा : भारत र तेस्रो मुलुकका लागि फरक नीति आवश्यक

२०७९ मंसिर, ६  
लेख | दृष्टिकोण
Tvs Raider Image Not Found
author avatar कृष्णराज बजगाईं

नेपालको तेस्रो मुुलुकको निर्यात अभिवृद्धि गर्न २०२७ सालमा व्यापार प्रवर्द्धन केन्द्रको स्थापना भएको हो । समान भूगोल र मिल्दोजुल्दो जलवायुका कारण उत्पादनमा रहेको समरूपताका कारण भारतमा नेपाली वस्तुहरूका लागि तुलनात्मक लाभको अवस्था सृजना हुन नसक्ने तथा तेस्रो मुुलुकसँग तुलनात्मक लाभका वस्तुहरूको पहिचान भएकाले ती देशसँग वस्तु निर्यात व्यापार सम्भव भएको निष्कर्षका आधारमा तेस्रोे मुलुक नै नेपालको निर्यात गन्तव्य बनाइनुपर्छ भन्ने अवधारणामा व्यापार प्रवर्द्धन केन्द्रमार्फत निर्यात विविधीकरणका कार्यक्रमहरू सञ्चालनमा आएका हुन् ।

ताप्लेजुङमा फल्ने अलैंची पारि सिक्किमतिर पनि प्रशस्तै फल्छ, इलामतिर हुने चिया, अदुवा पारि दार्जिलिङतिर पनि प्रशस्तै उब्जाउन सकिन्छ । तिब्बती परिवारको ऊनी गलैंचा लद्दाखतिर प्रशस्तै बुन्ने गरिन्छ । कर्णाली क्षेत्रको जडीबुटी भारतका कुमाउ, गढवाल, हिमाञ्चल र जम्मु काश्मिर प्रदेशमा प्रशस्तै पाइन्छन् । भारतको सुरक्षा संवेदनशीलताका कारण हिमालय क्षेत्रमा जडीबुटी संकलनमा केही कडाइका कारण मात्रै भारतमा जडीबुटी संकलनमा केही सुस्ती देखिएको हो । तयारी मालवस्तुका सन्दर्भमा भारतीय उद्योगका आकारले नै नेपाली उद्योगका उत्पादनहरू भारतमा प्रतिस्पर्धी हुन सक्ने अवस्था छैन । भूपरिवेष्टित मुुलुक भएका कारण महँगो पारवहन खर्चको आफ्नै लागत भार रहेको छ ।

समयचक्रसँग आन्तरिक आपूर्ति क्षमता (परिमाण, गुणस्तर, आपूर्ति समय र मूल्य, प्रविधि स्तरोन्नति) मा ध्यान दिन नसक्दा निर्यातमा अपेक्षित वृद्धि हुन नसके पनि अनपेक्षित ह्रासको परिस्थिति पनि सृजना भएको छैन ।

चीनतर्फ पनि लगभग सोही अवस्था विद्यमान रहे तापनि चीनमा आयात प्राथमिकतामा रहेका वस्तुहरू कागज, छाला, जडीबुटी र हस्तकलामा सामानहरू (मूर्ति) नेपालका लागि चीनमा तुलनात्मक लाभ भएका वस्तुहरूमा पर्छन् । भृकुटी कागज कारखाना र बाँसबारी छाला तथा जुत्ता कारखाना नेपाललाई यी वस्तुमा आत्मनिर्भर बनाउने र उब्रेको कागज र छाला चीन निर्यात गर्ने रणनीतिअन्तर्गत स्थापना भएका वस्तुहरू हुन् । सिचुआन मार्फत मुख्य भूमि चीन र चीनको स्वशासित भूमि तिब्बत तीनै प्रकारमा यातायात (हवाई, रेल र सडक) बाट घनीभूतमा जोडिपछि नेपालको तिब्बततर्फ रहेको निरपेक्ष र तुलनात्मक लाभका वस्तुहरूमाथिको आकर्षण समाप्त हुने आशंका उहिल्यै गरिएको थियो जो हिजो आज आएर सत्य सावित भएको छ ।

यसरी चीनलगायत भारतबाहेकका मुलुकलाई नेपाली उत्पादन र सेवा निर्यातको केन्द्रविन्दुमा राखी नेपालको निर्यात अवधारणा तर्जुमा गरिएको थियो । पर्यटन क्षेत्रलाई यही आधारमा तत्कालीन समयमा पहिलो प्राथमिकतामा राखी विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतमा रूपमा विकास गरिएको हो । आरोहणमा हिमालहरू खुला गर्ने अभियान यसै अवधारणाको उपज हो । यसरी हिमालय केन्द्रित सेवा व्यापार निर्यात नेपालको भारतबाहेकका विकसित मुलुकसँगको सेवा व्यापारको मूल रणनीतिका रूपमा अंगीकार गरिएको हो ।

भारतमा अदक्ष कामदार तथा गोर्खा भर्तीबाट आउने विप्रेषण नै नेपाल भारत व्यापार सन्तुलनको प्रमुख आधारमा रूपमा लिइएको हो । भारतमा नेपालले प्रतिस्पर्धा गर्न सक्ने तुलनात्मक लाभका सेवाहरू यी दुईओटा समूहमा सीमित रहेका छन् आजपर्यन्त पनि । बाँकी वस्तुहरू त वर्षायाममा च्याउ उम्रेसरह उम्रने र छोटो समयमै परिदृश्यबाट हराएर जाने गरेको इतिहास वनस्पति घ्यू, एक्रेलिक यार्न, जिन्क अक्साइड, तामाका तार, फलाम तथा तिनका उत्पादन, पामतेल, भटमासको तेल र सूर्यमुखी तेलको निर्यातका उदय र अस्तका घटनाक्रमबाटै स्पष्ट हुन्छ ।

तुलनात्मक लाभ नभएका वस्तुहरू निर्यात हुने भनेको दया माया र अति मुनाफाको परिस्थिति सृजना भएपछि मात्र हुन सक्ने प्रक्रियाहरू हुन् । अदुवा, अलैंची, चियाजस्ता वस्तुहरूको निर्यातमा रहेको अन्योलको कारण पनि भारतमा यी नेपाली वस्तुहरू तुलनात्मक लाभको अवस्थामा नरहनु नै हो ।

व्यापार क्षेत्रका विद्वान्हरू यसर्थ २०२७ साल देखि २०४६ सालसम्मको समय अवधि नेपालका लागि व्यापार विविधीकरणको समय मान्छन् । उक्त समय अवधिमा नेपालमा तेस्रो मुलुकसँगको व्यापारमा व्यापक विस्तार भएको देखिन्छ । ती मुलुकमा २०२७ सालतिर तुलनात्मक लाभमा वस्तु भनी पहिचान भएका वस्तुहरू आज पनि तुलनात्मक लाभका वस्तुहरूका रूपमा निर्यात भइरहेका छन् जो नेपालको वैदेशिक मुद्रा आर्जनमा अनवरत स्रोतका रूपमा रहेका छन् । केही अपवादबाहेक तेस्रो मुलुकतर्फ तत्कालीन समयमा निर्यात शुरू भएका नेपाली वस्तुहरू अहिले पनि उल्लेख्य परिमाणमा निर्यात भइ नै रहेका छन् ।

समयचक्रसँग आन्तरिक आपूर्ति क्षमता (परिमाण, गुणस्तर, आपूर्ति समय र मूल्य, प्रविधि स्तरोन्नति) मा ध्यान दिन नसक्दा निर्यातमा अपेक्षित वृद्धि हुन नसके पनि अनपेक्षित ह्रासको परिस्थिति पनि सृजना भएको छैन । हस्तकलामा आधारित वस्तुहरूकै आधारमा तेस्रो मुलुकसँगको निर्यात अभिवृद्धि गर्नुपर्छ भन्ने अवधारणा आजमा दिनसम्म आइपुग्दा झन् औचित्यपूर्ण बन्न गएको छ । ऊनी पश्मिना, तयारी पोशाक, ऊनी गलैंचा, चाँदीका गरगहना, मूर्ति, नेपाली हातेकागजको निर्यात यसका उदाहरण हुन् । भारतमा हुने निर्यातजस्तो उदय र अस्तको घटनाक्रम अन्य मुलुकसँग बेहोर्नु परेको छैन ।

उपर्युक्त परिस्थितिमाझ हाम्रा विद्वान् पूर्वजहरूले तय गरेको र नेपालका हित चाहने विदेशी विद्वान्हरूले सिफारिश गरेको नेपालको निर्यात अवधारणामा टेकेर नै नेपालले आगामी दिनका निर्यात प्राथमिकताहरू निर्धारण गरी अघि बढ्नु उपयुक्त हुन्छ ।

भारततर्फको निर्यातमा सेवा व्यापार (सुरक्षा सेवा) नै नेपालको निर्यात नीति अंगीकार गरिनु आवश्यक छ । यसका लागि आवश्यक प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ । सेक्युरिटी एजेन्सी निजी सुरक्षाको अभिन्न अंगका रूपमा रहेको सन्दर्भमा गोर्खा ब्रान्ड नामलाई यस क्षेत्रमा पनि विस्तार गरी भारतको निजी सुरक्षा बजारमा नेपालको एकाधिकार स्थापना हुने गरी वातावरण सृजना गर्नु आजको आवश्यकता हो । यस विषयलाई कार्यान्वयन गर्न सकेको खण्डमा भारतसँग रहेको दशौं अर्ब डलर बराबरको व्यापारघाटा सुरक्षा सेवा निर्यातमार्फत न्यून गर्न सकिन्छ ।

दोस्रो भारतका उत्तर प्रदेश, विहार र पश्चिम बंगालका नागरिकलाई लक्षित गरी पर्यटकीय हिलस्टेशनहरूको विकास गरी निर्यात प्रवर्द्धन गर्नु हो । भारततर्फको निर्यातमा रहेको वर्तमान जडतालाई तोड्दै भारतसँग व्यापार नाफाको अवस्था सृजना गर्न सक्ने केवल यी दुई क्षेत्र हुन् । भारतबाहेक तेस्रोे मुलुकमा (अपवादलाई छोडेर हेर्दा ) हस्तकलामा आधारित तयारी मालवस्तु, जैविक कृषिमा आधारित प्रशोधित खाद्य वस्तु तथा हिमालकेन्द्रित पर्यटन व्यापार नै प्राथमिकतामा पर्ने वस्तु र सेवाहरू हुन् ।

उपर्युक्त पक्षलाई दृष्टिगत गर्दै नेपालले आफ्ना निर्यात प्राथमिकताहरू निर्धारण गरी साधनस्रोतलाई यही क्षेत्रमा केन्द्रित गर्दा परिणाम बढी नतिजामुखी र फलदायी हुने देखिन्छ । यी अवधारणालाई लागू गर्ने गरी आन्तरिक साधनस्रोत र कूटनीतिलाई परिचालन गर्न आवश्यक छ । भूपरिवेष्टित मुुलुकका बाध्यता, हैसियत र परिबन्दलाई ध्यान दिई समयसिद्ध उपर्युक्त अवधारणामा टेकेर अघि बढ्नुमा सरकार र निजीक्षेत्र दुवैको बुद्धिमानी हुन्छ ।

निरपेक्ष र तुलनात्मक लाभ भएका वस्तु तथा सेवाहरूको समयसिद्ध सुनिश्चितता भएको निर्यात व्यापारलाई प्रवर्द्धन गर्नुको साटो नुनदेखि सुनसम्म, जिरादेखि हीरासम्म निर्यात गर्ने दिशामा जाँदा झाडीमा रहेको चराको लोभमा हातमा रहेको चरा फुत्किने अवस्था सृजना हुन नदिनुमा नै बुद्धिमानी रहन्छ ।

सारमा भन्नुपर्दा भारतमा सुरक्षा सेवा तथा हिलस्टेशन केन्द्रित पर्यटन सेवा निर्यात, भारतबाहेकका मुलुकहरूमा हिमालकेन्द्रित पर्यटन सेवाको निर्यात, प्रशोधित जैविक खाद्य वस्तुहरू तथा हस्तकलामा सामानहरू निर्यात गर्ने गरी अघि बढ्ने हो भने यो अवधारणाले नेपालमा लिच्छवीकाल पछिको अर्को स्वर्णयुग आउने निश्चित छ । अर्थशास्त्रले पनि यही मार्गदर्शन गर्छ, विद्वान्हरूको अभिमत पनि यही छ, पूर्वजहरूको वचन पनि यही नै हो र नेपालका हितैषी विदेशी मित्रहरूको सुझाव पनि यही छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro