काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा उत्पादन तथा प्रशोधन समूह अन्तर्गतका सूचीकृत ६ कम्पनीहरूमध्ये पाँच ओटा कम्पनीहरूले वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
यस समूह अन्तर्गतका ती कम्पनीले कुल रू. १ अर्ब ५४ करोड भन्दा बढी खुद नाफा कमाएका छन् । गत वर्षको तुलनामा यसवर्ष यी कम्पनीहरूको खुद नाफा २ प्रतिशतले बढेको छ । गतवर्ष पहिलो त्रैमाससम्म ती कम्पनीहरूको खुद नाफा कुल रू. १ अर्ब ५२ करोड थियो ।
यसवर्ष पाँच कम्पनीहरूमध्ये दुई कम्पनीको खुद नाफा गतवर्षको तुलनामा घटेको छ । बोटलर्स नेपाल (बालाजु) को गतवर्षभन्दा यसवर्ष १४ प्रतिशत कम र बोटलर्स नेपाल (तराई) को १७ प्रतिशत कम खुद नाफा भएको हो ।
रकमको हिसाबमा बोटलर्स नेपाल (बालाजु) ले यी तीन महीनामा सबैभन्दा बढी खुद नाफा गरेको छ । गतवर्ष पहिलो त्रैमाससम्म रू. ४६ करोड ९० लाखभन्दा बढी खुद नाफा गरेको बोटलर्स नेपाल बालाजुले यसवर्ष रू. ४० करोड १५ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षभन्दा यसवर्ष बोटलर्स नेपाल (बालाजु) को सञ्चालन नाफा कम भएकाले खुद नाफा घटेको हो ।
खुद नाफा गत वर्षभन्दा यसवर्ष वृद्धि प्रतिशतको हिसाबमा भने युनिलिभर नेपाल सबैभन्दा अघि छ । युनिलिभर नेपालको खुद नाफा गत वर्षभन्दा यसवर्ष सर्वाधिक ३५ प्रतिशतले बढेको छ । गतवर्ष रू. २५ करोड २६ लाखभन्दा बढी खुद नाफा गरेको उक्त कम्पनीले यसवर्ष रू. ३४ करोड ६ लाख खुद नाफा गरेको छ ।
उत्पादन तथा प्रशोधन समूह अन्तर्गतका उल्लेखित कम्पनीहरू बाहेक हिमालयन डिष्टिलरीको २ प्रतिशत र शिवम् सिमेन्टको ३२ प्रतिशत बढी खुद नाफा भएको छ । हिमालयन डिष्टिलरीले गतवर्ष पहिलो त्रैमाससम्म रू. २१ करोड १२ लाखभन्दा बढी खुद नाफा गरेकोमा यसवर्ष सोही अवधिसम्म रू. २१ करोड ५७ लाखभन्दा बढी खुद नाफा गरेको हो ।
त्यस्तै शिवम् सिमेन्टले गतवर्षको पहिलो त्रैमाससम्म रू. २० करोड ८२ लाखभन्दा बढी खुद नाफा गरेकोमा यसवर्ष सोही अवधिसम्म रू. २७ करोड ४७ लाखभन्दा बढी नाफा गरेको छ ।
धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्ये उत्पादन तथा प्रशोधन समूह अन्तर्गतका कम्पनीहरूको शेयरमूल्य आकर्षक देखिन्छ ।
यो समूह अन्तर्गत युनिलिभर नेपालको शेयरमूल्य सर्वाधिक प्रतिकित्ता रू. १९ हजार ७०० रहेको छ । यी क्षेत्रका कम्पनीहरूको आकर्षक लाभांशकै कारण लगानीकर्ताको आकर्षण उच्च रहेको देखिन्छ । युनिलिभर नेपालले लगानीकर्ताहरूलाई निरन्तर नगद लाभांश वितरण गर्दै आएको छ ।
यसवर्ष कम्पनीले गत आर्थिक वर्ष २०७८/ ७९ को मुनाफाबाट प्रतिकित्ता रू. १ हजार २१५ का दरले नगद लाभांश दिने तयारी गरेको छ । त्यस्तै बोटलर्स नेपाल (बालाजु) ले करसमेत २० प्रतिशत र बोटलर्स नेपाल (तराई) ले कर समेत ६० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका छन् ।
नेपाल ल्यूब आयलले भने २५ प्रतिशत बोनस शेयर र कर समेत ५ प्रतिशत नगद लाभांश गत असोज २८ गते वार्षिक साधारण सभा सम्पन्न गरी पारित गरिसकेको छ । हिमालयन डिष्टिलरी र शिवम् सिमेन्टले भने हालसम्म गतवर्षको लाभांश सार्वजनिक गरेका छैनन् ।