काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी कैलाली–३ बाट सांसदमा निर्वाचित भए । मंगलबार दिउँसो सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार उनले ५ हजार ३७१ मतान्तरले लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीलाई पराजित गरे । गठबन्धनका उम्मेदवारलाई सांसद् बन्न बाधक बनेका गंगारामले २३ हजार १२० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कृष्णकुमारले १७ हजार ७४९ मत ल्याए ।
गंगाराम मात्रै होइनन, कैलाली र बर्दियामा गठबन्धनमा रहेका दलका लागि नागरिक उन्मुक्ति पार्टीका अन्य उम्मेदवार पनि ‘खतरा’ बन्दैछन् । कैलाली–१, र २ र बर्दिया–१ मा गठबन्धन दलका उम्मेदवारका लागि नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार बाधक बन्ने देखिएका छन् । यी सबै क्षेत्रमा उक्त पार्टीका उम्मेदवारले अग्रता बनाउँदा दोस्रोमा छन् गठबन्धन दलका उम्मेदवारहरू ।
कैलाली–१ र बर्दिया–१ मा उक्त पार्टीसँग नेपाली कांग्रेसका उम्मेदवारहरू प्रतिस्पर्धामा रहँदा कैलाली–२ मा नेकपा माओवादी केन्द्रमा उम्मेदवार निकटतम प्रतिस्पर्धी छन् ।
कैलाली–१ मा उक्त पार्टीकी रन्जिता श्रेष्ठ २३ सय मतान्तरले अग्रता बनाएकी छन् । उनले ६ हजार ५७९ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीको मत ४ हजार २६० छ । सो क्षेत्रमा तेस्रो स्थानमा रहेका नेकपा एमालेका तपेन्द्रबहादुर रावलले १ हजार ३६० मत ल्याएका छन् ।
कैलाली–२ मा पनि सोही पार्टीका अरुणकुमार चौधरीको अग्रता छ । उनले २ हजार ४३८ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका छन् नेकपा माओवादी केन्द्रका भगतबहादुर बढुवालले । बढुवालको मत १ हजार ८३४ छ । एमालेका झपटबहादुर रावल उक्त क्षेत्रमा तेस्रो स्थानमा छन् । उनले १ हजार ६७० मत पाएका छन् ।
रेशम चौधरीको पार्टीले कैलालीमा मात्रै होइन, बर्दियामा पनि अग्रता हासिल गरेको छ । बर्दिया–१ मा उक्त पार्टीका उम्मेदवार ठाकुरसिंह थारू ८ हजार ४२४ मतसहित अग्रस्थानमा छन् । सो क्षेत्रमा कांग्रेसका संजयकुमार गौतम ७ हजार ३४५ मतसहित दोस्रोमा छन् । तेस्रोमा रहेका एमाले उम्मेदवारको मत भने ५ हजार ८०५ छ ।
प्रारम्भिक मतपरिणाम हेर्दा यी स्थानमा नागरिक उन्मुक्ति पार्टीले जित हासिल गर्ने सम्भावना छ । यी क्षेत्रमा पार्टीको प्रभाव राम्रो रहेको जिल्ला तहका नेता बताउँछन् ।
पार्टीको प्रभाव यो निर्वाचनमा मात्रै देखिएको होइन, गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा पनि पार्टीको मुख्य प्रभाव क्षेत्र कैलाली र बर्दिया हो । यी जिल्लामा पार्टीले आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा उभ्याएको थियो । उक्त निर्वाचनमा पार्टीले ४ स्थानीय तहमा प्रमुख र ३ मा उपप्रमुख जितेकाे थियो ।