ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

फस्टाउँदो ‘माउन्टेन टुरिजम’

२०७९ मंसिर, ७  
लेख | दृष्टिकोण
Tvs Raider Image Not Found
author avatar एमके कुलुङ

हाम्रो देश नेपालमा ‘माउन्टेन टुरिजम’ले त्यति फस्टाउने मौका पाएको छैन, जुन परिमाणमा हाम्रो देश नेपालमा हिमालहरू छन् । भनिन्छ हाम्रो देशमा १७ सय ओटाभन्दा बढी सदासर्वदा हिउँले ढाकिरहने हिमालहरू रहेका छन् । अझ त्यसमाथि नेपालमा रहेका ससाना डाँडाकाँडा र थुम्काथुम्कीलाई पनि ‘माउन्टेन’ भन्ने मान्ने हो भने त नेपालमा त्यस्ता ‘माउन्टेन’ भन्नलायक ससाना डाँडाकाँडा र थुम्काथुम्की त लाखौंलाख संख्यामा रहेका छन् ।

हिमाल र पहाडका लागि नेपाल धनी र खानी नै रहेको मान्न सकिन्छ । सोही कारणले पनि हुन सक्छ, विगतमा नेपालसम्बन्धी किताब लेखेका प्राय: सबै विदेशी लेखकले नेपाललाई ‘हिमालय किङ्डम अफ नेपाल’ भनी लेख्ने गरेको देखिन्छ । विश्वमा मान्यताप्राप्त १४ ओटा हिमाल ८ हजार मीटरभन्दा अग्ला रहेका छन् । विश्वले मान्यता दिएका १४ ओटा ८ हजार मीटरभन्दा माथिका अग्ला ती हिमालमध्ये आठओटा चाहिँ संयोगले हाम्रै देशमा रहेका छन् । ढीलोचाँडो ८ हजार मीटरभन्दा माथिका पाँचओटा हिमाल थपिँदै छन् । यसरी ८ हजार मीटरको हिमाल बढेर चाँडै १९ ओटा हुँदै छन् । अब थपिने पाँचओटै नयाँ ‘स्नो माउन्टेन’ अर्थात् हिमाल संयोगले नेपालमा नै रहेका छन् । त्यसरी नयाँ थपिने नयाँ हिमालहरू हुन् १, ‘कञ्चनजंघा वेस्ट–८५०५ मीटर (जसको खास नाम ‘यलुङ काङ/यलुङ राजा !’ हो) । २, कञ्चनजंघा साउथ–८४९४ मीटर । ३, कञ्चनजंघा सेन्ट्रल–८४८२ मीटर । ४, ल्होत्से मिडल–८४१४ मीटर र ५, ल्होत्से शार–८३८३ मीटर ।’

नेपालमा ७ हजार ५ सय मीटरदेखि ८ हजार मीटरमुनिका हिमाल ४० ओटा रहेका छन् भने ६ हजार मीटरदेखि ७ हजार ५ सय मीटरसम्मका १२ सय ५३ ओटा हिमाल पनि नेपालमै रहेका छन् । (स्रोत: ‘नेपाल पर्वत’ २०११ को अक्टोबर अंक) । यसरी हेर्दा हाम्रो देश नेपाल ‘हिमालहरू हाम्रो शान !’ भएर उभिएको छ । त्यसैले विश्वका एकसे एक र नामुद पर्वतारोहीहरूलाई नेपालका हिमालहरूले आकर्षित गर्न सकेको छ । त्यसैले यो लेखमा थोरै भए पनि माउन्टेन टुरिजमबारे लेख्ने प्रयास गरिएको छ । माउन्टेन टुरिजमको कुरो गर्दा विश्वकै अग्लो हिमाल सगरमाथालाई छुटाएमा हिमाल आरोहण सम्बन्धी लेख अधुरै रहने देखिन्छ । किनभने, विश्वकै अग्ला हिमालमध्ये हिमालहरूका राजाका पनि ‘महाराजा !’ त सगरमाथा नै हो । यसमा कसैको दुईमत रहेन ।

हाम्रो देशको सन्दर्भमा सन्दर्भमा भन्ने हो भने पर्वतारोहण पर्यटनलाई नेपाली पर्यटन उद्योगको मेरूदण्ड नै हो भन्दा फरक पर्दैन । तर पनि नेपाल सरकारले हालसम्म ४१४ ओटा हिमाल मात्रै पर्वतारोहीहरूका लागि आरोहण गर्न खुला गरेको छ । त्यस्तै नेपाल सरकारले ३३ ओटा ससाना हिमाललाई नेपाल पर्वतारोहण संघ (एनएमए) लाई रेखदेख गर्ने, ट्रेकिङ पिकका रूपमा घोषणा गरेर परमिट जारी गर्ने, परमिट जारी गरेबापतको रकम लिनेलगायतको जिम्मेवारी सुम्पेको छ । ती ३३ ओटा ट्रेकिङ पिक आरोहण गर्न आएका विभिन्न देशका पर्वतारोहीले सन् २०११ को शरद्ऋतुमा ४ सय ४७ ओटा पर्वतारोही टोलीले नेपालका विभिन्न ट्रेकिङ पिक आरोहण गरेका थिए । त्यसबापत पर्वतारोहण नेपाल संघलाई १ लाख ८४ हजार ९ सय ७५ अमेरिकी डलर तिरेका थिए । तत्कालीन बजार भाउअनुसार सटही गर्दा नेपाल पर्वतारोहण संघलाई १ करोड ३३ लाख १८ हजार २ सय नेपाली रुपैयाँ बराबरको आम्दानी भएको थियो ।

हालसम्म नेपालमा विश्वका ८ हजार मीटर अग्ला १४ ओटा हिमालमध्ये ८ ओटा नेपालमा थिए भने अब विश्वमा ६ ओटा नयाँ ८ हजार मीटरभन्दा माथिका हिमालहरू थप हुँदै छन् । यसरी थपिने नयाँ हिमालको नापजाँच र आधिकारिकता एवम् प्रामाणिकताका लागि सन् २०१८ मै स्वीट्जरल्यान्डमा रहेको अन्तरराष्ट्रिय पर्वतारोहण संघबाट प्राविधिक टोली आएर खटिने भनिएको थियो । तर, त्यसो भए तापनि विविध कारण (खास गरी कोरोना महामारी) ले गर्दा त्यो प्राविधिक टोली हालसम्म नेपाल आउन सकेका छैन । आशा गरौं, चाँडै नै अन्तरराष्ट्रिय पर्वतारोहण संघबाट प्राविधिक टोली आएर अब थपिने नेपालको नयाँ हिमालको नापजाँच गर्ने छन्, आधिकारिकता दिनेछन् र प्रामाणिकताका लागि अन्तरराष्ट्रिय पर्वतारोहण संघलाई सिफारिश पनि गर्ने छन् ।

यसरी हेर्दा विश्व पर्वतारोहण इतिहासमा ८ हजार मीटर उचाइको पाँचओटा नयाँ हिमाल थप हुँदै छन् । यसरी थप भएर विश्वमा ८ हजार मीटरमाथिका हिमाल १९ ओटा हुँदै छ भने थपिने ती नयाँ पाँचओटै हिमाल नेपालमै पर्नेवाला छन् । यसरी ८ हजार मीटरमाथिका अरू पाँचओटा हिमाल हाम्रो देश नेपालमा पर्नु हामी नेपालीहरूका लागि ठूलो अहोभाग्य र गर्वको कुरो हो । यसरी थपिने ती नयाँ पाँचओटै हिमाल जुगौं पहिलेदेखि नै कञ्चनजंघा हिमालको हाँगाबिँगा र ल्होत्चे हिमालको हाँगाबिँगाका रूपमा रहेका थिए–छन् । खालि ती हिमालले अन्तरराष्ट्रिय रूपमा मान्यता नपाएको अवस्था मात्रै हो । सम्भवत: आगामी वर्ष (यही २०२३ को शुरूमै) सम्ममा स्वीट्जरल्यान्डमा रहेको अन्तरराष्ट्रिय पर्वतारोहण संघबाट प्राविधिक टोली खटिइआउनेछन् ।

लेखक पर्यटनकर्मी हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro