ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

भारूको झन्झट

२०७९ मंसिर, ७  
सम्पादकीय
Tvs Raider Image Not Found

नेपाल भारत सिमाना खुला भएकाले सहजै भारतीय पर्यटक नेपाल आउँछन् । यसरी सहजै आउन पाइने भएकाले नेपालमा सहजै भारू चल्छ भन्ने उनीहरूको सोच हुन्छ । तर, नेपालमा ठूला दरका भारू नोट प्रतिबन्धित भएको हुँदा यसरी आउने पर्यटकलाई सिमानामा सास्ती भएको छ । नेपालको सबैभन्दा ठूलो पर्यटन बजार भारत भएकाले यस्तो सास्ती पाउने अवस्था आउनु पर्यटनका लागि राम्रो होइन । त्यसैले यो समस्या कसरी सहज बनाउने भन्नेमा सरकारको ध्यान जानु आवश्यक देखिन्छ ।

पर्यटनको प्रचार गर्दा नेपालमा ठूला भारतीय नोट नचल्ने भएकाले साना नोट लिएर आउन जानकारी दिन सकिन्छ, दिनु पनि पर्छ । तर, यस्ता नोट लिएर आएकै भरमा उनीहरूमाथि कारबाही गर्नु उपयुक्त ठहरिँदैन ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार पनि भारत नै हो । भारतसँग ठूलो परिमाणमा व्यापारघाटा रहेको छ । वस्तु निर्यात गरेर नेपालले यस्तो घाटा कम गर्न सक्दैन भन्दा पनि हुन्छ । यस्तोमा नेपालले गर्न सक्ने भनेको पर्यटन सेवाको निर्यात नै हो । तर, भारतीय पर्यटकलाई सानातिना झन्झट दिँदा त्यहाँको पर्यटन बजारमा नकारात्मक सन्देश जान्छ भन्नेमा ध्यान जानु जरुरी छ ।

पर्यटक रमाइलोका लागि आउँछन्, झन्झट बेसाउन होइन । आफूले ल्याएको नगदका कारण प्रहरीको फन्दामा परियो भने त्यसले भारतीय पर्यटकलाई समस्या थपिदिन्छ । यतिबेला पर्यटकलाई कसरी हुन्छ सहज वातावरण बनाउनुपर्ने हो ।

नेपालमा विदेशी विनिमय सञ्चिति दबाबमा छ । विदेशी मुद्रा आर्जन गर्ने माध्यम पर्यटन नै हो । नेपालले डलर खर्च गरेर भारू किन्नुपर्छ र त्यो भारू भारतलाई भुक्तानी गरिन्छ । यस्तोमा भारतीय पर्यटक बढ्नु भनेको विदेशी मुद्राको आर्जन हुनु हो । त्यसैले उनीहरूलाई धेरैभन्दा धेरै खर्च गर्न सक्ने वातावरण बनाइदिनुपर्छ । साना नोट बोकेर ल्याउन पर्यटकलाई झन्झट नै हुन्छ । त्यसैले ठूला नोट ल्याउँछन् । त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा नेपालले ध्यान दिनुपर्छ । विगतमा नेपालका बैंकमा रहेका ठूला भारतीय नोट कागजको खोस्टो बनेको पाइन्छ । भारतले विमौद्रीकरण गरेपछि नेपाली बैंकमा रहेका ठूला भारतीय नोट उसले फिर्ता नलिँदा समस्या भएको थियो । त्यसैले अहिले पनि ठूला भारतीय नोट प्रचलनमा ल्याउन डराउनुपर्ने अवस्था छ । कानूनत: त्यस्ता नोट नेपालमा प्रतिबन्धित छन् । यद्यपि लुकिछिपी तिनको कारोबार नभएको भने होइन ।

सरकारले चाहने हो भने ठूला दरका नोट बोकेर आउने पर्यटकलाई त्यस्तो नोटको स्वघोषणा गर्न लगाउन सक्छ, नभए नाकामै कर्मचारी खटाएर नेपालमा ५ सय, २ हजार नोटमा लगाइएको प्रतिबन्धबारे बताउन सक्नु पर्छ । पर्यटनको प्रचार गर्दा नेपालमा ठूला भारतीय नोट नचल्ने भएकाले साना नोट लिएर आउन जानकारी दिन सकिन्छ, दिनु पनि पर्छ । तर, यस्ता नोट लिएर आएकै भरमा उनीहरू माथि कारबाही गर्नु उपयुक्त ठहरिन्न । नेपालको प्रचारका लागि भनेर आएका भारतीय भ्लगरले स्वीकृति नलिई डमी नोट ल्याएकामा १ वर्ष जेलमै बस्नुपर्‍यो । कानूनको अज्ञानता क्षम्य हुँदैन भन्ने मान्यता छ । र, यो सही हो । तैपनि खराब नियत नलिई आएका र त्यस्तो कामै नगरेका व्यक्तिलाई समेत वास्तविकता नबुझी कारबाही गर्दा नेपाललाई नै हानि हुन्छ । ५ सय र २ हजारको नोटका विषयमा पनि यो कुरा लागू हुन्छ ।

धेरैजसो भारतीय पर्यटक सडक सीमाबाट नेपाल प्रवेश गर्छन् । उनीहरूलाई यसबारे जानकारी दिने सूचनाहरू सीमाक्षेत्रमा राख्ने हो भने पनि यसलाई कम गर्न सकिन्छ । जेहोस्, जानकारीविना नेपाल भित्रिने पर्यटकले समस्या पाउने अवस्था आउनु हुँदैन । पर्याप्त सूचना नदिई ठूला भारतीय नोट बोकेकै आधारमा पर्यटकलाई जेल पठाउने कार्य उचित होइन । हो, यस्तो नोटको दुरुपयोग हुने सम्भावनालाई रोक्न पनि सरकार उत्तिकै चनाखो हुन भने आवश्यक छ । यसबाट सम्पत्ति शुद्धीकरणजस्ता कार्यलाई प्रोत्साहन मिल्नु हुँदैन । विश्वका थुप्रै मुलुकले पर्यटकलाई पाहुना मानेका र सोहीअनुसार व्यवहार गरेका कारण ती मुलुकले आर्थिक प्रगति गरेका हुन् भन्ने कुरा सरकारले बुझ्न आवश्यक छ । र, भारतीय पर्यटकलाई कसरी नगद ल्याउँदा नेपालमा सहज हुन्छ भन्ने बारेमा पर्याप्त जानकारी हुने व्यवस्था गरिनुपर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro