ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जेलबाट छुटेपछि भारतीय फोटोग्राफरले भने, 'नेपालको प्रचारप्रसारमा सधैं लागिरहनेछु'

२०७९ मंसिर, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भारतीय फोटो पत्रकार दुर्लभ रोय चौधरीले नेपालको पर्यटन प्रचारका लागि आफू लागिरहने बताएका छन् । मंगलवार काठमाडौंमा राष्ट्रिय फोटोपत्रकार समूह नेपालको पहलमा आयोजित पत्रकार सम्मेलन गर्दै फोटो पत्रकार चौधरीले यस्तो बताएका हुन् ।

खोटा मुद्राको कसुरमा पक्राउ परी एक वर्षको जेल सजाय काटेका चौधरीले आफू जेल परे पनि नेपालीको हार्दिकता आफूले सधैं सम्झिरहने बताए । साथै नेपालको पर्यटन प्रचारका लागि आफू नेपाल आइरहने र काम गर्ने उद्घोष गरे ।

भारतको कोलकाता स्थायी ठेगाना भएका २४ वर्षीय फोटो पत्रकार चौधरी नेशनल जिओग्राफी, वाल स्ट्रिट फोटो, टाइम्स अफ इन्डिया लगायत सञ्चारमाध्यममा काम गर्थे । सन् २०१८ मा नेपालको अन्नपूर्ण सर्किटको भ्रमण गरी उनले यहाँको प्राकृतिक सुन्दरताको तस्वीर/भिडियो लिएका थिए, जुन नेशनल जिओग्राफी लगायत मिडियामार्फत प्रकाशन तथा प्रसारण भएको थियो ।

पछिल्लोपटक नेपालको माछापुच्छे« हिम शृंखला तथा पोखरा र घान्द्रुकको प्राकृतिक सुन्दरताको फोटो तथा भिडियोग्राफी गर्न आउने क्रममा डलरको खेलौना नोटसहित उनलाई भद्रपुर प्रहरीले पक्राउ गरेको थियो । ‘मनी इज नथिङ’ नामक भ्लग बनाउँदा डलर उडाउने प्रयोजनका लागि भन्दै उनले भारतबाटै डलरको फोटोकपी गरी ल्याएका थिए । तर, अनुमति नलिई त्यस्तो नोट ल्याएको र त्यसलाई चलनचल्तीमा प्रयोग गर्न खोजेको आरोपमा प्रहरीले उनीमाथि झापा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । 

पत्रकार सम्मेलनका क्रममा चौधरीले आफूलाई अर्कै कुरा लेखेको भनेर प्रहरीले अर्कै कागजमा हस्ताक्षर गराएको जिकीर गरे । उक्त नोट खेलौना मात्र भएको र त्यो देख्ने सबैले नक्कली हो भन्ने थाहा पाउने दाबी उनले गरे । ‘उक्त नोट मैले इन्टरनेटबाट डाउनलोड गरेर कोलकाताकै एक फोटोकपी सेन्टरमा फोटोकपी गर्न लगाएको थिएँ,’ उनले भने, ‘उक्त खेलौना नोट उडाएर पैसा सबैथोक होइन, पैसाले खुशी किन्न सकिँदैन भन्ने सन्देश दिन चाहन्थेँ ।’ आफूलाई प्रहरीले पक्राउ गर्दा आफ्नो क्यामेरा, लेन्स, ट्राइपोड, कन्सेप्ट पेपर आदि सबैसहित पक्राउ गरेको भए पनि बरामदी मुचुल्कामा ती सबै सामान नराखेकाले आफूले जेल बस्नुपरेको गुनासो उनको थियो ।

झापाको जेलमा ७ महीना बसिसकेपछि नेपाली सञ्चारमाध्यमले आफ्नो बारेमा समाचार लेखेपछि मुद्दाको सुनुवाइ भएको चौधरीले बताए । सरकारी वकिलले आफूमाथि ५ देखि १० वर्षको कैद सजाय मागदाबी लिए तापनि अदालतले त्यसलाई अस्वीकार गर्दै खेलौना नोट बोकेर हिँड्न नहुने कसुरमा १ वर्षको जेल सजाय तोकिएको उनको भनाइ थियो । अहिले आफू १ वर्षको जेल सजाय पूरा गरी रिहा भएको र पूर्ण सफाइका लागि उच्च अदालतमा पुनरावेदन गरेकाले अदालतको विषयमा थप केही नबोल्ने उनले बताए ।

चौधरीले आफू जुन उद्देश्यले नेपाल आएको हो, त्यो पूरा गर्न पुन: आउने बताए । ‘म आफ्नो उद्देश्यबाट विचलित छैन,’ उनले भने, ‘फेरि पनि सोही भ्लग तथा नेपालको प्राकृतिक सुन्दरताको फोटोग्राफी गर्न नेपाल आउनेछु र पोखरा तथा घान्द्रुकमा पुगेर भिडियो बनाउनेछु ।’ साथै आफूले नेपाल र नेपाली जनतालाई सधैं सम्मान गर्ने उनले बताए । आफ्नी आमाका साथ पत्रकार भेटघाटमा उपस्थित भएका चौधरीले आफू तत्कालका लागि आफ्नो देश भारत जाने र पछि फेरि नेपाल आउने दोहोर्‍याए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)