ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

भक्तपुरमा दुर्लभ र महेशको प्रतिस्पर्धा पनि दुर्लभ : '९० औं मिनेटमा गोल गरेर जिते जस्तो'

२०७९ मंसिर, ७  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar नरहरि आचार्य

काठमाडौं। प्रतिनिधिसभा सदस्य पदका लागि भक्तपुर क्षेत्र नम्बर २ को प्रतिस्पर्धा कति तीव्र छ भन्ने थाहा पाउन पछिल्लो एक महीनाका गतिविधि हेरे पुग्छ ।

नेकपा (एमाले) का उम्मेदवार बनेका महेश बस्नेत र नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री छुट्टा छुट्टै राजनीतिक दलबाट प्रतिनिधित्व गरेपनि स्वभाव मिल्ने पात्र हुन् । उनै बस्नेत र थापाको मतपरिणामलाई लिएर तीव्र चासोका साथ हेरिएको छ ।

९१ हजार ९११ मतदाता रहेको भक्तपुर -२ मा ६५ हजार ९१९ मत खसेको थियो । करीब ६० हजार हाराहारी मतगणना भइसक्दा सम्म पनि भक्तपुर २  कसले जित्छ भन्ने अनुमान कसैले लगाउन सकेका छैनन् ।

थापाको पकड क्षेत्रमा बस्नेतलाई र बस्नेतको पकड क्षेत्रमा थापालाई मत गएको छ । यसले गर्दा कुन क्षेत्रको मतगणना बाँकी छ भन्ने विषयले पनि कसले चुनाव जित्न सक्छन् भनेर अनुमान लगाउन नसकिने स्थानीयहरू बताउँछन् ।

निर्वाचनको प्रचारप्रसार देखि नै थापा र बस्पनेत आक्रामक रुपमा प्रस्तुत भएका थिए । दुवै उम्मेदवार दलबल सहित शक्ति प्रदर्शनमा उत्रिएका थिए । दुवै नेताले पार्टी प्रमुखदेखि वरिष्ठ नेता सम्मलाई लगेर चुनावी सभा सम्बोधन  गर्न  लगाएका थिए ।

विगतमा एक पटक नेमकिपा र एक पटक कांग्रेसले जितेको यो क्षेत्रमा २०७४ को निर्वाचनमा एमाले माओवादीको गठबन्धनबाट एमालेका बस्नेत विजयी भएका थिए । बस्नेतले त्यतिबेला १८ हजार बढी मतको फरकले चुनाव जितेका थिए । करीब ५० प्रतिशत मतगणना हुँदा नै उनको जित  सुनिश्चित भएको थियो ।

तर बुधवार मध्यान्ह १२ बजेसम्मको मतपरिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवार थापा एमाले उम्मेदवार बस्नेतभन्दा ६०१ मतले मात्र अघि छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार थापाले २२ हजार २३९ मत प्राप्त गरेका छन् भने बस्नेतले २१ हजार ६३८ मत प्राप्त गरेका छन् । 

राजनीतिक दल अलग - अलग भए पनि स्वभावका हिसाबले बस्नेत र थापाबीच कैयौं समानता रहेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार दुवैको विगत पनि मिल्दोजुल्दो छ । दुवै जना दलबलको राजनीति गर्न माहिर छन् ।

पार्टी अध्यक्ष केपी ओलीसँग निकट रहेका बस्नेतलाई पार्टीकै अर्को पक्षले रुचाउँदैनन् । उता पार्टी सभापति शेरबहादुर देउवाका निकट मानिने थापालाई पनि कांग्रेसको अर्को पक्षले रुचाउँदैनन् । दुई कार्यकाल लगातार जिल्ला पार्टीको सभापति भइसकेका थापासँग केही स्थानीय नेताहरू असन्तुष्ट छन । त्यसको असर मतगणनामा देखिसकेको छ ।

युवा संघको राजनीति मार्फत एकाएक केन्द्रीय राजनीतिमा छाएका बस्नेत पछिल्लो समय अध्यक्ष केपी ओलीको राइट ह्याण्ड मानिन्छन् । केपी ओली पछि कसले नेतृत्व लिने भन्ने विषयमा दोस्रो पुस्ताका नेताहरूमा विवाद छ । दोस्रो पुस्ताका  नेताहरू नै एकले अर्कोलाई माइनस गर्ने खेलमा लागेका छन् । त्यसको असर पनि मतगणना गर्दा उनीहरूले महसुस गरेका छन् ।

त्यसो त नेपाली कांग्रेस उम्मेदवार थापा पनि विद्यार्थी संगठनमा सक्रिय व्यक्ति हुन् । उनी दोस्रो कार्यकाल पनि पार्टीको जिल्ला सभापतिमा छन् । लामो समय भक्तपुरमै बसेर राजनीति गरेका थापालाई अहिले प्रतिनिधिसभा सदस्यको टिकट दिनुमा देउवाको चाहना प्रमुख कारण रहेको स्थानीय रमानन्द काफ्ले बताउँछन् । 

 

बस्नेत र थापाको प्रतिस्पर्धामा अरू सबै छायाँमा
हाल उक्त क्षेत्रबाट दल र स्वतन्त्र गरी २६ जना चुनावी प्रतिस्पर्धामा छन् । जसमा ११ जना त स्वतन्त्र उम्मेदवार नै छन् । तर अहिलेसम्मको मतगणनाको परिणाम हेर्दा बस्नेत र थापाबाहेक अरूले नोटिस गर्ने गरि मत ल्याउन सकेका छैनन् ।

स्थानीय तहको निर्वाचनमा वडामा प्राप्त मतअनुसार नेपाली कांग्रेस एक्लै एमालेभन्दा अगाडि छ । कांग्रेसले २५ हजार ७६४ मत प्राप्त गर्दा नेकपा एमालेले २४ हजार २८५ मत प्राप्त गरेको थियो । त्यस्तै नेमकिपाले ४ हजार ९२५, राप्रपाले ४ हजार १७२ मत प्राप्त गरेका थिए भने एकीकृत समाजवादीले १ हजार २०० भन्दा बढी र माओवादी केन्द्रले १ हजारभन्दा बढी मत प्राप्त गरेका थिए ।

स्थानीय चुनावको मतलाई आधार मान्ने हो भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार थापाले सहजै जित निकाल्न सक्थे । तर गठबन्धनकै आधारमा थापालाई एकलौटी मत गएको छैन ।

एमाले एक्लै पनि बलियो अवस्थामा रहेकाले उसले आफ्नो कोर क्षेत्रको मत रोक्न सकेको भए बस्नेतले अलि सहज रुपमा चुनाव जित्न सक्थे । तर त्यसो पनि भएन । बस्नेतको पकड क्षेत्रमै उनले सोचेजस्तो मत  पाउन सकेनन् ।

विसं २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा नेमकिपाका सुनिल प्रजापतिले यस क्षेत्रबाट निर्वाचन जितेका थिए । त्यसपछि २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका रामेश्वर ढुंगेलले चुनाव जितेका थिए । उक्त चुनावमा पराजित भएका एमालेका बस्नेतले २०७४ सालको चुनावमा कांग्रेसका दमननाथ ढुंगानालाई पराजित गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro