ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काँठ क्षेत्रमा एफटिटिएच सेवा पुर्‍याउने योजना, के हो एफटिटिएच ?    

२०७९ मंसिर, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं उपत्यकाका तीन ओटै जिल्लामा फाइबर टु द होम (एफटिटिएच)  सेवा पुर्‍याउने भएको छ ।     
     
राजधानीका मुख्य सहरी भागमा अहिले पनि एफटिटिएच सेवा पुगेकामा चालू आवको अन्त्यसम्म भने काँठ र ग्रामीण भेगमा लैजाने गरी तयारी गरिएको हो । टेलिकमले सन् २०१५ जनवरीदेखि पाइलट प्रोजेक्टका रुपमा एफटिटिएच सेवा शुरु गरेको थियो ।

सन् २०१७ देखि भने व्यावसायिक रुपमा यो सेवा आरम्भ भएको नेपाल टेलिकमका सहायक प्रवक्ता रञ्जित लोहियाले बताए । घर- घरमा फाइबर पुर्‍याउने उद्देश्यले यो सेवा शुरु गरिएको हो ।  हालसम्म ६८ ओटा जिल्लाका मुख्य मुख्य सहरमा फाइबर सेवा पुगेको छ । गत वर्षमात्र एफटिटिएचको दुई लाख २६ हजार पोइन्ट जोडिएको उनले बताए।

चालू आवमा एफटिटिएचका ३ लाख पोइन्ट जोड्ने कार्यक्रम छ । हालसम्म एफटिटिएच सेवाका लागि देशभर ९ लाख ५५ हजार ६६६ पोइन्ट जोडिएको छ । हाल यो सेवाका ग्राहक भने २ लाख ८६ हजार छन् । एफटिटिएच सेवाका लागि पोइन्ट जोड्न भौतिक रुपमा काम गर्नुपर्ने भएकाले व्यावसायिक सेवा शुरु गरेको पाँच वर्षमा पनि देशभर सेवा बिस्तार गर्न नसकिएको उनको भनाइ छ ।
     
कोरोना महामारीका कारण दुई वर्ष विदेशबाट सामग्री ल्याउन नसकिएकाले पनि एफटिटिएच सेवा विस्तारको काममा ढिलाइ भएको हो । यो काम काठमाडौं उपत्यकामा भने २०८० साल असारसम्ममा सक्ने लक्ष्य छ । हालसम्म डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, रुकुम पूर्व, रुकुम पश्चिम, बझाङ र बाजुरामा एफटिटिएच सेवा पुग्न सकेको छैन । यस बाहेकका ६८ ओटा जिल्लामा यो सेवा पुगेको छ । जसमध्ये जुम्लामा भने काम भइरहेको टेलिकमले बताएको छ ।     
     
एफटिटिएच सेवा लैजान घरअघि बक्स राखिन्छ । तार भूमिगत रुपमा लगिन्छ । बक्सबाट भने पोलबाट पनि तार लगिने बताइएको छ । तामाको तारमा आधारित प्रणालीमा रहेको एडिएसएल सेवाको इन्टरनेटलाई अप्टिकल फाइबर प्रणालीमा आधारित प्रविधिमा रुपान्तरण गर्न एफटिटिएच सेवा विस्तारलाई प्राथमिकतामा राखिएको हो ।

सबैतिर अप्टिकल फाइबर पुगेपछि तामाको तारमा आधारित प्रविधि बन्द गर्ने टेलिकमको तयारी छ । एफटिटिएच प्रविधिबाट इन्टरनेटका साथै ग्राहकले टेलिभिजन र टेलिफोन सेवा पनि पाउने छन् । यी तीनै सेवा प्रदान गर्ने अरु इन्टरनेट प्रदायक संस्था नेपालमा छैनन् । यो प्रविधि जोड्नेले एक महीनामा मोबाइलमा १०६ जिबी डाटा पनि निःशुल्क पाउने व्यवस्था छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)