डँडेलधुरा । सातौंपटक प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग डँडेलधुरावासीले धेरै अपेक्षा गरेका छन् । पाँचपटक प्रधानमन्त्री बन्नुभएको र भावी प्रधानमन्त्रीको रूपमा समेत हेरिनुभएको देउवासँग जिल्लावासीले मेडिकल कलेज, विमानस्थल, पश्चिमसेती परियोजना, नमूना बजारका लागि व्यवस्थापन, व्यवस्थित शहरीकरण योजना, ग्रामीण सडकको कालोपत्र तथा स्तरोन्नति, सिँचाइ र खानेपानीमा सबैको पहुँच, गुणस्तरीय शिक्षा, रोजगारीलगायतको अपेक्षा उनीहरूले गरेका छन् ।
साथै पर्यटकीय हबका लागि परशुराम, उग्रतारा, कोलासमैजी, गन्याप, भागेश्वर, डागेश्वरीसम्म धार्मिक पर्यटक भित्र्याउन होमस्टे निर्माण गरी धार्मिक कोरिडोरका रूपमा विकास गर्नुपर्ने, आत्मनिर्भरताका लागि आधुनिक शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्नुपर्ने यहाँका स्थानीयको अपेक्षा छ । डँडेलधुराबाट निरन्तर चुनाव जित्दै आउनुभएको देउवाले अब युग सुहाउँदो विकासका लागि पहल गर्नुपर्ने अजयमेरु–१ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले बताए । वैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमै रोक्न उद्यमशीलतालाई जोड दिनुपर्ने र आधुनिक कृषिखेतीमा किसानलाई सहुलियत एवं अनुदान उपलब्ध गराउनुपर्ने उनको माग थियो । देउवा आफ्ना प्रतिस्पर्धी सागर ढकालसँग १२ हजार ४ सय ९२ मतान्तरले निर्वाचित हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार कुल ५१ हजार २०३ मतमध्ये देउवालाई २५ हजार ५ सय ३४ मत प्राप्त भएको थियो । रासस