काठमाडौं । मनकामना केबलकारले २४ वर्ष पूरा गरेको छ । नेपालको पहिलो यो केबलकार कम्पनी बिहीवार २५औं वर्षमा प्रवेश गरेको हो । २०५५ मङ्सिर ८ गतेदेखि सञ्चालनमा आएको उक्त केबलकारले हालसम्म १ करोड ७० लाख यात्रुलाई सेवा दिएको बताइएको छ । केबलकारको नियमित सञ्चालनपछि मनकामनासहित आसपासका क्षेत्रहरू एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित भई यस क्षेत्रको व्यापार व्यवसायमा उल्लेख्य वृद्धि भएको कम्पनीको भनाइ छ ।
केबलकारले आफ्नो आम्दानीको केही हिस्सा सामाजिक कार्यमा खर्च गर्दै आएको बताएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक, धार्मिक, शिक्षा लगायत क्षेत्रमा सहयोग पुर्याउँदै आएको कम्पनीले जानकारी दिएको छ । सोहीअनुसार लामो समयदेखि चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको शहीद लखन गाउँपालिकाको शिक्षा, स्वास्थ्य, धार्मिक क्षेत्रमा आफ्नो आम्दानीको एक प्रतिशत रकम खर्च गर्दै आएको कम्पनीको भनाइ छ ।