काठमाडौं । सरकारले सर्वाधिक कर तिर्ने उद्योगी व्यवसायीलाई राष्ट्रिय कर दिवसको अवसरमा सम्मान गर्दै आएको छ । धेरै कर तिर्ने उद्योगी व्यवसायीलाई यस वर्ष पनि सम्मान गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई राजस्व सचिव र अर्थसचिवले बुधवार सम्मान गरेका हुन् ।
आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा सूर्य नेपाल सबैभन्दा धेरै कर तिर्ने कम्पनी बनेको छ । सूर्य नेपाल यसअघि पनि धेरै कर बुझाउनेको सूचीमा पर्दै आएको छ । यसैगरी व्यक्तिगततर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा जावलाखेल ग्रूप अफ इन्डस्ट्रिजका अध्यक्ष विजयकुमार शाह छन् ।
सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने संस्थाको सम्मान गोर्खा ब्रुअरीले पाएको छ । निर्यात विशेषतर्फ शिवशक्ति घ्यू र राजेश मेटल क्राफ्ट, कृषितर्फ ओसीबी फिड्स एन्ड फुड, सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था र बैंकतर्फ नबिल बैंक धेरै कर तिर्नेमा परेका छन् । यसैगरी बीमामा नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्यतर्फ नोबेल टिचिङ हस्पिटल, पर्यटनतर्फ मनकामना केबलकार प्रालि र ऊर्जामा चिलिमे जलविद्युत् लिमिटेड धेरै कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएका छन् ।
आर्थिक वर्ष २०७७/७८ मा रेमिट्यान्स कम्पनीमध्ये आईएमई रेमिटले सबैभन्दा बढी कर तिरेको छ । आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीको सम्मान ग्रहण गरे । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र महासंघकै कर तथा राजस्व समितिका सभापति सन्दीपकुमार अग्रवाल राष्ट्रिय कर दिवसको अवसरमा सम्मानित भएका छन् ।
सर्वाधिक कर तिर्ने व्यक्तिलाई सम्मान गरिए पनि सूचीमा पुरानै अनुहार अघिपछि परेका देखिन्छन् । सरकारले करदाताको नाम सार्वजनिक गरे पनि उनीहरूले कति कर तिरे भन्नेबारे खुलाएको छैन । यसले करदाता सम्मानमा सरकारको पारदर्शिताप्रति शंका उब्जाएको छ । आन्तरिक राजस्व विभागका निर्देशक राजुप्रसाद प्याकुरेलले भने सबैभन्दा धेरै कर तिर्ने मध्येबाट निष्पक्ष समितिले छनोट गरेका करदाता सम्मानित हुने गरेको बताए । समितिको सिफारिशका आधारमा करदातालाई सम्मान गरिँदै आएको उनको भनाइ छ । करदाताको व्यावसायिक कारोबारको गोपनीयतालाई ध्यानमा राखेर कर विवरण सार्वजनिक नगरिएको उनले बताए ।
पुराना करका नीति सुधारिनेछ : अर्थ सचिव
कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्करले करका नीतिहरू सुधार गरिने बताएका छन् । अर्थसचिव पुष्करले करका नीतिहरू पुराना भएकाले समयअनुकूल बनाइने बताएका हुन् । पछिल्लो समय विश्व अर्थतन्त्रमा समस्या रहेकाले कर प्रणालीमा समेत संकुचन देखिएको उनको भनाइ छ । राजस्व संकलनमा नेपालमा मात्र नभई विश्वका ठूला राष्ट्रहरूमा समेत चुनौती देखिएको उनले बताए ।
नेपालको राजस्व संकलन तथा अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा नरहेको समेत उनको भनाइ छ । ‘खासै आत्तिनुपर्छ जस्तो लागेको छैन । संसारभर नै चुनौती र समस्या छन्,’ उनले भने । कार्यक्रममा राजस्व सचिव रामेश्वर दंगालले करदाता, कर उठाउने कर्मचारीको मानसिकता र कर प्रणालीका प्रविधिहरू परम्परागत भएकाले समयअनुसार परिवर्तन गर्न आवश्यक रहेको बताए ।
कर प्रशासकीय प्रणालीमा पुनरवलोकन आवश्यक : निजीक्षेत्र
सो अवसरमा निजीक्षेत्रका प्रतिनिधिले कर प्रशासकीय प्रणालीमा पुनरवलोकन आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कर प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताए । निजीक्षेत्रले रहरले कर तिर्न कर प्रणालीमा सुधारको खाँचो रहेको भन्दै उनले अहिले कर प्रणालीमा धेरै समस्या रहेको औंल्याए ।
‘कर तिर्ने र लिने विषयमा निजीक्षेत्र र सरकार एक ठाउँमा बस्न सक्नुपर्छ,’ उनले भने, ‘निजीक्षेत्र र सरकारबीच सहकार्य नभए कठिन परिस्थिति आउनेछ ।’ राजस्व संकलनमा कमी आएकाले बजारमा तरलता अभाव भएको भन्दै उनले तरलता अभावकै कारण उद्योगी व्यवसायी अप्ठ्यारो अवस्थामा पुगेको गुनासो गरे ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले मुलुकभर उद्योग, व्यापार, व्यवसायमा आएको मन्दीले राजस्वमा कमी आएको बताए । उनका अनुसार उद्योग व्यवसायको मागमा २५ देखि ३० प्रतिशतले ह्रास आएको छ । ‘सिमेन्टमा ४०, डण्डीमा ४५, अटो क्षेत्रमा ८० प्रतिशतले माग घटेको छ,’ उनले भने, ‘उद्योग व्यवसायको मागमा आएको कमीले पुससम्ममा राजस्वमा अझै असर पार्नेछ ।’ कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले खुला नाकाबाट हुने चोरीनिकासीलाई व्यवस्थित गरी करको दायरामा ल्याउनुपर्ने बताए । कर प्रणालीलाई सरकारले डिजिटल बनाउन आवश्यक रहेको उनले औंल्याए ।