काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरेको छ ।
कम्पनीले कात्तिक ४ गतेदेखि २५ गतेसम्म स्थानीयमा आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र आवेदन दिएका स्थानीयमा मंसिर ७ गते १ लाख ४६ हजार कित्ता आईपीओ बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले स्थानीयमा प्रतिकित्ता रू. १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको थियो । बागलुङ जिल्ला जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कुवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरूका स्थानीय बासिन्दाका लागि कम्पनीले आईपीओ विक्री गरेको हो ।
स्थानीयका लागि छुट्याइएकोमध्ये विक्री नभएको १ लाख ४ हजार कित्ता शेयर भने सर्वसाधारणमा थप भएर आउनेछ । पहिलो चरणमा स्थानीयमा आईपीओ विक्री गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले बागलुङ जिल्लामा १ दशमलव ५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत् आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७४ साल असार २४ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । आर्थिक वर्ष २०७७।७८ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी रू. ५ करोड ८९ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ ।
सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू. ६४ दशमलव ९७ छ । गत असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार भने कम्पनी रू. ४ करोड ७७ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । उक्त विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव १९ र प्रतिशेयर नेटवर्थ रू. ७३ दशमलव ४५ छ ।