काठमाडौं । हालैका दिन अमेरिकाका ठूला प्रविधि कम्पनीहरुले धमाधम कर्मचारी कटौती गरिरहेका समाचारहरु आइरहेका छन् । यो सूचिमा अब अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गूगलको मातृ कम्पनी अल्फाबेटको नाम पनि थपिने भएको छ ।
मंगलबार अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुमा छापिएका समाचारहरुलाई पत्याउने हो भने कम्पनीले कमजोर प्रदर्शन गरिरहेका करीब १० हजार कर्मचारीलाई जागिरबाट निकाल्ने योजना बनाइरहेको छ । ट्विटर, एमाजन र फेसबुकको मातृ कम्पनी मेटाले अभूतपूर्व स्तरमा कर्मचारी कटौतीको घोषणा गरेको खबर सेलाइ नसक्दै गुगलको खबर आएको हो ।
आइफोन निर्माता कम्पनी एप्पलले यस अघि नै कर्मचारी भर्ती रोक्का गर्ने घोषणा गरिसकेको छ । नेटफ्लिक्सले पनि यो वर्षको शुरुमा दुई चरणमा गरेर झन्डै ४५० कर्मचारीलाई बर्खास्त गरेको थियो । अल्फाबेटामा कर्मचारी कटौती कम्पनीले यो वर्षको शुरुमा घोषणा गरेको प्रदर्शन सुधारको योजनाको हिस्सा भएको बताइएको छ ।
सन फ्रान्सिस्को स्थित व्यवसायिक पत्रिका द इन्फर्मेशनका अनुसार कम्पनीले व्यवस्थापकहरुलाई आफ्नो कर्मचारीको झन्डै ६ प्रतिशतलाई जागिर निकालाको सूचिमा वर्गिकरण गर्न भनेका छन् । यो भनेको सबैभन्दा कमजोर प्रदर्शन गर्ने १० हजार कर्मचारी हुने अनुमान गरिएको छ ।
कम्पनीले अहिलेसम्म कुन देशबाट कति कर्मचारी कटौती गर्ने भन्नेबारे बताइसकेको छैन । कम्पनी अहिलेको भन्दा २० प्रतिशत कार्यकुशल हुनु पर्ने अल्फाबेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाइले भनेका थिए । अहिले लगभग सबै प्रविधि कम्पनीहरुले खर्च कटौती गरिरहेका छन् ।
मेटाले गएको हप्ता मात्रै कर्मचारीको संख्या १३ प्रतिशतले घटाएको थियो । एमाजनले पनि झन्डै १० हजार कर्मचारीलाई निकाल्दैछ । माइक्रोसफ्ट, सेल्सफोर्स, स्ट्राप र ट्विटरले पनि कर्मचारी घटाएको वा घटाइरहेका छन् । कर्मचारी कटौती गर्नेमा ट्विटर अगाडि छ । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले कम्पनी किनेको एक हप्ता नहुँदै झन्डै आधा कर्मचारीलाई निकालिएको छ । एजेन्सी