काठमाडौं . काठमाडौं महानगरपालिका-१८ नरदेवीस्थित सुन बनाउने कारखानाबाट सुनका विभिन्न गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा धादिङ खनियाबास गाउँपालिका-४ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-२ गैरीगाउँ बस्ने ३८ वर्षीय मनिला तामाङसमेत ६ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
भारत घर भएका ३२ वर्षीय सेख मुस्तफा अली र ४५ वर्षीय गौतम माझीले सञ्चालन गरेको उक्त कारखानाबाट गत कात्तिक २९ गते राति सुनका गरगहना चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
साथै मनिला तामाङको डेरा कोठा तलासी गर्दा घटनामा प्रयोग भएको प्रदेश ३-०२-००१ प ६२१७ नम्बरको मोटरसाइकल, घटनामा प्रयोग भएको पेस्तोल एक थान, सोही पेस्तोलमा लाग्ने गोली चार राउण्ड सहितको म्याग्जिन, जर्सी र ज्याकेट सहितको प्रहरी पोशाक १ जोर, नियन्त्रित लागूऔषध फेनारगन १९७ एम्पुल, डाइजेपाम १९७ एम्पुल र नुफिन १९७ एम्पुलसमेत फेला पारी प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।