काठमाडौं । बिहीवार बेलुका ७ बजेसम्म ९० निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अझै ७५ निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी छ ।
अन्तिम परिणाम आएका मध्ये नेपाली कांग्रेसले ३२ सिट जितेको छ । नेकपा एमालेले २० सिट जितेको छ । माओवादी केन्द्रले ९ र एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले ७/७ सिट जितेका छन् ।
मतपरिणाम आउन बाँकी ठाउँ मध्ये सबैभन्दा धेरै २७ स्थानमा एमालेको अग्रता छ । त्यसपछि नेपाली कांग्रेसको २१ ठाउँमा अग्रता छ । माओवादी केन्द्रको ८ ठाउँमा अग्रता छ ।
तर केही यस्ता निर्वाचन क्षेत्र छन् जहाँ उनीहरूले १००/२०० मतको मात्रै अग्रता लिएका छन् ।
कैलाली -२ मा माओवादीका भगत बडुवालले ९ हजार ४४६ मत आउँदा नागरिक उन्मुक्तिका अरुणकुमार चौधरी ९ हजार ४३३ मत सहित पछि पछि छन् । यहाँ १३ मतको मात्रै अन्तर छ । एमालेका रघुविर महासेठले ८ हजार ९ मत ल्याउँदा कांग्रेसका महेन्द्र यादव ७ हजार ९८१ मत सहित पछि पछि छन् । यहाँ २८ मतको मात्रै फरक छ । कांग्रेसका सुरेन्द्रराज आचार्य कपिलवस्तु -२ मा २२ हजार १३६ मत ल्याएर अग्रता लिएपनि एमालेका वृजेशकुमार गुप्ताले २२ हजार १०१ मत सहित पच्छ्याइरहेका छन् । यहाँ ३५ मतको मात्रै फरक छ । यी त केही उदाहरण मात्रै हुन् । यहाँ अरु पनि यस्ता धेरै निर्वाचन छन् ।
नेपाली कांग्रेले झिनो अग्रता लिएका क्षेत्र
रुपन्देही -३ बाट चुनाव लडेका गृहमन्त्री बालकृष्ण खाँणलाई राप्रपाका दीपक बोहराले पछि पारेका छन् । बोहराले २१ हजार ८२२ मत ल्याउँदा खाँणले २१ हजार ५९१ मत ल्याएका छन् । अहिले खाँण २३१ मतले पछि परेका छन् ।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ मा पछि परेका छन् । कार्कीले १२ हजार ९१२ मत ल्याउँदा एमालेका जगदिश प्रसाद कुसियैतले १३ हजार २०७ मत ल्याएका छन् । यहाँ २९५ मतले पछि परेका छन् ।
मोरङ -२ मा सुजाता कोइराला पनि पछि परेकी छन् । उनी एमालेका ऋषिकेश पोखरेल भन्दा ३०५ मतले पछि परेकी छन् । पोखरेलले १८ हजार २४९ मत ल्याउँदा कोइरालाको १७ हजार ९४४ मत छ ।
उदयपुर -१ मा परराष्ट्र मन्त्री डा. नारायण खड्काले झिनो अग्रता लिएपनि जितका लागि संघर्ष गरिरहेका छन् । खड्काले ८ हजार ४९५ ल्याउँदा निकटतम प्रतिद्वन्दी एमालेकी मन्जु कुमारी चौधरीले ८ हजार २२६ मतसहित पच्छ्याइरहेकी छन् । यहाँ खड्का १२१ मतले मात्रै अघि छन् ।
तेह्रथुम -१ मा कांग्रेसकी सिता गुरुङले ८ हजार १२५ मत ल्याउँदा नेकपा एमालेका विजय सुब्बाले ७ हजार ८२३ मत सहित पच्छ्याइरहेका छन् । यहाँ मतान्तर ३१० मत मात्रै ।
कांग्रेसका सुरेन्द्रराज आचार्य कपिलवस्तु -२ मा २२ हजार १३६ मत ल्याएर अग्रता लिएपनि एमालेका वृजेशकुमार गुप्ताले २२ हजार १०१ मत सहित पच्छ्याइरहेका छन् । यहाँ ३५ मतको मात्रै फरक छ ।
कांग्रेसका विष्णु कुमार कार्की नवलपुर -२ मा ३१ हजार ४२० मत ल्याउँदा नेकपा एमालेका तीलबहादुर महत क्षत्रीले ३० हजार ६०९ मत ल्याएर पच्छ्याएका छन् । यहाँ ८११ मतान्तर छ ।
कांग्रेसका रामकृष्ण यादवले धनुषा २ मा १० हजार ७८३ मत ल्याउँदा एमालेका एमालेका उमाशंकर अरगहियाले १० हजार ४०५ मत सहित पच्छ्याएका छन् । मतान्तर ३७८ मात्रै छ ।
एमालेमा पनि धेरै उम्मेदवार साँघुरो मतान्तरमा
जस्तो सुनसरी -२ मा एमालेका भीम आचार्य ११ हजार ६२ मतले अघि लागेपनि यहाँ रास्वपाका लालविक्रम थापाले १० हजार ९०३ मतसहित पछि पछि छन् । यहाँ १५९ मतको मात्रै मतान्तर छ ।
बैतडी -१ मा एमालेका दामोदर भण्डारीले २७ हजार २२० मत ल्याउँदा माओवादी केन्द्रका नरेन्द्र बहादुर कुँवरले २७ हजार १०४ मत सहित पछि पछि छन् । यहाँ ११६ मतको मात्रै अन्तर छ ।
गुल्मी -१ मा प्रदिप कुमार ज्ञावलीले १७ हजार ६९ मत ल्याए पनि यहाँ कांग्रेसका चन्द्रकान्त भण्डारी १६ हजार ५०८ मत सहित पछि पछि छन् । यहाँ ५६१ मतान्तर छ ।
एमालेका रघुविर महासेठले ८ हजार ९ मत ल्याउँदा कांग्रेसका महेन्द्र यादव ७ हजार ९८१ मत सहित पछि पछि छन् । यहाँ २८ मतको मात्रै फरक छ ।
एमालेका घनश्याम खतिवडाले मोरङ -१ मा ११ हजार ४६४ मत ल्याउँदा कांग्रेका डिग बहादुर लिम्बू १० हजार ६२६ मत सहित पछि पछि छन् । यहाँ ८३८ मतान्तर छ ।
विष्णु पौडेल र सुवास चन्द्र नेम्वाङ पनि त्यति सुरक्षित छैनन् । उनीहरू प्रतिद्ववन्दीभन्दा १ हजार हाराहारी मतले मात्रै अघि छन् ।
माओवादी केन्द्रका नेता पनि त्यस्तै अवस्थामा
कैलाली -२ मा माओवादीका भगत बडुवालले ९ हजार ४४६ मत आउँदा नागरिक उन्मुक्तिका अरुणकुमार चौधरी ९ हजार ४३३ मत सहित पछि पछि छन् । यहाँ १३ मतको मात्रै अन्तर छ ।
नुवाकोट -१ मा माओवादीका हितबहादुर तामाङले १४ हजार ५३८ मत ल्याउँदा एमालेका बद्री मैनाली १४ हजार ३८४ मत सहित पछि पछि छन् । यहाँ १५४ मतको मात्रै अन्तर छ ।
बारा -२ मा माओवादीका शिवचन्द्र प्रसाद कुशवाहले ९ हजार ७२७ मत ल्याउँदा जसपाका राम सहाय प्रसाद यादवले ८ हजार ८७८ मत ल्याएर पच्छ्याइरहेका छन् । यहाँ ८४९ मात्रै मतान्तर छ ।
कालिकोट -१ मा माओवादीका महेन्द्रबहादुर शाहीले ५ हजार १३८ मत ल्याउँदा एमालेका नगिन्द्र शाहीले ४ हजार ६५४ मत ल्याएका छन् । यहाँ ४८४ को मात्रै मतान्तर छ ।