काठमाडौं । धादिङ निर्वाचन क्षेत्र नं १ बाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे पाँचौ पटक प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।
झण्डै ८ हजार मतान्तरसहित निर्वाचित पाण्डेले ३५ हजार ९३४ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का भूमिप्रसाद त्रिपाठीले २७ हजार ९५३ मत प्राप्त गरे ।
विसं २०१३ जेठ २८ गते धादिङको गजुरी–८ छेपाङमा जन्मेका पाण्डे २०३२ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन् । पाण्डे विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्दा उनले १ वर्ष भूमिगत र साढे ४ वर्ष बन्दी जीवन बिताएका छन् । उनले १० वर्ष आदर्श माध्यमिक विद्यालय, गजुरीमा शिक्षण पेशा समेत गरेका थिए । पाण्डेले त्रिभुनव विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर उतीर्ण गरेका छन् ।
पाण्डे २०४८, २०५१, २०५६ र २०७० सालको संसदीय निर्वाचनमा धादिङबाट निर्वाचित भएका थिए । विसं २०६४ मा संविधानसभा सदस्यको निर्वाचनमा भने उनी पराजित भएको थिए । विसं २०५१ मा पाण्डे नेकपा (एमाले)को संसदीय दलको सचेतक, २०५३ सालमा प्रमुख सचेतक र २०६३ सालमा स्थानीय विकासमन्त्री बनेका थिए । विसं २०५० मा उनी एमालेको बागमती अञ्चल सचिव र २०५५ सालमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
विसं २०७४ मा भने उनी धादिङ निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०७८ मा उनी बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए । एमालेको विभाजनसँगै उनी नेकपा (एकीकृत समाजवादी)को उपाध्यक्ष छन् । रासस