काठमाडौं । भोजपुरमा प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । किराँतीले राईलाई २३८५ मतान्तरले पराजित गर्दै तेस्रो पटक सांसदमा विजयी भएका छन् ।
उनले २८ हजार ५७८ मत ल्याउँदा एमालेका राईले २६ हजार १९३ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा कूल १ लाख २३ हजार ३७९ मतदाता रहेकामा ६१ हजार ८३० जनाले मतदान गरेका थिए ।३ हजार १६८ मत बदर भएका थिए ।
पूर्व मुख्यमन्त्री पराजित, बहालवाला विजयी
भोजपुरमा प्रदेशसभा (१) मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार एवं प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई विजयी भएका छन् । उनले १६ हजार ११० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिबहादुर राईले १२ हजार २२३ मत ल्याए ।
यस्तै प्रदेशसभा (२) मा नेपाली कांग्रेसका जिल्ला सभापति विनोद वान्तवा १३ हजार ५७९ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी एमालेका खड्गबहादुर कार्कीले १२ हजार आठ सय ३८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।