मुलुकमा विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि सरकारले केही वस्तुको आयातमा कडाइ गरेपछि वैदेशिक व्यापार २० प्रतिशत घट्यो । वैदेशिक व्यापारको आकार घट्दा अर्थतन्त्रको चुनौती मानिएको व्यापारघाटा पनि झन्डै १६ प्रतिशतले घटेको छ । तर, सरकारले आयातलाई निरुत्साहन र निर्यातलाई प्रोत्साहन गरे पनि निर्यातमा खासै सुधार आउन सकेको देखिँदैन । त्यसैले व्यापारघाटा कम गर्न नेपालले आफ्नो सम्भावनाको क्षेत्र चिनेर त्यसअनुसार काम गर्नु आवश्यक छ ।
जतिसुकै सम्भावना भए पनि काम गर्ने इच्छाशक्ति र स्पष्ट नीति तथा कार्यक्षमता नहुने हो भने परिणाम प्राप्त गर्न सकिँदैन । नेपालमा यी पक्षको अभाव देखिएको छ ।
निर्यातमा वृद्धि नभएसम्म देशको अर्थतन्त्रमा सुधार आउन सक्दैन । सामान्यतया स्वस्थ अर्थतन्त्रका लागि आयातको आकार निर्यातको दाँजोमा निकै ठूलो हुनु हुन्न भन्ने मानिन्छ । यदि त्यसो हुन सक्ने अवस्था छैन भने पनि आयात र निर्यातको अनुपात उस्ताउस्तै हुन आवश्यक छ । तर, नेपालमा भने आयातको तुलनामा निर्यातको अवस्था निकै कमजोर छ । यस्तो अवस्थामा सुधार नहुँदासम्म सधैं जोखिम भइरहन्छ । नेपाली मुद्राको अवमूल्यन र रूस–युक्रेन तनावले विश्व आपूर्ति शृंखलामा प्रभाव परेको छ । यसको प्रभाव पनि नेपाली अर्थतन्त्रमा परेको छ । फलत: आयात घटेको छ । झट्ट हेर्दा आयात घट्नु राम्रो भए पनि आयातमा निर्भर राजस्व प्रणालीमा भने नकारात्मक असर पर्ने निश्चित छ । अहिले सरकारले जति राजस्व उठाउने लक्ष्य राखेको थियो त्यसको दाँजोमा निकै कम उठेको छ । यस्तो अवस्था रहे अर्थतन्त्रमा फेरि अर्को खाले समस्या आउने सम्भावना टड्कारै देखिन्छ ।
व्यापारघाटा कम गर्न नसक्ने हो भने अर्थतन्त्र सधैं समस्यामा रहिरहन्छ । प्रतिबन्धका कारण केही घटेको आयात क्षणिक लाभ मात्रै हो । यसमाथि प्रतिबन्ध हट्नेबित्तिकै यो आँकडा फेरि उकालो लाग्ने निश्चितप्राय: छ । त्यसो त महँगी बढेका कारण उपभोक्ताले खर्चमा केही कटौती गर्दा पनि आयात प्रभावित भएको हुन सक्छ । नेपाल राष्ट्र बैंकले महँगी बढाएर आयात नियन्त्रण गर्ने नीति पनि लिएको छ जसका कारण अहिले ब्याजदर निकै उच्च छ । यही कारण आयात घटेको हो भने त्यसलाई केही सकारात्मक भन्न सकिन्छ ।
नेपालको निर्यात क्षमता बढाउन सकिएको छैन । भारतले लिने नीतिको फाइदा लिएर कुनै वस्तुमा क्षणिक लाभ लिँदा बढेको निर्यातले दिगो योगदान दिँदैन । अहिले निर्यात घट्नुमा पाम आयलको निर्यात रोकिनु हो । त्यसैले नेपालमा सम्भाव्य क्षेत्रको पहिचान गर्नुपर्ने बेला भएको छ ।
नेपालको मौलिक स्वरूपका हस्तकला लगायतका केही वस्तुको निर्यातको सम्भावना नभएको होइन । तर, तिनको गुणस्तरमा प्रश्न उठ्दा र ढुवानी खर्च महँगो बन्दा सोचिए जसरी निर्यात गर्न सकिएको छैन ।
त्यसैले नेपालले व्यापारघाटा कम गर्ने हो भने सेवाक्षेत्रतिर ध्यान दिनै पर्छ । नेपालको सम्भावना भएको एउटा क्षेत्र सूचनाप्रविधि हो । प्रशस्त मात्रामा सूचनाप्रविधिका दक्ष जनशक्ति तयार पार्ने हो भने नेपालमा थुप्रै आईटी कम्पनी आउन सक्छन् । आउटसोर्सिङको काम पनि प्रशस्त हुन्छ । यसको निर्यातमा खर्च पनि लाग्दैन । जति यसको बजार बढ्दै जान्छ त्यति नै विदेशी कम्पनीहरू नेपालमा आउँछन् । सूचनाप्रविधिको क्षेत्र निकै फराकिलो भएको र यसमा लगानी पनि खासै गर्नु नपर्ने भएकाले सरकारले यसमा निकै उदार नीति लिनु आवश्यक छ । उत्कृष्ट आइटी कलेज खोल्न प्रोत्साहित गर्नुपर्छ ।
नेपालले निर्यात गर्न सक्ने अर्को सेवाक्षेत्र पर्यटन हो तर यसमा चुनौती प्रशस्त छ । नेपालजस्तै भूभाग भएको भारतीय क्षेत्रले नेपालको पर्यटक खोसिरहेको छ । नेपालभित्रै होटलमा लगानी बढे पनि पर्यटनको ठोस नीति बन्न नसक्दा गन्जागोल नै छ । नेपालको प्रकृति आफैमा पर्यटकीय प्रडक्ट हो । त्यसमा सही ब्रान्डिङ र बजारीकरण गर्न सके यसबाट व्यापारघाटा कम गर्न सकिन्छ ।
जतिसुकै सम्भावना भए पनि काम गर्ने इच्छाशक्ति र स्पष्ट नीति तथा कार्य क्षमता नहुने हो भने परिणाम प्राप्त गर्न सकिँदैन । नेपालमा यी पक्षको अभाव देखिएको छ । यसमा सुधार ल्याउन नसके नेपालको अर्थतन्त्र सुधार गर्न निकै कठिन हुने देखिन्छ ।