काठमाडौं । समानुपातिक निर्वाचनतर्फ नेकपा एमालेले १० लाख मत कटाएकाे छ । शुक्रवार बिहान १० बजेसम्मकाे मतपरिणाम अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ एमाले १० लाख १७ हजार ६५६ मतसहित अग्रस्थानमा छ ।
नेपाली कांग्रेसले ९ लाख ७० हजार ८६६ मतसहित एमालेलाई पछ्याइरहेको छ । समानुपातिक मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्राे स्थानमा छ । उसले ४ लाख ८४ हजार ८८६ मत ल्याउँदा नेकपा माओवादी केन्द्रले ४ लाख ४६ हजार ५९४ मात्रै मत पाएको छ ।
प्रतिनिधिसभाकाे प्रत्यक्ष निर्वाचनतर्फ गत निर्वाचनभन्दा राम्रो सुधार गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ पनि राम्रो मत पाएको छ । राप्रपाले २ लाख ६० हजार १२० मत ल्याएको छ । उसले प्रत्यक्षतर्फ ७ सिट जित्दा २ मा अग्रता बनाएकाे छ । अघिल्लाे निर्वाचनमा राप्रपाले प्रतिनिधिसभाकाे प्रत्यक्षतर्फ १ सिट मात्रै जितेकाे थियाे । त्यस्तै जनता समाजवादी पार्टी, नेपालले पनि समानुपातिकतर्फ १ लाख मत कटाएको छ । अन्य दलकाे मत भने १ लाखभन्दा कम छ ।