काठमाडौं । नेपालमा वार्षिक झन्डै सवा ५ लाख (५ लाख २० हजार) मेट्रिक टन मासु उत्पादन हुने गरेको सरकारी तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७७/७८ मा नेपालमा ५ लाख २० हजार ७ सय ४२ मेट्रिक टन मासु उत्पादन भएको हो ।
मन्त्रालयले राँगाभैंसी, खसीबोका, भेडा, बंगुर, सुंगुर, कुखुरा र हाँसको मासुको तथ्यांक समेटेर उत्पादनको आँकडा तयार गरेको हो । तथ्यांकमा उल्लेख भएअनुसार नेपालमा सबैभन्दा बढी कुखुरा र राँगाभैंसीको मासु उत्पादन हुने गरेको छ । आव २०७७/७८ मा नेपालमा २ लाख २७ हजार मेट्रिक टन कुखुराको र १ लाख ८८ हजार १ सय ७२ मेट्रिक टन राँगाभैंसीको मासु उत्पादन भएको छ ।
पछिल्लो १० वर्षको तथ्यांक हेर्दा सबैभन्दा धेरै मासु उत्पादन आव २०७६/७७ मा भएको देखिन्छ । उक्त वर्ष नेपालमा ५ लाख ५२ हजार १ सय ५६ मेट्रिक टन मासु उत्पादन भएको छ । त्यसैगरी सबैभन्दा कम मासु उत्पादन भएको आव २०६८/६९ हो । उक्त वर्ष २ लाख ८७ हजार ९ सय ३० मेट्रिक टन मासु उत्पादन भएको थियो ।
सरकारले पशुपन्छी तथा मासुजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर घोषणा गरे पनि हरेक वर्ष नेपालमा उत्पादन हुनेबाहेक भारत, चीन, अस्ट्रेलिया, नर्वे, भियतनाम, इटली, फ्रान्स, थाइल्यान्डलगायत मुलुकबाट समेत नेपालमा हाँस, कुखुरा, भेडा, बंगुर, टर्की, अस्ट्रिचलगायतको मासु ठूलो परिमाणमा आयात हुने गर्छ ।
कृषि मन्त्रालयको अध्ययनअनुसार नेपालमा खसीबोकाको मासुका लागि मात्रै वार्षिक ९९ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ । सरकारी तथ्यांकअनुसार नेपालमा मासिक लगभग ५ लाख खसीबोका खपत हुने गरेको छ । दशैं, तिहारजस्ता ठूला चाडपर्वमा मासुको खपत दोब्बरले बढ्ने भए पनि सामान्य दिनमा काठमाडौं उपत्यकामा दैनिक ५ लाख किलोसम्म खपत हुने गरेको मासु व्यवसायी संघको भनाइ छ ।
पछिल्लो समय नेपालीको आम्दानी स्तर बढ्दै गएसँगै मासु उपभोग गर्ने प्रवृति पनि बढ्दै गएको विज्ञहरू बताउँछन् । पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालका अनुसार स्वास्थ्य मापदण्डलाई आधार मान्ने हो भने प्रतिवर्ष प्रतिव्यक्ति न्यूनतम १४ किलो मासु खानैपर्ने हुन्छ । तर, नेपालमा सामान्य आम्दानी गर्ने मानिसले पनि वार्षिक १८ किलोसम्म मासु खाइरहेको उनले बताए । अत्यधिक मासु उपभोग गर्नेले चाहिँ वार्षिक प्रतिव्यक्ति ४२ किलोसम्म खाइरहेका छन् । ग्लोबल ट्रेन्डमा भने त्यसको परिमाण योभन्दा पनि बढी भएको उनको भनाइ छ ।
‘
ग्लोबल ट्रेन्ड हेर्ने हो भने त हामीले कमै मासु खाइरहेका छौं । तर, हामीले जति खाइरहेका छौं त्यो स्वास्थ्यका हिसाबले पूर्ण छ । त्यसैले हाम्रो उत्पादनले हामीलाई पुग्छ । पछिल्लो समय बढ्दो आम्दानीका कारण मासु प्रयोग संसारभर वृद्धि हुँदै गएको छ । त्यसैगरी खानामा अन्य तरकारीभन्दा पनि मासु प्रयोग बढी गर्ने प्रचलन बढ्दै गएकाले आयात बढी गर्नुपरेको हो,’ उनले आर्थिक अभियानसँग भने ।