काठमाडौं । समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख मत कटाएको छ । करीब ९० लाख मतगणना सकिंदा नेकपा एमालेले सर्वाधिक २४ लाख ५५ हजार र नेपाली कांग्रेसले २३ लाख ३८ हजार मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १० लाख २७ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ११ हजार मत पाएका छन् । राप्रपाले ५ लाख ३१ हजार मत पाउँदा जनता समाजवादीले ३ लाख ६ हजार मत पाएको छ ।
थ्रेसहोल्ड कटाउने संघर्षमा रहेको एकिकृत समाजवादीले २ लाख ४० हजार मत पाएको छ । उसलाई ३ प्रतिशत पुर्याउन २९ हजार मत कम परेको छ । अब करीब २० लाख मतगणना हुन बाँकी रहेको छ ।
कसले कति सिट पाउँछन् ?
यहि रेशियोमा मत पाएमा कांग्रेस र एमालेले ३०/३० लाख हाराहारी मत पाउने छन् भने माओवादी र रास्वपाले १२ लाख हाराहारी मत पाउने छन् । अहिले एमालेले २७ प्रतिशत र कांग्रेसले २६ प्रतिशत मत पाउँदा माओवादी र रास्वपाले ११/११ प्रतिशत मत पाएका छन् ।
२९ हजार मतले पछि परेको एकीकृत समाजवादीले थ्रेस होल्ड पार गर्न नसकेमा ६ दलले मात्रै ११० सिट भाग लगाउने छन् । यस अनुसार कांग्रेस एमालेले ५५ प्रतिशत भोट पाएको हुँदा यहि भोटको आधारमा ६० सिट र साना दलले थ्रेस होल्ड कटाउन नसके थप ५ सिट सम्म उनीहरूले पाउने छन् ।
बाँकी रहेको ४५ देखि ५० सिट ५ अथवा ६ दलले भाग लगाउने छन् । जसमा रास्वपा र माओवादीले समान ११ प्रतिशत मत पाएकोले ११० सिटको ११ प्रतिशत सिट सुरक्षित गर्दा पनि १२ सिट भाग पाउने छन् । धेरै मत ल्याएर पनि थ्रेस होल्ड कटाउन नसक्ने दल धेरै भएमा उनीहरूले थप २ देखि ३ सिट सम्म पाउने छन् ।
राप्रपाले ७ देखि ८ सिट र जसपाले ४ देखि ५ सिसम्टम पाउने सम्भावना देखिन्छ । नेकपा एकीकृत समाजवादीले थ्रेस होल्ड पार गरेमा भने उसले पनि ३ देखि ४ सिट पाउने छ । यसो भएमा अन्य दलले पाउने सिट संख्यामा एकाध सिटको फरक पर्न सक्ने छ ।
हेर्नुहोस कसको कति मत ?