ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

मुलुकलाई आवश्यक ९० % औषधि हामी आफैले बनाइरहेका छौं

२०७९ मंसिर, ११  
अन्तरवार्ता
Tvs Raider Image Not Found

करीब तीन दशकअघि प्रदीपजंग पाण्डेले औषधि उद्योग खोलेर उद्योग व्यवसायमा हात हालेका थिए । हाल उनी लोमस फर्मास्युटिकलका अध्यक्ष रहेका छन् । यो कम्पनी औषधिसहित बैंक, ऊर्जा, बीमा लगायत क्षेत्रमा ठूलो लगानीकर्ताको रूपमा छ । साथै पछिल्लो समय सिमेन्ट उद्योग, व्यापार हुँदै अहिले हेलिकोप्टर सेवा र पर्यटन क्षेत्रमा समेत प्रवेश गरेको छ । पाण्डे नेपाल उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्ष समेत हुन् । प्रस्तुत छ, उनको व्यावसायिक पृष्ठभूमि, औषधि उद्योगमा प्रवेश, कम्पनीको लगानी रहेका अन्य क्षेत्र लगायत विषयमा आर्थिक अभियानले उनीसँग गरेको कुराकानीको सार :

तपाईंको पारिवारिक पृष्ठभूमिबारे बताइदिनुस् न । 
हाम्रो पुर्खा (पाँडे परिवार) ले पृथ्वीनारायण शाहको पालादेखि नै राज्य, समाजका लागि बलिदान, संघर्ष, योगदान गर्दै आएको इतिहास छ । तत्कालीन समयमा काठमाडौंमा पृथ्वीनारायण शाहको राज्यारोहण भएसँगै हाम्रो पुर्खा पनि गोरखाबाट काठमाडौं उपत्यका प्रवेश गरेका हो । अहिले पनि हाम्रो कुलदेवताको पूजा गोरखामै हुन्छ । त्यतिबेला खासगरी क्षेत्री परिवार फौज (सेना) मा भर्ना हुने चलन थियो । सोही अनुरूप हाम्रो हजुरबुवा फौजमा आबद्ध भएर काम गर्नुभयो । 
मेरो आफ्नो कुरा गर्नुपर्दा २०२२ सालमा एसएलसी परीक्षा उत्तीर्ण भएँ । त्रिभुवन विश्वविद्यालयबाट एमकम गरेँ । सोही क्रममा अब व्यवसाय गर्नुपर्दछ भन्ने सोच आयो । राष्ट्रको उन्नति आर्थिक गतिविधिबाटै सम्भव छ भन्ने सोचले उद्योग व्यवसायमै लाग्नुपर्छ भन्ने भयो । तर सानो उमेरमा मेरो सोच औषधि उद्योग वा बैंक, बीमा या सिमेन्ट उद्योग खोल्छु वा अन्य केही गर्छु भन्ने थिएन । समय क्रमसँगै बाटो फराकिलो भएर जाँदो रहेछ । जानेर वा नजानेर व्यवसायमा हात हालियो ।

उद्योग व्यवसाय गर्नुपर्छ भन्ने निर्णयमा चाहिँ कसरी पुग्नुभएको थियो ?
सन् १९७० को कुरा हुनुपर्छ । म तालिमका लागि जापान गएको थिएँ । त्यहाँ आयोजित अन्तरराष्ट्रिय मेलामा सहभागी हुने मौका मिल्यो । त्यो बेला नेपालको निजीक्षेत्रको प्रतिनिधित्व मैले नै गरेको थिएँ । त्यहाँ एक महीना बसेर फर्किएँ । त्यहाँ मैले धेरै व्यावहारिक पक्षको बारेमा सिक्ने मौका पाएँ । जापानीहरू कामप्रति एकदमै लगनशील हुँदारहेछन् । समयलाई एकदमै महत्व दिँदा रहेछन् । उनीहरूमा इमानदारी पनि पाएँ । उनीहरूमा शुरू गरेको काम पूरा गरेरै छाड्ने बानी हुँदो रहेछ । त्यो देखेरे मेरो मन नै परिवर्तन भयो । त्यसपछि स्वदेशमै केही गरौं भन्ने लाग्यो ।

 

त्यतिखेर मुलुकमा बामे सर्दै गरेको औषधि उद्योगमा के देखेर कसरी प्रवेश गर्नुभयो ? 
यो क्षेत्रमा प्रवेश गर्नुका रोचक कारणहरू छन् । जापान गएर फर्किएकाले केही गरौं भन्ने हुटहुटी त छँदै थियो । त्यसकारण पनि व्यवसायमा हात हालियो । शुरूमै ध्यान औषधि उद्योगमा गयो । उद्योग व्यवसायमा प्रवेश गर्दाको कुरा गर्ने हो भने गोगंबुमा रहेको यो औषधि उद्योग (हालको लोमस) बन्द नै भइसकेको थियो । साँच्चिकै भन्ने हो भने लिलाम हुने अवस्थामा थियो । हुन त म फर्मासिष्ट होइन, टेक्निकल पनि होइन । केवल कमर्स बुझेको मान्छे हो । तर पनि मलाई यो उद्योगमा जाने आँट कसरी आयो, अहिले सम्झँदा मलाई नै आश्चर्य लाग्दछ ।
 
औषधिमा हात हाल्नुअघि कस्तो र केको व्यापार गर्नुहुन्थ्यो ?
त्यसबेला निर्यात व्यापार थियो । वस्तुस्थिति नबुझीकन अरूको भरमा काम गर्नुहुँदैन भन्ने मेरो मान्यता थियो । अहिले पनि म अरूको भरमा काम नै गर्दिनँ । हुन त त्यतिबेला राष्ट्रलाई अगाडि बढाउन उत्पादन आवश्यक थियो । उत्पादन पनि बढाउनुपथ्र्यो । भएका उत्पादन निर्यात गर्नुपर्‍यो । यो भयो भनेमात्र देशको अर्थतन्त्रमा टेवा पुग्दछ । त्यसै भएर हामी जापानमा निमो कार्पेट (भुइँमा बिछ्याउने कार्पेट), झोला तथा ज्याकेट निर्यात गथ्र्यौं ।

मुलुक र जनतालाई फाइदा हुने काम किन नगर्ने भन्ने सोचले औषधि उद्योगमा प्रवेश गरेँ ।
 

व्यापारको क्षेत्रमा सक्रिय रहेको तपाईं कसरी उत्पादन क्षेत्रतर्फ प्रवेश गर्नुभयो ?
त्यतिखेर मेरा एक जना साथी थिए । ऊ मसँगै पढेको साथी पनि हो । एकदिन उसले मलाई गोंगबुस्थित उद्योगमा लिएर लग्यो । त्यो उद्योग बन्द थियो । उद्योगको गेटमा गार्डमात्र थियो । उद्योग लिलाम हुने अवस्थामा पुगिसकेको रहेछ । मैले उद्योगको अवस्थाको बारेमा त्यो दिन राम्रोसँग हेरेँ र सोचविचार गरेँ । औषधिको उद्योग नेपालका लागि नयाँ थियो । औषधि उद्योग राष्ट्रका लागि आवश्यक छ या छैन भन्ने बारेमा राम्रोसँग विचार पनि गरेँ । यो त राष्ट्रका लागि नभई नहुने उद्योग रहेछ भन्ने बुझेँ । त्यसपछि मुलुक र जनतालाई फाइदा हुने काम किन नगर्ने भन्ने सोच आयो । त्यसपछि मैले २०४७ सालमा उक्त उद्योग लिएँ । त्यो मेरा लागि नयाँ भेन्चर थियो । त्यो बेला नेपालमा  दुई–तीनओटा मात्र औषधि उद्योग थिए । शाही औषधि लिमिटेड नेपालकै सबभन्दा पुरानो उद्योग थियो भने तेस्रो उद्योगको रूपमा लोमस फर्मास्युटिकल थियो । तर तेस्रो उद्योगको रूपमा रहेको लोमस भने बन्द अवस्थामा थियो । उद्योग नवीकरण समेत गरिएको थिएन । त्यस्तो अवस्थामा ठूलो आँट गरेर हात हालेँ । तीन चार वर्षपछि मात्र उद्योग लयमा फर्कियो । त्यसपछिको पाँच वर्षभित्र नेपाल र भारतमा सबैभन्दा ठूलो परिमाणमा औषधि विक्री गर्नेमा लोमस अग्रणी बन्यो ।
 
औषधि उद्योगमा तपाईंको एकल लगानी छ कि अन्य साझेदारहरू पनि छन् ?
यसमा अरू साझेदार पनि छन् । तर ९० प्रतिशत शेयर स्वामित्व भने मेरै छ । परिवारका सदस्यहरू सञ्चालक छन् । 

बन्द अवस्थामा रहेको उद्योगलाई छोटो अवधिमा नै सफलताको बाटोमा अगाडि बढाउनु भएको रहेछ । यो कसरी सम्भव भयो बताइदिनुस् न ?
उद्योगमा हामीले हात हालेको छोटो समयमा नै नेपालमा तीन वर्षसम्म हामी नम्वर वान भयौं । भन्न खोजेको कुरा के हो भने बन्द उद्योगलाई सूचारु मात्र गराएनौं, नम्वर वान पनि बनायौं । नयाँ भेन्चरले नै बिग्रिएको संरचना अर्थात् बन्द भएको संरचनालाई सफलतापूर्वक अगाडि बढाएको हो । कडा मेहनेतले नै यो काम गर्न सम्भव भएको जस्तो लाग्छ । यदि आँट्यो भने वा गर्‍यो भने त जे पनि गर्न सकिँदो रहेछ नी भन्ने कुरा हामीले यो उद्योगमा काम गरेर प्रमाणित गरेका थियौं । 

बन्द भएको उद्योगको स्वामित्व लिएर पुनर्जीवित गर्नुभयो । त्यसपछि कसरी औषधि उत्पादन वृद्धि हुन थाल्यो ?

नियमित रूपमा १५–१६ ओटा मात्र औषधि उत्पादन हुने गरेकोमा यसलाई विस्तार गर्दै लग्यौं । बन्द उद्योगलाई नियमित रूपमा सुचारु गर्न समय लाग्यो । दिनरात नभनीकन काम ग¥यौं । ल्याबदेखि अनेकौं पूर्वाधार तयार गरियो । पूर्वाधार निर्माण गुर्नपर्ने धेरै थियो, विभिन्न समस्या रहँदा पनि सफलतापूर्वक सम्पन्न ग¥यौं । त्यसपछि बल्ल औषधि उत्पादन गर्न लायक उद्योग बन्यो । 

उद्योगलाई गोंगबुबाट गोठाटारमा कहिले र किन सार्नुभयो ?
हामीले त्यहाँबाट गोठाटारमा उद्योग स्थानान्तरण गरेको पनि अहिले त १८ वर्ष भयो । यसरी सार्दा पनि उद्योग त औषधि उत्पादन गर्न लायक त थिएन नै । यसका लागि यहाँ पनि समय लाग्यो । हामीलाई थाहै छ नि, एउटै व्यक्तिले भर्यांगको दुई ओटा खुड्किलो टेक्यो भने अवश्य लड्छ । मेरो बानी के छ भने एउटा काम गरिसकेपछि मात्र अर्को काममा हात हाल्ने (जम्प) गर्ने । स्थानान्तरण गरिसकेपछि उद्योगबाट उत्पादन पनि नियमित भयो, गुणस्तर मेन्टेन पनि भयो, अनि मात्र दायरा फराकिलो गर्ने काममा हाम्रो ध्यान गयो । अब त व्यवसाय त विस्तार गर्नुपर्‍यो । गोंगबुमा यसै पनि उद्योगका लागि जग्गा सानो भइसकेको थियो । हामीले उद्योगका लागि क्षेत्रफल सानो भएपछि धापासीमा सार्ने कि भनेर सोच विचार पनि गर्‍यौं । त्यतिखेर त्यहाँ ७ रोपनी जग्गा खरीद गरेको थिएँ, ७ लाख रुपैयाँ प्रतिरोपनीमा । त्यतिखेर त जग्गा सस्तो पनि थियो । तर पछि गएर त्यहाँ उद्योगको प्लान्ट राख्न उपयुक्त स्थान लागेन । चार वर्षपछि त्यो जग्गा विक्री भयो । त्यसपछि गोठाटारमा औसतमा रोपनीको साढे पाँच लाख रुपैयाँका दरले २५ रोपनी जग्गा टुक्रा टुक्रा गरेर खरीद गर्‍यौं । त्यो बेला नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक मात्र थिए । त्यसमा पनि ती बैंक ऋण लगानीको मामलामा एकदमै कन्जरभेटिभ थिए । एउटा एलसी (प्रतितपत्र) खोल्दा पनि चाकडी गर्नुपर्ने अवस्था थियो । अहिले जस्तो थिएन, त्यो बेलामा । गोठाटारमा उद्योग स्थापना गर्दा पनि निक्कै सास्ती भोग्नुपर्‍यो । संधियारहरूले पनि जग्गामा किचलो गरे ।

उद्योग सफल हुन व्यवस्थापन चुस्तदुरुस्त हुनुपर्छ । व्यवस्थापन बलियो भयो भने लागत कम हुन्छ । 
 


 
उद्योगलाई गोंगबुबाट गोठाटारमा सार्दा के कस्तो बाधा अवरोध आयो ?
धेरै नै अवरोध सृजना गरियो । तर हामीले सामना पनि गर्‍यौं, हिम्मत हारेनौं । जग्गामा पर्खाल बनाउने बेलामा धेरै नै दुःख पाइयो । उद्योग स्थापना भएर उत्पादन शुरू हुन थालेपछि स्थानीयले आफ्ना मान्छेलाई जागीर लगाइदे भन्न थाले । हामीलाई त्यतिबेला धेरै जनशक्ति चाहिएको थिएन । किनकि उद्योगले भर्खर उत्पादन शुरू गरेको थियो । हामीलाई २०–२५ जना जनशक्ति चाहिएकोमा ७०० जनाको आवेदन परेको थियो । त्यसपछि अन्तरवार्ता लगायत विभिन्न उपाय अपनाएर आवश्यक जनशक्ति मात्र लिन सफल भयौं । त्यतिखेर राज्यले पनि सहजीकरण गरेन । हामीले आफ्नै किसिमले उद्योग चलायौं । अथक मेहनत र परिश्रमका कारण नै आज हामीले ४०० प्रकारका औषधि उत्पादन गरिरहेका छौं । उद्योगबाट एन्टिबायोटिक औषधिमात्र नभई उच्च रक्तचाप, मधुमेहलगायत हर्मोनल औषधि समेत उत्पादन भइरहेकोे छ । हामीले निकै संवेदनशील औषधि पनि उत्पादन गरिरहेका छौं । उद्योगबाट उत्पादित औषधिको गुणस्तर डब्लूएचओ जीएमपी कायम गरिएको छ । मुलुकलाई चाहिने ९० प्रतिशत औषधि हामी आफैले बनाइरहेका छौं । 

कोरोना महामारीमा स्वदेशी औषधि उद्योगले निकै महत्वपूर्ण भूमिका खेलेको हो नि, होइन र ?
निश्चित रूपमा हो । कोरोना महामारीमा मुलुकलाई सेनिटाइजर र भिटामिन सी ट्याब्लेट चाहिएको थियो । तुरुन्तै हामीले उत्पादन गरेर विक्रीवितरण गर्‍यौं । यसमा हामी सफल भयौं । हामीले कोरोना महामारीमा मात्रै ५ करोड रुपैयाँको सेनिटाइजर बनाएर विक्रीवितरण गर्‍यौं । सेनिटाइजर विदेशबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य हामीले नै गरेका हौं । त्यति ठूलो महामारीमा हामीले आफ्नो कर्तव्य निर्वाह गर्‍यौं जस्तो लाग्छ । महामारी आयो, मौका यही हो भनेर कहिल्यै पनि हामीले महँगो दाममा औषधि विक्री गरेनौं । सर्वसुलभ मूल्यमा नै तुरुन्त उपलब्ध गरायौं । औषधि उत्पादनमा स्वदेशी उद्योगहरू पनि सक्षम भइसकेको अवस्था छ । यसकारण पनि औषधि आयात प्रतिस्थापन गर्न सरकारले ध्यान दिनुपर्‍यो । सेनिटरी प्याडको कहानी सुनिहाल्नु भएकै छ । सेनिटाइजरको अवस्था पनि यस्तै छ । सरकारले औषधिमा वर्गीकरण गरेकाले सेनिटाइजर आयात भइरहेको अवस्था छ भने स्वदेशी उद्योगबाट उत्पादित सेनिटाइजर विक्री हुन सकेको छैन । यो त विक्री नभएर बन्द गर्नुपर्ने अवस्था आइसकेको छ । यसमा सरकारले सहज वातावरण सृजना गरेको भए सेनिटाइजर स्वदेशमा नै उत्पादन हुन्थ्यो । यो गरेको भए अरु उद्योगले पनि सहज रूपमा सेनिटाइजर उत्पादन गर्थे । 

लोमस फर्मास्युटिकलबाट अहिले मुख्य रूपमा के कस्ता औषधिहरू उत्पादन भइरहेको छ ?
औषधिमा पनि विभिन्न सेक्सन हुन्छन् । मुख्य त जनरल अन्तर्गत खोकीका विभिन्न प्रकारका औषधि तथा भिटामिन लगायत छन् । यसमा पनि ट्याब्लेट, लिक्विड (तरल), क्याप्सुल र घाउचोट लाग्दाको औषधि हुन्छन् । हामीले क्यान्सर र हर्मोनका दबाई पनि उत्पादन गरिरहेका छौं । कम्पनीले आफ्नो सहजता र बजारको माग अनुरूप औषधि उत्पादन गरिरहेको छ । नयाँ आउने कम्पनीले लिक्विड सेक्सन अन्तर्गतको औषधि उत्पादन नगर्न पनि सक्छन्, तर हामीले गरिरहेका छौं । लिक्विड सेक्सनमा फाइदा छैन । किन भने यसमा खर्च र लागत सबै धेरै छ । एउटा कुरा के हो भने औषधि उत्पादन गर्न सजिलो छैन । यसमा सेक्सन अलग अलग हुने भएकाले लागत (खर्च) धेरै छ । बजार माग त्यति धेरै नभएको सेक्सनमा पनि २०–२२ करोड रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ । 

अन्य स्थानमा पनि औषधि उद्योग व्यवसाय विस्तार गर्ने सोच छ ?
हामीले जनकपुरमा औषधि उद्योग नै विस्तार गर्ने सोचसहित सलाइन पानी उत्पादन गरिरहेका छौं । सलाइन पानी (प्यारेन्टल) उत्पादन गर्ने यो नेपालको एक मात्र उद्योग हो । बन्द हुन लागेको उद्योग हामीले खरीद गरेका हौं । यो मुलुकका लागि आवश्यकता पनि छ । यो जरुरि पनि भइसकेको छ । तर यसमा फाइदा भने छैन । पानीभन्दा सस्तोमा बेच्नुपर्ने अवस्था छ । सलाइन पानी कडा मापदण्डअनुसार निर्माण गर्नुपर्ने भएकाले लागत धेरै छ । दुर्घटना भएपछि तत्काल घाइते बिरामीलाई सलाइन पानी आवश्यक पर्दछ । यही भएकाले यो उत्पादन गर्दै छौं । 
फाइदा नभए पनि जनताको सेवाका लागि काम गरिरहेका छौं । जनकपुरको मुख्य राजमार्ग क्षेत्रमै रहेको पाँच बिघामा प्लान्ट विस्तार हुँदै छ । त्यहाँ अन्य औषधिका ट्याब्लेट, क्याप्सुल उत्पादन गर्ने योजना पनि छ । यसका लागि उपकरण जडान गरिसकेका छौं । अर्को वर्षदेखि उत्पादन थाल्छौं । आँखामा हाल्ने औषधिदेखि कानमा हाल्ने औषधि बनाउने लक्ष्य छ । अलग अलग सेक्सनका औषधि उत्पादन गर्न निकै खर्च लाग्छ । साथै संवेदनशीलता पनि अपनाउनुपर्ने हुन्छ । भोलिका दिनमा गोठाटारको उद्योगबाट उत्पादित औषधिले माग नधान्न पनि सक्दछ । त्यसकारण त्यहाँ थप औषधि उत्पादन गर्न लागेका हौं । यो भयो भने मुलुकलाई चाहिने धेरैजसो औषधि उत्पादन स्वदेशमै सम्भव छ ।

हाल औषधि उद्योगमा कति कर्मचारी तथा मजदूर कार्यरत छन् ? बताउन मिल्छ कि ?
उद्योग सफल हुन व्यवस्थापन चुस्तदुरुस्त हुन पर्दछ । व्यवस्थापन बलियो भयो भने लागत कम हुन्छ । सक्षम व्यवस्थापनले मात्र सरल दाममा सामान खरीदविक्री गर्न सक्छ । बैंकको ऋण कम लियो भने कम्पनीको लागत कम हुन जान्छ । अनि कर्मचारी कम राखेर उत्पादन बढी गर्न सकियो भने पनि लागत  कम हुन्छ । हाम्रो उद्योगको कुरा गर्नुहुन्छ भने त एकदमै थोरै कर्मचारी तथा मजदूर कार्यरत छन् । उद्योगमा अधिकांश समयमा त म पनि काम गरिरहेको हुन्छु । हामीले अरु उद्योगभन्दा पृथक किसिमले काम गरिरहेका हुन्छौं । कामको मूल्यांकन गरेर कर्मचारीलाई धेरैभन्दा धेरै सुविधा दिएका छौं । आठ घण्टा कर्मचारीले काम गर्छन् । उद्योगमै कर्मचारी तथा मजदूरलाई निःशुल्क खानाखाने व्यवस्था मिलाइएको छ । राम्रो बोनस दिने व्यवस्था मिलाएका छौं । बोनस पनि अन्य कम्पनीभन्दा राम्रो दिएका छौं ।

एउटा उद्योगमा सफल नभई अर्को उद्योगमा हात हाल्नु हुँदैन भन्ने मेरो अनुभव छ ।
 

नेपालको औषधि उद्योगमै निजीक्षेत्रको पहिलो स्थानमा रहेको लोमसमा शुरुआती समयमा कति रकम लगानी गर्नुभएको थियो ?
विसं २०४७ सालमा २५ लाख रुपैयाँ लगानी गरेर यो उद्योगमा प्रवेश गरेका हौं । त्यतिबेलाको कुरा गर्ने हो भने उद्योगमा २५ लाख अधिकृत पूँजी र २३ लाख रुपैयाँ चुक्तापूँजी थियो । त्यो बेलामा खर्च पनि थिएन । तर अहिले नयाँ प्रविधि तथा औषधिको विश्वव्यापी मापदण्ड अनुसार हरेक सेक्सनमा खर्च बढ्दै गएको छ । त्यो अनुपातमा औषधिको मूल्य (एमआरपी) भने बढ्न सकेको छैन ।

लोमस फर्मास्युटिकलको हालको अवस्थाबारे बताइदिनुस् न ।
हामीले राष्ट्रका लागि आवश्यक पर्ने सबैजसो आवश्यक औषधि उत्पादन गरिरहेका छौं । जनकपुरमा पनि प्लान्ट विस्तार गरिसकेका छौं । मुलुकभर बजार विस्तार भइसकेको छ । मुलुकमा बाहिरबाट आयात नगर्दा पनि हुने सबै खालका औषधि उत्पादन गरिरहेका छौं । हामीले लामो समयदेखि पारासिटामोल ट्याब्लेट उत्पादन गरिरहेका छौं । यसको मूल्य २०६४ सालदेखि बढेको छैन । तर घाटा खाएर भए पनि मुलुकका लागि यसको उत्पादनलाई निरन्तरता दिएका छौं । समग्रमा भने हाम्रो कम्पनी नाफामै चलिरहेको छ ।
 
कम्पनीमा हालको संरचना कस्तो छ ? यसको विकास तथा विस्तारमा कसले के भूमिकामा काम गरिरहेका छन् ?
कम्पनीको समग्र व्यवस्थापन मैले नै हेरिरहेको हुन्छु । तर बजार प्रवर्द्धनको काम भने मेरो कान्छो छोराले हेरिरहेको छ । ऊ फार्मेसी काउन्सिल र नेपाल औषधि व्यवसायी संघको अध्यक्ष पनि हो ।
 
लोमसपछि तपाईंले सिमेन्ट उद्योगमा लगानी विस्तार गर्नुभएको रहेछ । यो व्यवसाय विविधता हो कि अन्य कारण छन् ?
मेरो एउटा के छ भने एउटा उद्योगमा सफल नभई अर्को उद्योगमा हात हाल्नु हुँदैन । जब औषधि उद्योगबाट आत्मसन्तुष्टि प्राप्त भयो, त्यसपछि सिमेन्टमा लगानी शुरू गरेको हुँ । कसमस सिमेन्टमा हात हालेको पनि २० वर्ष भइसकेको छ । हाम्रो अहिले जनकपुरमा सिमेन्ट उद्योग छ । त्यो बेला सिमेन्ट उद्योग सानो थियो । लगानी वृद्धि भइरहेको छ । तर सिमेन्टबाट अहिलेसम्म फाइदा भने भएको छैन । कसमस सिमेन्टले उदयपुरमा खानीको उत्खनन गर्ने टेण्डर पाएको छ । त्यो खानी सिमेन्ट उत्पादन गर्नकै लागि भनेर लिएका हौं । यसले हामीलाई लगभग ८०–९० वर्षका लागि पुग्दछ । अहिले हामीले क्लिङ्कर पनि बनाइरहेका छौं । हामीले उदयपुरमा २५ बिघा जग्गा किनेका छौं । त्यहाँ सिमेन्ट उद्योग स्थापना गर्ने लक्ष्य छ । किनभने जनकपुरको उद्योग हामीलाई टाढा भयो । तर बैंकबाट ऋण नपाएकाले उद्योग खोल्न सकिएको छैन । 

तपाईंहरूको अर्को इस्टर्न कसमस सिमेन्ट पनि रहेछ । यसको बजार हिस्सा कस्तो छ ? अनि यसमा कस कसको लगानी रहेको छ ?
यसमा मेरो ५२ प्रतिशत शेयर स्वामित्व छ भने ध्रुवराज थापाजीको पनि स्वामित्व छ । उहाँ त नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्ष पनि हुनुहुन्छ । अर्का एक जना इन्जिनीयरको पनि लगानी छ । यो उद्योग विराटनगरमा छ । यसमा पूर्व क्षेत्रका सिमेन्ट व्यवसायीहरूको पनि शेयर छ । यो उद्योग क्लिंकर बेसमा आधारित छ । पहिला त हामीले क्लिंकर भारतबाट ल्याउँथ्यौं तर अहिले ल्याउनु परेको छैन । मुलुक सिमेन्टमा आत्मनिर्भर भइसकेको अवस्था छ । 

तपाईंको लगानी वित्तीय क्षेत्रमा पनि छ । सो क्षेत्रमा कहिले प्रवेश गर्नुभयो ?
हामी वित्तीय क्षेत्रमा १८ वर्षअघि नै प्रवेश गरेका हौं । हाम्रो लगानी सिभिल बैंकमा छ । त्यसमा छोरा प्रबलजंग पाण्डे सञ्चालक छन् । नेपालको एउटा ट्रेन्ड के छ भने हरेक व्यापारिक घरानालाई बैंक चाहिएको छ, बीमा पनि चाहिएको छ । अरु पनि के के हो चाहिएको छ । शिखर इन्स्योरेन्स, सिटिजन्स बैंक र सिटिजन लाइफ इन्स्योरेन्समा पनि हाम्रो लगानी छ ।
 
औषधि जस्तो संवेदनशिल क्षेत्रमा काम गरिरहेको व्यवसायी अकस्मात् सिमेन्टतर्फ कसरी मोडिनुभयो ?

काम गर्दै जाँदा जनकपुरको सिमेन्टमा हात हाल्नै पर्ने अवस्था आयो । किनभने त्यतिबेला कौशलकुमार सर्राफको त्यो सिमेन्ट उद्योग फेल थियो । उनीहरूको हिमालयन चिनी उद्योग, एभरेष्ट पेपर उद्योगमा पनि ठूलो लगानी थियो । विडम्बना चलाउन नसकेपछि बन्द हुने नै भयो । चलाउन नसकेपछि त डुब्ने नै भयो । व्यवसाय विस्तारकै क्रममा सिमेन्टमा पनि कही गरौं न त भन्ने कुरा भयो । यसतर्फ यो उद्योगमा शुरूमा ५० प्रतिशत स्वामित्व लियौं । काम शुरु त गरियो, शुरुमा उहाँहरूलाई नै उद्योग हेर्न दियौं, तर उहाँहरूले फेरि पनि काम गर्न सक्नु भएन । किनभने काम गराइ देखेर मलाई चित्त बुझेन, सन्तुष्टि नै मिलेन । मेरो काम गर्ने शैली अरुभन्दा फरक छ, अरुको अर्कै किसिमको हुन्छ । तर मेरो पहिलो चाहना के हो भने उद्योगको खर्च दोब्बरले घटाउने । यो गर्न त थप मेहनत आवश्यक हुन्छ । यो नभएपछि त भएन । खर्च बढेपछि हामीले त्यसको सवै स्वामित्व लियौं । र चलायौं । 

व्यवसाय विस्तारकै क्रममा तपाईंहरू हवाई उड्डयन क्षेत्रमा पनि प्रवेश गर्नुभएको छ । यसको व्यापार व्यवसायको अवस्था कस्तो छ ?
हवाई उड्डयनतर्फ कैलाश हेलिकोप्टरलाई अहिले पार्टनरसिपमा चलाइरहेका छौं । कमाउने कुरा त छँदै छ नि भनेर यो व्यवसाय चलाइरहेका छौं । यसमा सन्तुष्ट नै छौं । खासै नाफा नभए पनि तीनओटा हेलिकोप्टरले नियमित उडान गरिरहेका छन । यसमा हाम्रो आक्रामक व्यापार छैन । तर सस्टेनेबल भने छौं । 
औषधि व्यवसायमा संलग्न व्यवसायी ऊर्जा क्षेत्रमा पनि आउनुभयो । यसको कारण के होला ?
ऊर्जाक्षेत्रमा हाम्रो संलग्नता माउन्टेन इनर्जी प्रालिमा छ । कम्पनीले मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण गरेको छ । ४३ मेवागाटको उक्त आयोजनाबाट बिजुली उत्पादन भइरहेको छ । तादीखोला हाइड्रोपावर त पहिल्यै सफल भइसकेको छ । तर एउटा विडम्बना के छ भने मुलुकमा कतिपय स्थानमा समयमा ट्रान्समिसन लाइन बन्न सकेको छैन । यसमा ढिला भएकाले आयोजना पनि ढिलो गरी बनाउनुपर्ने अवस्था छ । नत्र उत्पादित विद्युत् खेर जान्छ ।

कम्पनीकै लगानी रहेको लोमस इन्भेष्मेन्ट कम्पनी पनि रहेछ । यसले के काम गर्छ ?
यो प्रपर्टी म्यानेजमेन्ट गर्न स्थापना गरेका हौं । सिनामंगलमा हाम्रो २५–२६ रोपनी जग्गा छ । त्यो बैंकबाट ऋण लिएर खरीद गरेका हौं । यो ऋण अहिले त तिरिसक्यौं । तर त्यो जग्गा हाउजिङ विकासका लागि लिइएको भने होइन । यसमा मेरो पहिलेदेखि नै रुचि भएन ।
 
तपाईं नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पनि हुनुभयो । र, छोटो समयमै बहिर्गमनमा पनि पर्नुभयो । त्यो क्षणलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
अध्यक्ष त्यसै हुने कुरा भएन । २०५६ सालतिर म औषधि उत्पादक संघको महासचिव थिएँ । त्यसपछि अध्यक्ष पनि भएँ । त्यसबेला मुलुकमा २८–२९ ओटा मात्र औषधि उद्योग थिए । अध्यक्ष भएर काम गर्दा सबैले प्रशंसा पनि गरेका थिए । औषधि व्यवसायीको प्रतिनिधि थिएँ र अहिले पनि छु । औषधि उद्योगी हुनुको नाताले राम्रो काम गरेकाले उद्योग वाणिज्य महासंघको अध्यक्ष हुने मौका पाएको हुँ । छोटो कार्यकाल भए पनि राम्रो काम गरेँ जस्तो लाग्छ । २०७० सालमा नेपाल उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा मेरै नेतृत्वमा औद्योगिक नीति बनेको हो । मेरो कार्यकालमा निजीक्षेत्रको हकहितका लागि धेरै काम भएका छन् । । तर म धेरै समयसम्म अध्यक्षमा बहाल रहिनँ । ममाथि विभिन्न षड्यन्त्र गरियो । म यतिखेर कसैको पनि नाम लिन चाहन्न । षड्यन्त्रका कारण छोटो समयमै अध्यक्षबाट बाहिरिन बाध्य पारियो । मलाई त्यसमा कुनै पश्चाताप छैन र म कहिल्यै विचलित पनि भइनँ । 

तपाईं त पहिलो पुस्ताको उद्योगी हुनुभयो ? व्यवासाय पनि धेरै भएकाले आगामी दिनमा लोमस ग्रूप अफ इन्डिस्ट्रिजलाई कसरी पुस्तान्तरण गर्दै लैजाने योजनामा हुनुहुन्छ ?
हाम्रो पछिल्लो प्रोजेक्ट सिटिजन लाइफ इन्स्योरेन्सपछिको लोमस प्यारेन्टल नै हो । यसमा पनि थप लगानी विस्तार गर्ने योजना छ । तीन छोराहरू सबै व्यवसायमा व्यस्त छन् । जेठो छोराले सिमेन्टसँगै लोमस फर्मास्युटिकल पनि हेर्छ । माइलो छोरा प्रतापले बैंक तथा वित्तीय संस्था र हेलिकोप्टर पनि हेर्छ । कान्छो छोरा प्रज्वल भने पूर्णरूपमा लोमस फर्मास्युटिकलमै व्यस्त छ । उसले यसमा मार्केटिङ हेरिरहेको छ । म पनि लोमस फर्मास्युटिकलमै व्यस्त छु । उमेरका हिसाबले पनि अबको केही समयपछि मैले काम गर्न सक्दिनँ होला । उनीहरूको इच्छाअनुसार नै अगाडि बढ्ने योजना छ । 

नेपालमा हरेक व्यापारिक घरानालाई बैंक चाहिएको छ, बीमा पनि चाहिएको छ । अन्य धेरै कुरा चाहिएको छ ।

मुलुकमा फर्मा बिजनेशको भविष्य कस्तो देख्नुभएको छ ? यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन के गर्नुपर्ला ?
नेपालको अर्थनीतिको अध्ययन गर्ने हो भने हाम्रो आर्थिक क्षमता अत्यन्त कमजोर छ । सक्षमता कमजोर छ । सस्तोमा मालवस्तु किन्ने भए त सबै आयात गरे भइहाल्यो । श्रीलंकाकै कुरा गरौं न । केही महीनाअघि त्यहाँका नागरिकले औषधि समेत नपाएका खबर सार्वजनिक भए । त्यहाँ औषधि उद्योग सक्षम भएको भए नागरिकको त्यो अवस्था आउँदैनथ्यो होला । त्यसकारण सर्वप्रथम हामी सक्षम हुन आवश्यक छ ।
नेपालबाट आजभन्दा १३–१४ वर्षअघिसम्म धानचामल निर्यात हुन्थ्यो । तर यो अवस्था अहिले कहाँ पुग्यो त ? नेपालमा धान प्रशस्त उत्पादन नहुँदा आयात गर्नुपर्ने अवस्था छ । चिनीको अवस्था यस्तै छ । मुलुकमा उखु उत्पादन बढ्न सकेन । खाने तेलको यही अवस्था छ । नेपाल सम्भावना नै सम्भावनाको देश हो । तर किन यसतर्फ हामीले ध्यान दिएनौं ? यसबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ । नेपालमा कार्पेटको राम्रो सम्भावना थियो । तर हामीले नै कार्पेट सिध्यायौं । यस्ता उद्योग–व्यवसाय त विभिन्न कारणले सिद्धिए । उद्योग व्यवसाय चलाउन नेपाली व्यवसायी सक्षम छन् । तर यसका लागि सरकारले काम गर्ने वातावरण तयार गर्नुपर्‍यो । सरकारले यसतर्फ विशेष ध्यान दिन आवश्यक छ ।
नेपालमा औषधिको व्यापारको अवस्था कस्तो छ त ?
नेपालमा औषधिको त्यति ठूलो बजार त छैन । सबै गरेर २५–३० अर्ब रुपैयाँको छ । यसमा नेपालको औषधिको हिस्सा ४० प्रतिशतभन्दा कम छ । अन्य औषधि आयातित नै छन् । त्यसमा पनि नेपालका औषधि उद्योगले कच्चापदार्थ आयात नै गर्नुपर्ने अवस्था छ । हर्बलतर्फ ध्यान दिने हो भने हामी सय प्रतिशत आत्मनिर्भर हुन सक्ने अवस्थामा छौं । तर यसमा ध्यान दिन सकेका छैनौं । यसले स्वदेशको फर्मास्युटिकल उद्योगलाई बलियो बनाउने सम्भावना देखिन्छ । तर काम हुन सक्ने अवस्था छैन ।

तपाईंलाई कस्तो अनुभूति हुन्छ ? आफूले के गरेँ जस्तो लाग्छ ?
जस्तो सुकै कठिन अवस्थामा पनि हिम्मत नहारीकन काम गर्नुपर्दछ । मुलुकका लागि मैले नगरे कसले गर्छ भन्ने भावना लिएर हामी सवैले काम अगाडि बढाउनु पर्दछ । इमानदारीपूर्वक काम गर्‍यो भने अवश्य पनि सफलता पाउन सकिन्छ भन्ने कुरा औषधि उद्योगले प्रमाणित गरेर देखाइदिएको छ । मुलुकलाई आवश्यक पर्ने औषधि उत्पादन गरिरहेका छौं । यो सुनाउन पाउँदा पनि मलाई गौरव महसुस हुन्छ । कोरोना महामारीमा भारतले अत्यावश्यक औषधिहरू बन्द गरिदियो । हामीले पारासिटामोल लगायत अनेकौं औषधि उत्पादन गरिरहेका थियौं । त्यो बेला मुलुकमा पारासिटामोल खान नपाउने स्थिति त सृजना भएन । हाहाकार हुन दिएनौं । हो, यसो भएको देख्दा अहिले सन्तोष लाग्छ । मुलुकका लागि केही काम गरेका रहेछौं भन्ने लाग्छ ।

आगामी दिनमा अन्य व्यवसायमा लोमस ग्रूपले कसरी अगाडि बढ्ने योजना बनाइरहेको छ ?
गर्ने हो भने त धेरै अवसर छन् । तर यसका लागि दृढ इच्छाशक्ति चाहिन्छ । यसका लागि उपयुक्त वातावरण छ जस्तो लाग्दैन । यसका लाग हामी सबैले उपयुक्त वातावरण तयार गर्नुपर्दछ । हुन त कुनै समय होटलमा लगानी गर्ने कि भन्ने सोच थियो । जग्गा पनि खरीद गरेका थियौं । तर पछि गएर हामीले लगानी गरेनौं । किनभने यो काम गर्न त अरू साथीहरू छँदै छन् भन्ने लाग्यो । पछि मेरो यो काम होइन भन्ने लाग्यो । हाम्रो मूल प्राथमिकता त औषधिमै थियो । औषधि उद्योगबाहेक अरूमा हात हाल्दिनँ भन्ने थियो । तर पछि अरूमा पनि भयो । सिमेन्ट, बैंक र बीमालाई नै अगाडि बढाउने योजना छ । यसमा लगानी विस्तार गर्ने योजना अनुरूप काम पनि भइरहेको छ । म त अब भइरहेका उद्योगहरू कसरी फैलाउने, विस्तार गर्ने भन्नेमा केन्द्रित छु । नयाँ भेन्चरमा लगानी थप्ने योजना छैन । 

(विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepal मा जान सक्नुहुनेछ ।)

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro