ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

प्रधानमन्त्रीमा माओवादी केन्द्रको दाबी छ : सचिव डिलाराम आचार्य [अन्तरवार्ता]

२०७९ मंसिर, १२  
अन्तरवार्ता
Tvs Raider Image Not Found

मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अधिकांश मत परिणाम आइसकेको छ भने केही स्थानमा मतगणना जारी छ । केही ठाउँमा भने मतदान हुँदैछ । समानुपातिकतर्फको मत परिणाम पनि अन्तिम चरणमा पुगिसकेको छ । अहिलेसम्मको निर्वाचन मत परिणाम हेर्ने हो भने कुनै एक पार्टीको मात्रै बहुमत पुग्ने स्थिति देखिँदैछ । त्यसैले गठबन्धनको आडमा सरकार बनाउनुको विकल्प छैन । अब बन्ने सरकार पनि गठबन्धन भएर नै बन्ने निश्चित छ । नेपाली कांग्रेस र नेकपा एमाले पहिलो पार्टी बन्नका लागि प्रतिस्पर्धामा छन् भने तेस्रो पार्टीका रूपमा नेकपा (माओवादी केन्द्र) हुने प्रायः निश्चित छ । त्यस्तै नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो ठूलो पार्टी बन्दैछ । राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं स्थानमा प्रतिनिधिसभामा देखिने लगभग पक्का छ । यस्तो अवस्थामा दलहरूबीच गठबन्धन गरेर मात्रै सरकार बनाउन सक्नेछन् । एकल दलको सरकार बन्ने अवस्था छैन । देशभरबाट हालसम्म ५ जना स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन् । यस्तो अवस्थामा वाम गठबन्धन भएर कम्युनिष्ठहरूको सरकार बन्छ वा अहिलेकै गठबन्धनले नयाँ सरकारको नेतृत्व गर्छ ? यही सेरोफेरोमा माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आचार्यसँग निर्वाचनको मत परिणाममा पार्टीको धारणा, वर्तमान सत्ता गठबन्धनको भविष्य, नयाँ सरकार निर्माण लगायतको विषयमा न्युज एजेन्सी नेपालले गरेको कुराकानी । 
 
निर्वाचनको मत परिणामलाई माओवादी केन्द्रले कसरी लिएको छ ?

सामान्यरूपमा हेर्दा अस्वभाविक छ । किनभने गठबन्धन गरेर गइसकेपछि हाम्रो अनुमान के थियो भने हामीले उठाएको ४८ सिटमध्ये ४० सिटजति आउनपर्थ्यो । तर के देखियो भने हामी माओवादीको भोट गठबन्धनका अन्य दलमा खास गरेर कांग्रेसमा, एकीकृत समाजवादीमा सबैतिर सजिलोगरी पर्‍यो । कांग्रेसको भोट त्यति सजिलैगरी हामीतिर सिफ्ट भएन कि, आएन कि भन्ने कुरा निर्वाचनको परिणामले देखाउँछ । यसको गहिरो विश्लेषण त पछि होला । तर, फेरि कांग्रेसको एउटा पक्षले कहीँ न कहीँ हामीलाई भोट नहाल्ने भनेको कुरा काठमाडौं आएपछि जानकारी पाएँ मैले । एउटा पक्षले माओवादीलाई भोट नहाल्नु भनेर गर्ने, अर्कोतिर हाम्रो भोट जतिसक्दो पूरै लिने । एक खालको असामञ्जस्यता जस्तो, आशंकाजस्तो उत्पन्न हुने वातावरण त बनेको छ निश्चित रूपले चुनावपछि । 

आशंका त रह्यो, तर तोकेरै भन्न सक्नुहुन्छ कांग्रेसले भोट हालेन भनेर ? 

परिणामले त्यो देखाउँछ । किनभने मत हिसाव गर्दा माओवादीले ४० जति सिटमा जित्नुपर्थ्यो । आठ ओटा हाम्रो फुत्किए पनि भन्ने थियो । हामीले व्यवहारमै विश्लेषण गरेर ४० को हाराहारीमा हामी प्रत्यक्षमा आउँछौं । समानुपातिकमा हाम्रो भोट कति आउँछ त्यो हिसावले पुरानो जुन पोजिसन थियो हाम्रो त्योभन्दा यसपटक कम हुन्न भन्ने हाम्रो आँकलन । तर, अहिले प्रत्यक्षमा झण्डै आधाभन्दा बेसीको फरक पर्‍यो । त्यो फरक मत कम भएको कारणले होइन कि मत सहज रूपले हामीतिर सिफ्ट भएन भन्ने कुरा देखिन्छ । 

किन तपाईंहरूलाई भोट सिफ्ट भएन त ? 

माथिबाट केही न केही निर्देशन गयो । शेखर–गगन समूहको तर्फबाट केही न केही निर्देशन तल गएको भन्ने बुझिन्छ । अहिले ठ्याक्कै प्रमाण त छैन । तर, घटनाहरूले त्यस्तो देखाउँछ । कांग्रेसको संस्थापन पक्षले मुलतः इमान्दारी साथ भोट हाल्ने कोशिस गरेको देखिन्छ । तर, फेरि अर्को समस्या के रहेछ भने कांग्रेस हाम्रो जस्तो क्याडरबेस पार्टी भएन । मासबेस पार्टी हो । मासमा जाँदाखेरी मासले आफ्नो किसिमले सोच्ने कुरा पनि भइहाल्यो । तर, कांग्रेसको एउटा पक्षले माओवादीलाई जानीबुझी भोट नहाल, बरु अरुसँग हातेमालो गर भन्ने दिशामा गएको हो कि भन्ने घटनाले त्यस्तो देखाउँछ । 

संसदमा नयाँ पार्टीहरूको उदय भएको छ, नयाँ पार्टीहरूको उदय हुनुलाई कसरी विश्लेषण गर्नुहुन्छ ? 

नयाँ पार्टीहरू आउने कुरा नराम्रो होइन । प्रजातन्त्रको फूलबारी हो । यसमा सबै किसिमका फूलहरू फुल्न पाउँछन् । तर, जनताले विश्वास गर्दा ति नयाँ पार्टीहरूको सिद्धान्त के हो ? राजनीति के हो ? कार्यदिशा के हो ? भोलि कहाँ लैजाने हुन् ? भन्ने कुरा हिसाव नगरीकन भोट हाल्ने जुन ट्रेण्ड देखिएको छ नेपालमा यो खतरनाक छ । किनभने हामीले उनीहरूलाई भोट हाल्ने भनेको त उनीहरूका नीति, कार्यक्रम माथि आधारित भएर हो । व्यक्तिको अनुहार हेरेर होइन । व्यक्तिको अनुहारले त धोका दिनसक्छ । लिखित प्रतिवद्धता, सिद्धान्त, राजनीति, कार्यनीति, अर्थनीति, परराष्ट्रनीति, नेपालको विकाससम्बन्धी उनीहरूको अवधारणा यी सबै कुरालाई विश्लेषण गरेर भोट हाल्नुको सट्टा नेपाली जनमानसमा सतही खालको फेसबुके विश्लेषणको आधारमा बहकिने जुन चिज देखिएको छ, यो राम्रो छैन । हामीले गर्व गथ्र्यौं, दश वर्षे जनयुद्ध, २०६२/०६३ को जनआन्दोलन देशमा आमुल परिवर्तनपछि जनताको चेतना ह्वात्तै माथि बढेको छ, भन्ने विश्लेषण हुन्थ्यो । तर अहिले के देखियो भने होइन रहेछ । हामी फेसबुकको वरिपरी नाचिरहेका छौं । फेसबुकका राम्रा कुराका वरिपरि पनि नाचिरहेका छौ‌ । नराम्रा र भ्रमपूर्ण कुराहरूको वरिपरि पनि हामी नाचिरहेका छौं । विषयको जरोसम्म पुगेर त्यो के हो भनेर पत्ता लगाएर आफ्नो अभिमत दिने भन्दापनि तत्कालिक क्षणिक आवेग, उत्तेजनामा निर्णय गर्ने कुराहरू केही मात्रामा हाबी भएको देखिन्छ । यो राम्रो कुरा होइन । जुन जनमत उनीहरूले पाएका छन् त्यो जनमत पाउनुमा हाम्रो जनमत बहकिने खालको छ, उत्तेजक नाराहरूमा केन्द्रित हुने खालको छ । र, गाली गलौजलाई मन पराउने खालको छ । घण्टी भन्नुस् वा सिके राउत भन्नुस् उहाँहरूले मतदाताहरूलाई जे विषय दिइराख्नुभएको छ त्यो पुराना पार्टी र उनीहरूका केही कमी, कमजोरीहरूको उजागर गर्ने र एकोहोरो गाली गर्ने बाहेक उहाँहरुको आफ्नो के हो ? उहाँहरु के चाहानुहुन्छ ? भन्नेकुरा उहाँहरुले भन्न सक्नुभएको छैन । यस्तो अवस्थामा जनताले उहाँहरुलाई तिरस्कार गर्नुपथ्र्यो । तिम्रो आफ्नो नीति लिएर आउ । कार्यक्रम लिएर आउ । घोषणा लिएर आउ । सिद्धान्त लिएर आउ । तिमी के हौ ? तिमी दाहिने, देब्रे, दरबारिया, कम्युनिष्ट, कांग्रेस के हौ भन्ने कुरा प्रश्न गर्नुपर्थ्याे । त्यो नगरीकन उत्तेजनामा मतदान गर्ने जुन कुरा हो । त्यो राम्रो र स्वभाविक छैन । 

गठबन्धन कायम रहन्छ रहँदैन ? गठबन्धनको सरकार बन्छ कि बन्दैन ? सरकारको नेतृत्व कसको हुन्छ ? सरकारको नेतृत्वमा दाबी छ कि छैन ? 

गठबन्धन तलमाथि पार्ने बारेमा हाम्रो बीचमा कुनै छलफल भएको छैन । गठबन्धन यथावत नै रहला भन्ने हामी अनुमान गर्नसक्छौँ । एक दुई दिनमा हाम्रो बैठक बस्ला सबै परिणाम आइसकेपछि । त्यसबारेमा गम्भिरतापूर्वक छलफल होला । गठबन्धन तलमाथि हुन्छ भन्ने त देखिन्न । तर नेतृत्वको प्रश्नमा त एकचोटी यसमा खुलेरै छलफल गर्नुपर्ने हुन्छ । किनभने मतदाताहरुको अहिले कुरा के हो भने तिमी राजनीतिक नेताहरुको जीवन सुखमय हुने । आम जनताको जिवन नबदलिने किन भयो भन्ने एउटा प्रश्न पनि हो । नयाँ पार्टीमा मत जानुको कारण के पनि हो भने जीवन बदलिएन जनताको भन्ने कुरा पनि हो । यसको निम्ति हामीले शेरबहादुरलाई प्रयोग गरेर हेर्‍याैं । शेरबहादुरबाट हुन्छ नयाँ किसिमले नेतृत्व गर्नुहुन्छ भन्ने पनि देखिन्न । कांग्रेसभित्र पनि आधा दर्जन मानिसको दाबी छ । हामीले हामी नेतृत्व गर्छौं भन्ने ठाउँमा पनि हाम्रो असाध्यै थोरै छ । यद्यपी हामी निर्णयात्मक छौं । त्यो अवस्थामा यदी हाम्रो पार्टीले नेतृत्व गर्न पाउँछ भने, चुनावमा देखिएका जनताका आक्रोशहरू छन् । आलोचनाहरू छन् । गुनासा, विरोधहरू छन् । यि सबै कुरालाई समेटेर देशको अवस्थालाई परिवर्तन गर्ने दिशामा जानको निम्ति हामी प्रतिवद्ध छौ‌ं । माओवादीसँग जनताले आशा गर्ने कुरा पनि जायज छ । जनतालाई अहिले उठेको आक्रोशलाई शान्त पार्नको निम्ति हाम्रो नेतृत्व अपरिहार्य छ । काँग्रेस बाट या अरु कसैबाट यो कुरा सम्भव छैन ।

प्रचण्डको नेतृत्वमा सरकारमा जानका लागि तपाईंहरूको दाबी हो ? 

यो त चुनाव अगाडिको पनि दाबी हो । अहिले पनि हाम्रो दाबी रहन्छ । तर, हाम्रो दाबी यो हदसम्म हुन्न कि हामीले नेतृत्व पाए हुन्छ नत्र हुन्न भन्ने तहसम्म जान्न । किनभने नेपालजस्तो गरिव देशले तुरुन्तै अर्को मध्यावधि चुनाव घोषणा गर्न सम्भव छैन । त्यसैले अहिले आएको परिणामलाई जोगाएर हामी सरकार सञ्चालनमा, सरकार निर्माणमा त केन्द्रित हुनुपर्छ । तर यो कुरा सत्य हो, यो कुरा हामीले जनतालाई पनि भन्नुपर्छ कि माओवादीले कमसेकम १०÷१५ वर्ष नेतृत्व गर्न पायो र उसले देशको, जनताको जीवनको परिवर्तन गरेन भने बल्ल तपाईहरू माओवादीलाई डस्टबिनमा फाल्नुहोस् । हामी त्यो सजाय भोग्न तयार छौं । तर माओवादीको राम्रोगरी प्रयोग नै भएको छैन सत्ताको सन्दर्भमा र जुन आक्रोश छ जनताको, जनताको आक्रोश जायज छ । तर यो कुरा सँगसँगै बुझ्नुपर्‍यो कि माओवादीले नेतृत्व गर्न पाएको छ कि छैन ? भन्ने कुरा हेक्का राखिदिनुपर्‍यो जनताले भन्ने कुरा हो मेरो । 

संसदीय अंक गणितमा नेपाली कांग्रेस बाहेकको सरकार हुने भयो भने तपाईहरु नेकपा (एमाले)सँग सत्ता सहकार्य गर्न तयार हो कि होइन ? 

अहिले नै हामीले त्यसबारेमा कुनै निर्णय गरेका छैनौं । आज देशमा जुन अवस्था आएको छ, नयाँ शक्तिहरू सल्बलाएका छन् । परिवर्तन विरोधी शक्तिहरू, गणतन्त्र मन नपराउनेहरू, संघीयता मन नपराउनेहरू सल्बलाइरहेका छन् । जुन नेपाली समाजमा आशंकाहरू उत्पन्न भएका छन् । त्यसको पछाडिको कारक तत्व त फेरि केपी ओली हो । उहाँलाई दुई तिहाइ बहुमतसहितको प्रधानमन्त्री हामीले बनाएका हौं । त्यसलाई लगेर उहाँले विघटनमा हालिदिनु भयो । पार्टी विभाजनमा हालिदिनु भयो । त्यसकारण अहिलेको सन्दर्भमा फेरि उहाँसँग सहकार्य गरेर जान्छौं कि जान्नौं भन्ने बारेमा त यो पार्टी भित्रको छलफल, बहस र प्रस्तावको विषय हुनसक्छ । हुँदै हुन्न भन्नेकुरा पनि भएन । एउटा छलफलको विषय हुनसक्छ, तर आजसम्म पार्टीको जुन स्प्रिट छ, निर्णय छ, यसले ओलीसँग एकता गरेर जान दिन्न । 

संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी बलियो शक्ति, निर्णायक शक्तिको रुपमा आएको देखिन्छ, यसलाई कसरी बुझ्ने ? 

राप्रपा आउनुको पछाडि त म ओलीजीलाई जोड्छु । यतिका सिट लिएर राप्रपा सदनभित्र आउनुको पछाडि ओलीजीले जुन काँधमा बोकेर हिँड्नुभयो राप्रपालाई । राजेन्द्र लिङदेन र कमल थापालाई बोकेर हिँड्नुभयो । त्यसमध्येका केही मान्छेहरू छचल्किएर आएका हुन् । आफ्नो तागत, आफ्नो बलबुताबाट आएका होइनन् । ओलीजीले यसको जिम्मा लिनुपर्छ । फेरि गणतन्त्र, संघीयता, धर्म निरपेक्षताले जुन खालको जनतालाई डेलिभरी दिनुपर्थ्याे, जनताको जीवनमा परिवर्तन हुनुपर्‍यो भन्ने जनताको माग जायज छ । तर, यसो हुन नसक्नुको कारण गणतन्त्र, धर्मनिरपेक्षता, सहभागितामूलक र समानुपातिक राज्य व्यवस्था हो । केही ठालुहरूले मात्रै शासन गर्न पाउनुपर्थ्याे । दलित, जनजाति आदि इत्यादिलाई ल्याएर बिग्रियो वा संघीयतामा गएर बिग्रियो भन्ने कुरा बेठिक हो । जनतालाई डेलिभरी दिन ग्याप भएको । अलिकति परम्परागत किसिमले हामी चलेको । पुराना बन्धनहरूलाई तोडेर नयाँ किसिमले जान नसकेको कुरा साँचो हो । त्यसो भएको हुनाले जनताको गुनासाहरू साँचो हुन् । तर, परिवर्तन विरोधी शक्तिको हाबी भइराखेका छन् । त्यो त केपी ओलीले बोकेर ल्याउनुभएको हो । त्यसो उहाँले किन गर्नुभयो । त्यसको जवाफ त उहाँले नै दिनुहोला । मुलरूपमा जे जति शक्तिमा उनीहरू आएपनि यसको सुन्दरता नै यही हो । हिजो राजाका विरुद्ध एउटा नारा लगाउँदाखेरी कयौं पटक गिरफ्तार हुने, जेल पर्ने मान्छे हामी हौं । सारा देशका हजारौं मान्छेहरू हुन् । राजतन्त्रको विरुद्ध बोल्नुपर्दा मर्नुपर्ने हाम्रा कयौं साथीहरू हुन् । तर, आज राजतन्त्रवादीहरूले के बुझ्नुपर्छ भने यो यस्तो व्यवस्था हो जहाँ आएर राजा पनि माग्न पाइन्छ । 

सुदूरपश्चिम प्रदेशमा (माओवादी केन्द्र) क्लिनस्वीप भयो, मधेस प्रदेशमा एक सिट मात्रै आयो, सुदूरपश्चिम र मधेस प्रदेशमा पार्टी किन कमजोर ? 

नढाँटीकन भन्दा यो कुरा बाहिर मिडियामा पनि आएको छ । मधेसमा विभिन्न गुटहरुको पार्टी भित्रमै खुट्टा तानातानले त्यहाँ पुर्‍याएको भन्ने एउटा तर्क छ । माओवादीलाई भोट नहाल भन्ने कांग्रेसभित्रको एउटा पाटोले पनि त्यहाँ काम गर्‍यो भन्ने देखिन्छ । त्यहाँ हाम्रो पार्टी सुव्यवस्थित रूपमा नचलेको । किनभने सबभन्दा धेरै उत्पीडन भएको ठाउँ मधेश हो । गरिव र धनीको धेरै ठूलो खाडल भएको ठाउँ पनि मधेश हो । त्यसो हुँदा सबैभन्दा बलियो कम्युनिष्ट पार्टी निर्माण हुनसक्ने ठाउँ मधेश हो । तर, त्यहाँ आपसी मनमुटावहरू एकातिर । अर्कोतिर का‌ंग्रेसको एउटा पाटोले भोट नहाल माओवादीलाई भन्ने सन्देशको प्रभाव यी सबै कारणले त्यहाँको अवस्था त्यस्तो भएको हो । सुदूरपश्चिममा, हाम्रो पार्टीले पाँच वर्ष त्यहाँ सरकार सञ्चालन गर्दाखेरी कति राम्रो कति नराम्रो गर्‍यो मसिनो गरी मैले बुझेको छैन । तर‍, जनअपेक्षा अनुसार त्यहाँ काम हुन सकेन । परम्परागत रूपले नियमअनुसार त काम भयो तर जनअपेक्षा अनुसारका केही कामहरू हामीले शुरुवात गरिदिनुपर्‍थ्याे । त्यो काम गर्न नसक्नुको परिणाम सुदूरपश्चिमको होला । सुदूरपश्चिमको पार्टीको आन्तरिक मामिला सबै मैले मसिनोगरी बुझेको छैन । तर यो दुर्भाग्यपूर्ण छ । सुदूरपश्चिम हाम्रो आधार हो । त्यहाँ हामीले पाँच वर्ष सरकार सञ्चालन गर्‍याैं । तर, परिणाम आउँदा जिरोमा आउने वा मधेश जहाँ वर्ग संघर्षको केन्द्र हुनसक्छ । आजको सन्दर्भमा नेपालमा कम्युनिष्ट पार्टी सबभन्दा बलियो हुने ठाउँ त्यहाँ हो । त्यहाँ हाम्रो उपस्थिति कमजोर हुने कुरा दुर्भाग्यपूर्ण छ । 

संसदमा प्रतिनिधित्व गर्ने दलहरूको संख्याका कारण संसदमा अस्थिरता आउने हो कि भन्ने आशंकाहरू उब्जिएको विश्लेषण सुनिन्छ, यहाँको भनाई के छ ? संसदको अहिलेको अंक गणितले यसको पूर्ण कार्यकालमा कस्तो असर पार्ला ? 

पुरानो पाँच दलीय गठबन्धनले निरन्तरता पायो र सरकार निर्माणमा गयो भने यो पाँच वर्ष जान्छ । पाँच वर्ष जाने भनेको एकै जनाको नेतृत्वमा नभएर दलहरूको बीचमा केही समय नेतृत्व परिवर्तन गरेर भएपनि पाँचै वर्ष जान्छ र जानुपर्छ । नेपालजस्तो देशले हरेक वर्ष मध्यावधि चुनाव गरेर खर्बौं रूपैयाँको व्ययभार व्यहोर्न सक्दैन । त्यसकारण पनि यसलाई पाँच वर्ष लैजानुपर्छ । धेरै पार्टीको उपस्थितिले राम्रै पनि गर्नसक्ला । सबैको उपस्थितिले सकारात्मक विषयहरू, जनताका विषयहरू सदनभित्र उठ्छन् । जनताको संसदप्रतिको आशा बढेर जानपनि सक्ला । त्यो लडाईंमा हामीले आफूलाई सही साबित गर्ने चुनौती त छँदैछ । तर, गठबन्धन राम्रोगरी नहुने, दलहरूभित्र आपसी खिचातानी तीव्र हुने, दलहरू अझ थप विभाजित हुँदै जाने र देश अझ अन्यौलता, अस्थिरतातिर जाने पनि हुनसक्छ । त्यसो हुन नदिनका लागि हाम्रो पार्टी निश्चितरूपले प्रतिवद्ध छ । हामीले हाम्रो पार्टीको हीतको कारणले सदनलाई तलमाथि हुन दिने र तुरुन्तै मध्यावधिमा देशलाई धकेल्ने दिशामा जाँदैनौं । त्यसप्रति हामी प्रतिवद्ध छौं । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [1]
User Image

ninam kulung

[Nov 28, 2022 08:14am]

होइन आचार्य ज्यु, घाँटी कत्रो छ ? निल्न सकिन्छ त प्रधानमन्त्री...प्र. र सपा. गरेर लगभग 33, 34 सिटले प्रधानमन्त्री...हैट ?



   

TVCNepali Patro