ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

कुर्सीशास्त्रकी जय !

२०७९ मंसिर, १६  
तीतो मीठो
Tvs Raider
author avatar मदन लम्साल

शस्त्र ठूलो कि शास्त्र ? पक्कै पनि शास्त्र ठूलो । अनि शास्त्रहरूमा सर्वोपरि कुन ? त्यो त कुर्सीशास्त्र नै हो भन्नेमा ऋषिमुनिदेखि सिसिमुनिसम्म सबैले मानेका छन् । त्यसैले कुर्सीशास्त्रका अगाडि बाँकी सबै शास्त्र बेकार हुन् । कुर्सी शास्त्र अनादि छ, न त यसको अन्त्य नै छ । केवल यसको स्वरूप मात्र परिवर्तन भइरहन्छ । उहिले सिंंहासन भन्थे, अलि पछि गद्दी भन्न थाले, अचेल कुर्सी भन्न थालेका छन् ।

कुर्सीशास्त्रका अनुसार चम्चाहरूको पालनपोषण र जनताहरूको दमन यी दुवै काम राजाहरूको ऊर्फ लोकतन्त्रका नेताहरूको परम धर्म हो । यी दुवै अनीतिविना कुर्सी ज्ञान प्राप्त हुनै सक्तैन ।

फेरि कुर्सीशास्त्र पनि फरक फरक छन् । आशा देखाएर कुर्सी कब्जा गर्ने कुर्सीशास्त्र, तमासा देखाएर कुर्सी पाउने कुर्सीशास्त्र अनि तर्साएर कुर्सी पाउने कुुर्सीशास्त्र । त्यसैले सबै खालका कुर्सीशास्त्रको सार हाम्रा पूर्वजहरूले एउटा श्लोकमै निकालेका छन्–

सत्याऽनृता च परुषा प्रियवादिनी च
हिंसा दयालुरपि चार्थपरा वदान्या ।
नित्यव्यया प्रचुरनित्य धनागमा च
वाराङ्गनेव नृपनीति अनेक रूपा ।।

अर्थात् कहिले सत्य बोल्ने र कहिले झुटो बोल्ने, कहिले कठोर र कहिले मधुर बोल्ने, कहिले हिंस्रक् र कहिले दयालु हुने, कहिले धनलोलुप कहिले उदार हुने, कहिले टन्न कमाएर सञ्चय गर्ने र कहिले अत्यधिक खर्च पनि गर्ने वेश्यारूपी राजनीतिका पनि अनेक रूप हुन्छन् भनेर नीतिशास्त्रमा लेखैकै छ । के उहिले के अहिले राजनीति त उस्तै हुँदो रहेछ त । अनि घोर कलिमा छलीहरू राजनीतिमा ढलीमली भएपछि कुर्सीशास्त्रको महत्त्व अझ बढ्ने रहेछ ।

विद्या, सुन्दरता, धन, यौवन, बल, बुद्धिका लागि मानिसहरू जीवनपर्यन्त संघर्ष गर्छन् । तर कुर्सी प्राप्त भएपछि ती सबै एकैचोटि पाइन्छन् । अनि सबै चीज पाइने यो कुर्सीशास्त्रभन्दा ठूलो शास्त्र अरू के होला र ?

अरू शास्त्रले अरूको भलो चिताउँछ, स्वार्थभन्दा परमार्थ ठूलो भन्छ । आफू पनि बाँच, अरूलाई पनि बचाऊ भन्छ । तर, कुर्सीशास्त्रले आफू र आफन्त नै सर्वस्व हुन् भन्छ । पौरख र पुरुषार्थ भनेको कुर्सी प्राप्ति हो भन्छ । कुर्सी भएपछि इहलोक र परलोक दुवै सप्रिन्छ भन्ने दार्शनिक निष्कर्ष निकालिन्छ ।

चम्चाहरूका उपकारक तथा समाजमा स्वयंलाई सुरक्षित र सुखी राख्ने कुर्सीशास्त्री नै सर्वाधिक महान् हुन्छ । कुर्सीआकांक्षी जीवहरूले के बुझेका हुन्छन् भने कुर्सीशास्त्रमा पारंगत नै कुर्सीअधिपति हुन्छ र कुर्सीअधिपति भएपछि अधर्म, अन्याय, अत्याचार, अनाचार आदिले मात्रै मोक्ष दिलाउँछ भनेर कुर्सीशास्त्रमा लेखिएको छ ।

यसरी राजनीतिक दलका नेता मात्र होइन, निजी, सरकारी, गैरसरकारी सबै क्षेत्रमा, एनजीओहरूमा र मठमन्दिरहरूमा समेत कुर्सीशास्त्रको नै बोलवाला छ ।

कुर्सीशास्त्रमा अघि बढेसि सारा ज्ञान र विज्ञान पढ्नै पर्दैन । इतिहासले के मान्छ होइन, कुर्सीअधिपतिले के भन्छ, त्यो चाहिँ महत्त्वपूर्ण हुन्छ, आफूलाई बौद्धिक भनाउनेहरू समेत त्यसैमा भुल्छन् । कुर्सीशास्त्रको मूलमन्त्र अनीतिमा आधारित छ र कुर्सीशास्त्रको जस्तो अनीति तीनै लोकमा कहीँ पनि छैन । देवाधिदेव महादेवले पनि यो कुर्सीशास्त्रको महिमा जान्न सकेका छैनन् भने तपाईं हामी साधारण मनुवाले के जान्न सक्नु र ?

यो सिक्न र व्यवहारमा उतार्न धेरै लर्निङ र अनलर्निङ पनि गर्नुपर्छ, अनि मात्रै अर्निङ हुन्छ । परिआएमा चरम निर्दयी हुन पनि सक्नुपर्छ, तर बाहिर भने भने सहृदयी देखिन सक्नुपर्छ । फूल बोकेका हातमा बम पनि हुन सक्छ । फूल दिएँ भनेर शूल दिन सक्नुपर्छ । सहयोग दिएको हो कि लिएको हो, थाहा पाउन नसक्ने गरी काम गर्नु नै कुर्सीशास्त्रीको सामर्थ्य हो ।

कुर्सीमा बसेपछि आफन्त भनाउँदाको पनि गला रेट्न तयार हुनुपर्छ, बडो माया गरेझैं गरेर सिध्याउने कला पनि हुनुपर्छ । अरू सोझासाझा सर्वसाधारणको त कुरै छोडौं । सत्यलाई पूरै असत्य सावित गरेर झूठलाई अन्तिम सत्य सावित गर्न सक्नुपर्छ । त्यसो नगरे आफूले सार्वजनिक रूपमा गरेका वाचाहरूको फन्दामा आफै फसिन्छ । कुर्सीमा बसेका बेला भए फन्दा पनि चन्दा पो बन्न सक्छ । कुर्सीशास्त्र गोएबल्स र मेकियाभेल्लीका शास्त्रमा लेखिएभन्दा पनि निकै फरक हो ।

अत: समस्त कुर्सीआकांक्षी जीवहरूले कुर्सीशास्त्रका बारेमा आरम्भदेखि नै सांगोपांग अध्ययन–अध्यापन गर्नु आजको आवश्यकता हो ।

कुर्सीशास्त्रका अनुसार चम्चाहरूको पालनपोषण र जनताहरूको दमन यी दुवै काम राजाहरूको ऊर्फ लोकतन्त्रका नेताहरूको परम धर्म हो । यी दुवै अनीतिविना कुर्सी ज्ञान प्राप्त हुनै सक्तैन । नीतिरहित हुनु र अनैतिक रहनु नै मन्त्रीहरूको तथा ठूलो पदमा पुग्नेहरूको महान् धर्म हुन्छ । त्यसैले त आफ्नै निर्वाचन क्षेत्रमा पराजित मन्त्रीहरू निर्धक्क कुर्सीमा टाँसिइरहेका छन् र सिंहदरबारमा गएर हैकम चलाइरहेका छन् । कुर्सीशास्त्रले यसै गर्नु जो भनेको छ । फेभिकोल लगाएर कुर्सीमा टाँसिन सक्ने तुल्याउनु नै कुर्सीशास्त्रको भित्री मर्म हो । धर्म न अधर्म, नीति र अनीति, कर्म न कुकर्म, जे जस्तो गरेर हुन्छ, कुर्सी प्राप्त गर्नु र पाएको कुर्सी दरसन्तानका लागि जोगाउन सक्नु कुर्सीविज्ञहरूको काम हो ।  

जुन नेतासँग अधर्म, अन्याय र अवसरवाद जस्ता तत्त्वको पवित्र गठबन्धन हुन्छ, उसलाई नै मन्त्री, मुख्यमन्त्री, अध्यक्ष, सीईओ आदि पदले बोलाइरहेका हुन्छन् । दलबदल र गठबन्धन, ठगबन्धन तथा अवसरवादिता कुर्सीशास्त्र अनुसार महाधर्म हो, जसलाई पालना गर्नेहरू जिउँदै स्वर्ग भोग्न पाउँछन् ।

कुर्सीशास्त्र अनुसार नेता, मन्त्री तथा अन्य उच्च पदाधिकारीका लागि घमण्ड, पाखण्ड र धुत्र्याइँजस्ता गुणले सम्पन्न हुनु परम आवश्यक हुन्छ । अनीतिको मूल नै घमण्ड र पाखण्ड हो । चम्चाहरूमा निश्चय, आस्था एवं विश्वास हुनुको मुख्य कारण नै नेताजीको दम्भ हो । चम्चाहरूका बलमा पाखण्डको प्रतिष्ठा हुन्छ । अत: चम्चाहरूलाई यथोचित समिति, बोर्ड, संस्थान, परिषद्, कोष, मण्डल आदिका झुन्डिरहेका कुर्सीमा झुन्ड्याइरहनुपर्छ । उपचम्चाहरूलाई पनि कुनै न कुनै आयोग–नियोग, निगम, कमिटी–समिति, मण्डल–सण्डल आदिमा सेट गर्दिनुपर्ने हुन्छ । यति गर्देपछि घमण्ड र पाखण्डका मूल शत्रुहरूमाथि विजय प्राप्त हुन्छ । यसरी व्यवस्था गरिएका चम्चाहरूको मण्डलले कुर्सीधारीका लागि रक्षामण्डलको काम गर्छन् ।

त्यसैले, कुर्सी रक्षाका खातिर बेला न कुबेला झुठा आश्वासन र उखान–टुक्काहरूको वर्षा गरिरहौं । गठबन्धन जोडौं, तोडौं, मोडौं र फेरि फोडौं । चरम अवसरवादी महागठबन्धन गरौं । तब मात्र कुर्सीजीवी समस्त सुखका स्वामी बनेर बेला बेलामा मन्त्री, मुख्यमन्त्री, प्रधानमन्त्री बनेर कुर्सीपति नै बनिरहन सफल भईुन्छ । त्यसपछि मात्र सृष्टिको प्रत्येक भोगका लागि आदि–अनन्त स्वामी नै बनिरहन सकिन्छ । त्यसैले सबै मिलेर भनौं, कुर्सीशास्त्रकी जय !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro