नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले नेपाली नेताहरूलाई मागेर खानेहरू भनेछन् । धेरै मानिसले यसलाई गाली गरेको भन्ठानेछन् । वास्तवमा जोशीले नेताहरूलाई गाली नगरी उनीहरूको तारीफ पो गरेका हुन् ।
अहिलेको विश्वमा जसले जति धेरै माग्न सक्छ उति ठूलो कहलिन्छ । जस्तै चीनले मात्र विभिन्न देशबाट वार्षिक झन्डै २ अर्ब ५० करोड वैदेशिक सहायता लिइरहेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भनिए पनि चीनले आफू अहिले पनि गरीब र विकासोन्मुख देश भएको बताउँदै अरू देशबाट पैसा सहायता माग गरिरहेको छ ।
विश्वका सबैभन्दा धनीमध्ये एक दाबी गर्ने अमेरिकाकै कुरा गरौं न । ऊ सबैलाई ऋण र दान बाँड्ने धक्कु लगाउँछ । तर, उसले विश्व बैंकलगायतका अन्तरराष्ट्रिय संगठन र जापान तथा चीनजस्ता देशबाट पनि तिर्छु भनेर मागेको खर्बौं डलर कहिले तिरिसक्ला भन्ने टुंगो छैन । यस मानेमा सबैभन्दा ठूलो माग्ने त अमेरिका नै हो भन्न सकिन्छ ।
त्यसैले अहिलेको समय भनेकै माग्नेहरूको हो । जति धेरै माग्न सक्यो उति ठूलो र प्रतिष्ठित । उदाहरणका लागि सबैभन्दा ठूलो दल बन्न सफल भएको माओवादीले शिक्षकदेखि व्यापारी, सासूदेखि बुहारी, सक्ने वा नसक्ने कोसँग मागेन ? कांग्रेस, एमाले, मधेशी दलले उसको जति माग्न सकेनन् । त्यसैले उनीहरू सानै दल हुन बाध्य रहे ।
(तीतोमीठोबाट)
वर्ष ५, अंक २५, शुक्रवार, १५ असोज, २०६७