चिनियाँ मुद्रा युआनलाई अस्वाभाविक रूपमा नियन्त्रण गरेको आरोपविरुद्ध अमेरिकी कांग्रेसले पारित गरेको कानुनको चीनले प्रतिवाद गरेको छ । उसले यस्तो दबाबले व्यापारिक सम्बन्धलाई गम्भीर ढंगले बिगार्ने चेतावनी दिएको छ ।
बेइजिङले अमेरिकी कांग्रेसले पारित गरेका कानुनले विश्व व्यापार संगठनका नियमहरू पनि उल्लंघन गरेको बताएको छ । चीनले जानाजान आफ्नो देशको युआनको कम मूल्यांकन नगरेको दाबी गरेको छ ।
अमेरिकी सभासद्हरूले चीनले युआनलाई अमेरिकी डलरको तुलनामा कृत्रिम रूपमा सस्तो बनाएर आफ्ना निर्यातकर्तालाई गलत रूपमा फाइदा दिएको र अमेरिकामा रोजगारी कटौती गराएको आरोप लगाएका छन् ।
‘हामी अमेरिकी कांग्रेसको उक्त विधेयक पारित गर्ने कार्यको कडा रूपमा विरोध गर्छौं,’ चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता जियाङ युले पत्रकारसँग भनिन् ।
युआनको विनिमयदरको विषयलाई लिएर चीनविरुद्ध गरिएको संरक्षणवादले दुई देशको व्यापार र आर्थिक सम्बन्ध गम्भीर ढंगले बिग्रने र यसको असर दुई देशको अर्थतन्त्र र विश्वको अर्थतन्त्र नकारात्मक हुने चीनको चेतावनी छ ।
चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता यो जिआनले अमेरिकी कानुन वर्तमान विश्व व्यापार संगठनका नियमहरूसँग मेल नखाने प्रतिक्रिया दिएका छन् ।
अमेरिकी संसद्मा पारित विधेयकले चीनको मुद्रा नीतिलाई व्यापारमा दिएको अनुचित अनुदानको संज्ञा दिएको छ । यसले अमेरिकी वाणिज्य विभागलाई चिनियाँ वस्तुमा भन्सार लगाउन अनुमति दिएको छ ।
वर्ष ५, अंक २५, शुक्रवार, १५ असोज, २०६७