ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

नेपालमा बुबाको पद पछ्याउँदै टोनी हेगनकी छोरी - 'प्रकृतिले नै वरदान स्वरुप दिएको देश हो नेपाल'

२०७९ मंसिर, १९  
समाचार
Tvs Raider Image Not Found

काठमाडौं । मङ्सिर ४ को चुनावको पाँच दिनअघि काठमाडौँको एक होटलमा भेट्दा डा क्याट्रिन रोल्पा जाने तयारीमा थिइन् ।

यसपालि पनि उनको उही काम थियो निःशुल्क स्वास्थ्य शिविर । हाडजोर्नीसम्बन्धी विशेषज्ञ ७४ वर्षीया उनी बर्सेनि नेपाल आउँछन्, यहाँका कुनाकन्दरामा पुग्छन्, स्वास्थ्य शिविर राख्छन् र विशेषगरी उनको विशेषज्ञताको हाडजोर्नीसम्बन्धी निःशुल्क उपचार दिन्छन् । 

नेपाल कति पटक आउनुभयो ? हाम्रो प्रश्नमा उनको जवाफ थियो, ‘गन्ती गरेको छैन, खोइ थाहा छैन । त्यस्तै ४० पटकभन्दा बढी त भयो होला ।’

यस वर्ष उनी नेपाल आएको यो तेस्रो पटक हो । पछिल्लो समय बुबाको नेपाल चिनाउने काम, नेपालका दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क उपचार अनि समय भएमा पदयात्राका लागि नेपाल आइरहेको उनले बताइन् । 
चार वर्षकी हुँदा सन् १९५२ मा उनी आफ्ना बुबासँग नेपाल आएकी थिइन् । उनलाई त्यसको धेरै सम्झना छैन ।

उनलाई यति मात्र याद छ – ‘त्यतिबेला नेपालमा विमानस्थल थिएन । कताकति मात्र शौचालय थिए । बडो कठिन थियो यहाँको यातायात र नेपालीको जीवनशैली पनि ।’ 
उनका बुबाअर्थात् टोनी हेगन । नेपाललाई संसारमा चिनाएको यो नामलाई सायद नेपालमा चिनाइरहनु पर्दैन होला । 

टोनी हेगन सम्भवतः नेपालकै पहिलो पर्यटकका रुपमा सन् १९५० मा यहाँ आएका थिए । नेपालमा विमानस्थल नभएकाले उनी कलकत्तासम्म जहाजमा आएर नेपाल आएका थिए ।
त्यसपछि आफूलाई नेपालको सौन्दर्यले तानेको कुरा उनले नेपाललाई भन्दा बाहिरको संसारलाई बढी सुनाएका छन् । प्रायः यहाँकै हिमाल, पहाड र खोल्सातिर भेटिने टोनीले औषत नेपालीले भन्दा धेरै नेपाल घुमेका छन् । उनलाई नेपालको पहिलो र सर्वाधिक पदयात्रा गरेको विदेशीभन्दा गल्ती हुँदैन ।  

सन् १९५० मा स्वीस् सहयोग परियोजनाका क्रममा नेपाल आएका उनी नेपालको भूगोल र सौन्दर्यसँग नेपालीभन्दा नजिक रहेर लामै समय काम गरे । नेपालको करिब १४ हजार किलोमिटर पैदलैयात्रा गरेका हेगनले नेपालमा सम्भवत सबै पर्यटकभन्दा बढी पैदल यात्रा गरेका छन् । नेपालको भौगोलिक अवस्था एवं हिमालयन क्षेत्रको जैविक विविधताका साथै नेपाली जीवनशैली, परम्परा एवं यहाँको जातीय विविधतालाई उनले नेपाल बाहिरसम्म पुर्‍याएका थिए । 

नेपाली पर्यटन क्षेत्रले सम्मान गर्ने उनले तयार गरेको ‘नेपाल’ नामक पुस्तकले नेपालको भौगोलिक, पर्यटकीय र अनेक जीवनशैलीका बहुआयामिक पक्षलाई समेट्छ । उनले हाम्रो हिमाल र हिमाली पर्यटकीय विशेषताका साथै अनेक सांस्कृतिक पक्षलाई समेटेर तयार गरेका वृत्तचित्रले नेपाल बाहिर नेपाल चिनाउन निकै सघाएको छ । उनका यिनै योगदानका कारण नेपालले उनलाई नेपालको मानार्थ नागरिकता प्रदान गरेको थियो । 

आधा जति बुबाको नेपाल प्रेमलाई उजागर गर्न र आधा आफैले स्वास्थ्योपचार उपलब्ध गराउन आफू नेपाल आउने गरेको क्याट्रिन हेगन बताउछन् । 
हाडजोर्नीकी सर्जन उनले स्वीट्जरल्याण्डमा खोलेको टोनी हेगन फाउन्डेसनले नेपालमा मात्र काम गर्छ । ‘बुबाले माया गरेको र बुबालाई सम्मान गरेको देश नेपाल । मलाई वर्षमा एक पटक मात्र यहाँ आएर पुग्दैन, आइरहन मन लाग्छ’, क्याटरिनले भनिन् । 

उनी नेपालका कैयौँ जिल्लामा स्वास्थ्य शिविर राख्ने, असहाय तथा स्वास्थ्योपचारको पहुँचसम्म पुग्न नसक्ने दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क स्वस्थ्य सेवा उपलब्ध गराउने गर्छन् । 

नेपालका लागि बुबाले गरेका कामलाई पूर्णता दिनु नै आफ्नो काम र धर्म ठान्छन् डा क्याट्रिन । ‘नेपालका बारेमा बुबाका धेरै अनुसन्धान छन् तिनलाई अझै धेरै विस्तार गर्ने मेरो सोच छ । फाउन्डेसनबाट तिनलाई पूर्णता दिन्छु । टोनीले नेपालमा खिचेका तस्बीरको प्रदर्शनी फाउन्डेसनले गत वर्ष नेपालमा गरेको थियो । नेपालमा उनका कामकारबाहीलाई उजागर गर्न यतिले मात्र पुग्दैन भन्ने लाग्छ । उनका सङ्ग्रह अध्ययन गर्दा नेपालको पर्यटकीय विकासका लागि भावी दिनमा धेरै सहयोग पुग्ने मलाई लाग्छ’, उनले भनिन् ।  

नेपाल चिनाउन अहिले कतैकतै प्रयोगमा आउने पुराना तस्वीर एवं दृश्यहरु प्रायः टोनीकै नेपाल पुस्तक एवं डकुमेन्ट्रीबाट लिइएको पाइन्छ । क्याट्रिन भन्छन्, ‘महत्वपूर्ण तस्वीरहरू छन् नेपालको हिमाली तथा अन्य क्षेत्रका । ग्ल्यासिएरहरू पग्लिँदै गरेका कैयौँ महत्वपूर्ण तस्वीरहरू उनको एल्बममा छन्, तिनको अध्ययन मात्र पनि नेपालमा जलवायु परिवर्तनको विषयका अनुसन्धानदातालाई सहयोग पुग्छ भन्ने मलाई लाग्दछ । 

उबेलाका कतिपय हिमाली टाकुरा, हिमनदी तथा हिमताल अहिले पग्लिएर अर्कै स्वरुपमा परिवर्तन आएको पनि हुनसक्छ । यसबाट हिमालयन जैविक विविधताको अध्ययनमा सहयोग पुग्न सक्छ । यस्तै पक्षहरूलाई उजागर गर्ने काम हामीले गरिरहेका छौँ । उनले लिएका नेपालका विविध क्षेत्र र शैलीका तस्वीरहरूको प्रदर्शनी पनि नेपालमा गरेका थियौँ । यसबाट पनि नेपालका अनुसन्धानदातालाई उहिलेको नेपाल अध्ययनमा सहयोग पुग्नसक्छ ।’

बुबाजस्तै उनले पनि नेपालका अधिकांश पदमात्रामा यात्रा गरेकि छन् । नेपालको हिमाल, पहाड र तराईको सबै ज्ञान छ उनलाई । ‘पदयात्रा भनेको हिँडाइ मात्र नभएर त्यस क्षेत्रको समग्र अध्ययन हो । कुनै पनि पदमार्गबाट हामी हिँड्यौं भने हामीले त्यस क्षेत्रको खेतीबाली, मानिसको जीवनशैली तथा त्यहाँको बस्ती र उनीहरूका परम्पराको पनि अध्ययन गर्नसक्छौँ । साथै मानिसको खानपान र उनीहरूका दैनिकीको बारेमा अनुसन्धान निकै चाखलाग्दो विषय हो । नेपालका विविध क्षेत्रको भ्रमणका क्रममा मलाई त यस्ता विषयको अनुसन्धान गर्न मनपर्छ’, उनले सुनाइन् ।

टोनीलाई नेपाल बहुजाति, बहुधर्म र संस्कृति भएर पनि कसरी मिलेर बसेको भन्ने बारेमा आश्चर्य लाग्थ्यो रे । बुबासँग आफूले नेपालका बारेमा धेरै सुनेको र जानेको बताउँदै उनले नेपालको जातीय तथा भौगोलिक विविधताका बीचमा पनि नेपाली नागरिक एकापसमा सहयोगी भावनाका साथ मिलेर बसेको पक्षको सधैँ प्रशंसा गर्ने गरेको बताइन् ।

‘त्यसैले मलाई पनि नेपालको यो पक्षको अध्ययन खुब मन पर्छ । म पदयात्रामा जाँदा होस् या स्वास्थ्य शिविरका क्रममा नेपालाका विभिन्न जिल्लामा जाँदा यस विषयमा जान्न मनपर्छ ।’ उनले भनिन् । 

उनी चिकित्सक भएर होला उनलाई अर्गानिक कृषि उत्पादन मनपर्छ । स्वीट्जरल्याण्ड आफ्नो घरमा पनि आफू अर्गानिक तरकारी खेती गर्ने क्याट्रिन बताउँछन् । नेपालका विभिन्न क्षेत्रमा पदयात्रामा जाँदा पनि उनले त्यस क्षेत्रका अर्गानिक उत्पादन किन्ने गर्छन् । 

‘पदयात्रा शारीरिक तन्दुरुस्ती, नयाँ ठाउँको परिचय र मनोञ्जन हो । तर, त्यतिमात्र होइन पदयात्रा । पदयात्राभित्र लुकेको मेरो एउटा उद्देश्य त्यहाँका अर्गानिक कृषिउपज खाने र आफूले किनेर पनि ल्याउने हो । ती उत्पादन मैले किनीदिन्छु र किसानलाई अर्गानिक खानाको महत्वका बारेमा पनि भनिदिन्छु । त्यसपछि म अर्को पटक त्यही ठाउँमा पुग्दा त्यहाँ धेरै उत्पादन गरेको पाउँछु, त्यो देखेर निकै खुसी लाग्छ’, क्याट्रिनले भनिन् ।  

नेपालका हिमाल पहाडका स्वच्छ ठाउँमा समेत प्लास्टिक फालेको देख्दा उनलाई साह्रै नराम्रो लाग्छ । पदयात्राका क्रममा पनि कतै प्लास्टिकका बोटल, झोला आदि फालिएको देख्ने बताउँदै उनले अर्गानिक उत्पादन गर्न सकिने माटोलाई प्लास्टिकले धेरै बिगार्नेहुँदा देशलाई प्लास्टिकमुक्त गराउनुपर्ने सुझाव दिन्छन् । 

कुनै पदयात्रा होस् या पर्यटकीय क्षेत्र, त्यहाँका स्थानीयको संलग्नता होस र उनीहरूलाई प्रत्यक्ष लाभ पुगोस् भन्ने उनको चाहना छ ।

‘हुम्ला, मानसरोवरमा मैले एकपटक देखें कि विदेशी पर्यटक हेलिकप्टरमा आए र गए । स्थानीयले के पाए त ? यस्ता पर्यटक पुग्ने स्थानमा पूर्वाधार निर्माण होउन्, त्यहीँका स्थानीयको संलग्नता होस् र उनीहरूका स्थानीय उपज खपत हुन् । पर्यटनको दिगो विकास भनेको यही हो । स्थानीयको सहभागिता र उनीहरूले पाउन सक्ने लाभ बिना पर्यटनमात्र होइन कुनै पनि क्षेत्रको दिगो विकास सम्भव छैन । विकास त होला कुनै निश्चित समयावधिमा, तर त्यसको दिगोपना हुँदैन’, उनले भनिन् ।   

नेपाल धेरै परिवर्तन भएको देख्दा आफूलाई निकै खुसी लाग्ने उनी बताउँछन् । पहिले बुबासँग नेपाल आउँदा देखेको नेपाल अहिले देख्दा अचम्म मान्छन् उनी । ‘कति धेरै फरक भइसक्यो । उ बेला नेपालमा चर्पी थिएन, मलाई लाग्छ बनाउने चलन पनि थिएन होला । बालिका, महिला अहिले कति शिक्षित भइसके । राज्यका विभिन्न तथा महत्वपूर्ण निकायमा महिला पुगेका छन् । स्कूल कलेज गाउँगाउँमा छन् । सरसफाइ छ । बाटोघाटो पुगेको छ’, ५० वर्षअघिको नेपाल सम्झिँदै उनले भनिन् । तर, पनि कतिपय ग्रामीण क्षेत्रमा भने अझै पनि चेतनाको स्तरलाई बढाउनुपर्ने उनले बताइन् ।

तीन वर्षअघि दार्चुलाको घटना सम्झिँदै उनले भनिन् । ‘एकजना चार वर्षीय बालकको खुट्टा पोलेको थियो र ठूलो घाउ थियो । मैले काठमाडौँ लैजान्छौँ, निःशुल्क उपचार पनि गर्छौं भन्दा पनि बुबाआमा र आफन्तले मानेनन् । घरायसी उपचारले नै ठीक हुन्छ भने । बालकको खुट्टा बिग्रिन्छभन्दा पनि मानेनन् । काठमाडौँ आउन जान टाढा हुने तथा घरमा गाईबस्तु हेर्ने मान्छे पनि कोही नहुने भनेर उनीहरु मानेनन् । यो घटनाले मलाई छोइरहन्छ । मानिसले आफ्नो स्वास्थ्यलाई महत्व दिउन् भन्ने लाग्छ ।’ 

आफ्नो जन्मघर स्वीट्जरल्याण्ड भए पनि बुबाजस्तै आफूले नेपाललाई कर्मघर बनाउने उनको योजना छ । हुन पनि उनी नेपाल जति अरु देश घुमेकै छैनन् अनि टोनी हेगन फाउन्डेसनको कार्यक्रम पनि नेपालबाहेक अन्यत्र छैन । 

क्याट्रिन भन्छन् ‘नेपाल त प्रकृतिले नै वरदानस्वरुप दिएको देश हो, जति पटक आयो त्यति नै राम्रो र झन नयाँ लाग्छ ।’ एकराज पाठक–रासस 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro