वैदेशिक रोजगारीमा जाने कामदारलाई तालीम सञ्चालन गर्न स्वीकृति लिएका कतिपय संस्थाले तालीम नै नदिई प्रमाणपत्र बेचिरहेको रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले बताएका छन् ।
तालीमका लागि ७ सय रुपैयाँ लागे पनि रू. १ हजार ५ सयदेखि २ हजारसम्ममा प्रमाणपत्र बेच्ने गरेको उनले बताए । ‘तालीम दिने संस्थाहरूले तालीम नै नदिई पैसाको भरमा प्रमाणपत्र बेच्ने गरेकाले नेपाली कामदारले विदेशमा गई दु:ख पाइरहेका छन्,’ देवकोटाले भने ।
वैदेशिक रोजगारीमा जाने कामदारले विभिन्न खालका दु:ख पाइरहेकाले तालीम दिइरहेकाहरूलाई नै सरकारले तालीम दिन शुरू गरेको छ । तालीम वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र आइएलओले संयुक्त रूपमा सञ्चालन गरेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका निर्देशक मुकुन्द अधिकारीले बताए । ‘सरकारी लगानी र निर्देशनमा तालीम सञ्चालन भएको यो पहिलो हो,’ उनले भने । बोर्डले तालीम व्यवस्थापन र आइएलओले कार्यक्रमका लागि आवश्यक रकम उपलब्ध गराएको हो । यसअघि यो कार्य तालीम सञ्चालन गर्ने संस्थाको लगानीमा व्यावसायिक सीप विकास तालीम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्लगायतका संघसंस्थाले गर्दै आएका थिए । तालीम ४० जनाले लिएको बताइएको छ । तालीम रू. ६ लाखको लागतमा सञ्चालन गरेको निर्देशक अधिकारीले बताए ।
वर्ष ५ अंक २५, शुक्रवार १५ असोज, २०६७