ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

जति नै खर्चिलो भए पनि निर्वाचनको अपरिहार्यता

२०७९ मंसिर, २०  
लेख | दृष्टिकोण
Tvs Raider Image Not Found
author avatar रामप्रसाद गौतम

अहं स्वर्णम् न मे दु:खमग्निदाहे न ताडने ।
एतत्तुमे महादु:खम्, गुञ्जाया तोलयन्ती माम् ।।

अर्थ : सुन भन्छ, म सुन हुँ, मलाई पोलेको पिटेकाले कुनै दु:ख हुँदैन तर रातीगेडीसँग जब मलाई तौलिन्छ तब महादु:ख लाग्छ ।

वंश परम्पराको आधारमा जब शासक छानिन्थ्यो त्यतिबेला शासकहरू सुन जत्तिकै घमन्डी हुन्थे । उनीहरूले रैतीलाई रातीगेडी बराबर पनि गन्दैथे । पुराना शासकहरू नागरिकलाई कहिल्यै सम्मानको भावले हेर्दैनथे । अब चुनावको कारणले गर्दा शासक छानिनका लागि जनतााको मन जित्नुपर्ने हुन्छ । उनीहरूका समस्या बुझ्नुपर्ने हुन्छ त्यसैले आम मतदाताका लागि निर्वाचन शासक छान्ने अवसर हो ।

पैसा बढी खर्च गरेकाले कम क्षमतावान् व्यक्तिले जित्ने र राम्रो विचार भएको व्यक्ति हार्ने अवस्था नदोहोरियोस् भन्नेमा सबै सभ्य नागरिक सचेत हुन जरुरी छ ।

घरदैलो कार्यक्रममार्फत होस् वा इलेक्ट्रिोनिक मिडियामा होस् जनतासँग बोल्दा प्रत्येक नेता नरम भएर बोल्नुपर्ने अवस्था आएको यो निर्वाचनको देन हो । निर्वाचनका कारणले जनताको मनोभाव बुझ्ने र त्यस क्षेत्रको मूल समस्या नजिकबाट अवलोकन गर्ने अवस्था पनि सृजना हुने भएकाले नीति निर्माण तहमा पुग्ने सबैले आफ्नो क्षेत्रको समस्यालाई स्मरण गरी नीति बनाउन पाउँछन् । समस्या गहन छ भने विभिन्न मञ्चमा बहस हुन सक्छ । बहस र छलफलले एउटा निचोड त पक्कै निकाल्छ ।

तमाम आलोचनाका माझ पनि विगतभन्दा आजको नेपालीको जीवनस्तर माथि उठेको छ । यस्तो हुनुमा निर्वाचनले धेरै सहयोग गरेको छ । निर्वाचनले एउटा दललाई सत्तामा र अर्कोलाई प्रतिपक्षमा पुर्‍याउँछ जसले गर्दा सरकारका गतिविधिको सूक्ष्म अवलोकन प्रतिपक्ष र पत्रकारले गरी रहेका हुन्छन् । कुनै गल्ती भएमा त्यसका विरुद्ध आवाज तत्कालै उठ्छ र त्यसलाई सुधार गर्न पाइन्छ । शिक्षा, स्वास्थ्य र गाँसबासमा त पक्कै सुधार भएको छ ।

निर्वाचनले जनमतबाट शासक फेर्न सक्ने हैसियत राख्ने उदाहरण स्थानीयमा बालेन र अहिले रवि लामिछानेजस्ता फरकफरक क्षमता भएका व्यक्ति निर्वाचनमा विजयी हुनु हो । अझै गहिरिएर हेर्ने हो भने निर्वाचन प्रणालीले सरकार मात्र होइन, राज्यका अन्य अङ्ग, जस्तै : अदालत, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता स्वतन्त्र र स्वायत्त संस्थाको गरिमा बढाउन पनि सहयोग गर्छ । यावत् निष्पक्षताका बीच पनि चुनावमा उम्मेदवारले पैसा बाँड्ने गरेको, मासुमदिराका बदलामा भोट लिने गरेको जस्ता संगिन आरोपहरू व्यापक रूपमा सुन्न पाइन्छ । यो सरासर गलत काम हो तर पनि यसमाथि पूर्ण प्रमाणविना केही भन्न सक्ने अवस्था रहँदैन ।

अनेक प्रयास र प्रयत्नका बीच पनि गरीबी हाम्रो नकार्नै नसकिने समस्याका रूपमा रहेको छ । यस्तो अवस्थामा आर्थिक तथा भौतिक सहयोगको बदलामा भोट किनबेच हुने कुरालाई पूर्णरूपमा नकार्न सकिँदैन । हार्ने पक्षले प्राय: यस्तो आरोप लगाउने गर्छन् । यसमा सबै आरोप सत्य हुन् जस्तो लाग्दैन त्यसैगरी सबै असत्य भन्न पनि सकिँदैन ।

कुनै चुनावमा कुनै ठाउँमा यो लेखक विपक्षले पैसा बाँड्छन् त्यसैले काउन्टर गर्न जानुपर्छ भनेर गाउँका साथीहरूसँग राति गस्ती गर्न गएको थियो । अर्को उम्मेदवारका साथीहरू पनि रातिमा त्यतै र सोही प्रयोजनका लागि जानुभएको रहेछ । दुवै पक्षको भेट भयो सँगै मिलेर एउटा घरमा अनुरोध गरेर कालो चिया खाइयो । राति १२ बजेतिर सबै सुत्न गइयो । चुनाव भयो एक पक्षले जित्यो अर्को पक्षले हार्‍यो । पछि त्यही राति पैसा बाँडेर जितेको भन्ने आरोप लगाए विपक्षले । यस्तो पनि हुन्छ । साँच्चिकै आर्थिक चलखेल पनि हुन्छ । जेहोस् पैसाको बलमा चुनाव जित्ने उम्मेदवारले पूरै कार्यकाल पैसा कमाउनमा लगाउने भएकाले यो खराब हो । यो हाम्रो गरीबीको थप उपहास हो ।

योबाहेक अरू बढी खर्च हुन्छ भन्ने अनुमान सहजै गर्न सकिन्छ । बढ्दो खर्चभार पनि आम निर्वाचनको खराब पक्ष हो । लगभग ३२ अर्ब त राज्य र उम्मेदवारबाट वैधानिक खर्च हुने गर्छ भने चुनाव महँगो प्रक्रिया हो ।

जतिसुकै खर्च भए तापनि जनताको मनोबल उच्च राख्न सरकार निर्माणमा जनताको पँहुच बिस्तार गर्न खर्चको आँकडा गनेर चुनावलाई खराब मान्नु हुँदैन । कुरा यत्ति हो, कोही पनि पैसाको कारणले मात्र विजयी हुने अवस्था नआओस् । पैसा बढी खर्च गरेकाले कम क्षमतावान् व्यक्तिले जित्ने र राम्रो विचार भएको व्यक्ति हार्ने अवस्था नदोहोरियोस् भन्नेमा सबै सभ्य नागरिक सचेत हुन जरुरी छ ।

चुनाव आम जनताले राम्रो उम्मेदवार छान्ने अवसर हो । मानिस मानिसको बौद्धिक क्षमतामा पक्कै पनि अन्तर छ । यस्तो नहुने हो भने सबै व्यक्ति गान्धी, बीपी, माक्र्स, आइस्टाइन हुने थिए । जर्मन कवि दाँतेले अरस्तुका बारेमा भनेका थिए, ‘उनी ज्ञान भएका व्यक्तिमध्ये सबैभन्दा महान् हुन् ।’ कुरा के भने सबै मानिस अधिकारका रूपमा समान भए तापनि बौद्धिक र व्यावहारिक क्षमतामा फरक हुन्छन् । त्यसैले हामीसँग उपलब्धमध्ये सबैभन्दा सक्षमलाई मतदान गर्ने अवसर हामी सबैलाई छ ।

मतदाता भगवान् होइन जसले महान् व्यक्ति जन्माओस् तर विवेकशील प्राणी हो उसले उपलब्धमध्ये महान् छान्न सक्छ । हो, एउटा प्रतिनिधिले मात्र विकास गर्ने होइन तर त्यागी, नि:स्वार्थ र समझदारीपूर्ण उम्मेदावारको विजयले हाम्रो विकासमा केही न केही सुधार पक्कै हुन्छ ।

स्थापित मान्यतामा परिवर्तन भएका केही छनक स्थानीय निकाय निर्वाचनमा देखिएको हो । हुन सक्छ निर्वाचनका माध्यमबाट हामी खिया लागेका दिमागको बदलामा केही सुझबुझपूर्ण दिमाग छान्न सक्षम पो भयौं कि । आखिर हामीलाई शासक छान्ने अधिकार निर्वाचनले दिएकै हो ।

लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro