ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

ऊनको आयात प्रतिस्थापनका आयामहरू

भेडापालनका लागि लिनुपर्ने केही नीति

२०७९ मंसिर, २०  
लेख | दृष्टिकोण
Tvs Raider Image Not Found
author avatar कृष्णराज बजगाईं

विगत १४ वर्षयताको नेपालको आयात व्यापारको प्रवृत्ति हेर्दा यस अवधिमा ऊन तथा ऊनी फेब्रिकको आयातमा औसत वार्षिक वृद्धि करीब ९ प्रतिशत रहेको छ । मूल्यमा हेर्दा आर्थिक वर्ष (आव) २००८/९ (सन्) को तुलनामा आव २०२१/२२ मा ऊन तथा ऊनी फेब्रिकको आयातमा करीब ३ गुनाको वृद्धि भएको पाइन्छ । गत आव २०२१/२२ मा ऊनको आयात रू. ५ अर्ब ८ करोड बराबरी हुनुले तथा निरन्तर आयातमा भई रहनुले नेपालमा ऊनको उत्पादन तथा ऊनीजन्य उत्पादन दुवैको मागमा आकर्षक वृद्धि रहेको र रहने सम्भावनालाई उजागर गर्छ । भन्सार विभागबाट प्रकाशित तथ्यांक अनुसार गत आवमा रू. ६८ करोड बराबरका ऊनी उत्पादन आयात भएको देखिन्छ । यसरी नेपालमा ऊन तथा ऊनीजन्य वस्तुहरूको आयात बजार मात्रै करीब रू. ६ अर्बको हाराहारीमा रहेको छ ।

तर, निरन्तर प्रयास गर्दागर्दै पनि नेपालमा ऊन उत्पादन कार्यले गति लिन सकेको छै्रन । कृषिक्षेत्रको विकासमा संगठित प्रयासहरू प्रारम्भ भएको विगतका कैयौं दशक प्रयोगमा नै सीमित भएका छन् । भेडापालन अनुकूल भूबनोट र परम्परागत अनुभवका हुँदाहुँदै पनि आधुनिक समयको मागअनुसार भेडापालन ऊन र ऊनी वस्तुहरू उत्पादनलाई एकआपसमा जोड्न नसक्दा यो अवस्था सृजना भएको हो ।

निश्चय नै भेडापालनका लागि उपयुक्त भूभागभन्दा साथ उच्च लेकाली र हिमाली भूबनोट भएको क्षेत्र नै हो । यस भेगको जीवनयापन कति कष्टकर छ भन्ने कुरा त्यस क्षेत्रमा आफै गएर बसेको अनुभव नभएसम्म केबल कोरा उपदेशका विषयहरू मात्र हुन जान्छन् । आधुनिक जीवनयापनमा सारा सुख वैभवबाट वञ्चित यो क्षेत्रमा भेडापालन व्यवसाय सञ्चालन गर्नु, ऊन उत्पादन गर्नु र त्यो ऊनलाई मूल्य प्रतिस्पर्धी बनाउनु काठमाडौंका गोष्ठीमा पावरप्वाइन्टमा प्रस्तुति गरेजस्तो सहज र सरल छैन ।

खासमा भेडापालन र ऊन उत्पादनमा विद्यमान अवरोधहरूको पहिचान र त्यस्ता अवरोध सम्बोधन गर्न व्यावहारिक नीति तथा कार्यक्रमको कमीले नेपालमा भेडापालन र ऊन उत्पादन कार्यले गति लिन नसकेको हो । यसको जडमा विश्वकै दुर्गम र कष्टकर जीवनयापन गरिरहेको समूहलाई विनाउत्प्रेरणा र असहज वातावरणमै भेडापालन र ऊन उत्पादनमा आत्मनिर्भर हुने सतही उद्घोषका कारण यस क्षेत्रमा फलदायी कुनै कार्य हुन सकेके छैन । भेडापालन क्षेत्रको जीवनयापनसँग अपरिचित नीति तर्जुमा समूहबाट सिफारिश भएका अव्यावहारिक नीति र कार्यक्रमका कारण यो अवस्था सृजना भएको हो । सबैभन्दा विडम्बनाको विषय त भेडापालनमा नयाँ पुस्ताको अनुत्साह र अनाकर्षणलाई कसरी उत्साहमा बदल्ने भन्ने विषयमा कुनै चर्चा नै हुनै गर्दैन । भेडीगोठका गोठालाहरू के चाहन्छन् भन्ने विषय नीति निर्माणमा कहिल्यै प्रतिनिधित्व हुने गर्दैन ।

अहिलेको आधुनिक समयमा शिक्षा, स्वास्थ्य, यातायात र सञ्चारको पहुँच नभएका क्षेत्रमा व्यवसाय सञ्चालन हुनुपर्छ र गरिनुपर्छ अनौठो मान्यता नेपालमा स्थापित भएको छ र यसको ज्वलन्त उदाहरण नेपालको भेडापालन क्षेत्र हो । वर्तमान आधुनिक समयमा समाजका अन्य वर्गहरूका लागि न्यूनतम आवश्यकताका रूपमा रहेका शिक्षा, स्वास्थ्य, यातायात र सञ्चारको अनुपस्थितिमा कुनचाहिँ पेशा र व्यवसायमा जनशक्ति टिकिरहन सक्छ ? समाजको एउटा तह र तप्का प्रथम विश्वको चमकधमकमा रमाउने र अर्को पक्षले नेपाललाई ऊनमा आत्मनिर्भर बनाउनैका लागि आधुनिक समयका सबै सुविधा र आमोदप्रमोदलाई त्यागेर कठ्याङ्गिँ्रदो जाडोमा सन्तानलाई अनपढ र अशिक्षित अवस्थामै राखी स्वास्थ्य, यातायात र सञ्चारमा सुविधाको अभावमा भेडापालन व्यवसायलाई निरन्तरता दिन गरिने नीति तर्जुमा तहको अपेक्षा नै आफैमा अनौठो रहेको छ ।

उचित प्रोत्साहन, सहयोग र समर्थनको अभावमा नेपालमा भेडीगोठमा नयाँ पुस्ता नबस्ने, पुराना पुस्ता अशक्त हुँदै जाने क्रममा लेकाली र हिमाली भेगमा भेडीगोठहरू रित्तिँदै गएको पाइन्छ । फलस्वरूप यस पेशामा विद्यमान निरन्तरको अनुत्साह र अनाकर्षक भविष्यमा अझ बढ्ने र भेडापालन व्यवसाय नै लुप्त हुने खतरासमेत रहेको छ ।

उपर्युक्त परिस्थितिलाई ह्दयंगम गरी नेपाललाई ऊनमा साँच्चै आत्मनिर्भर बनाउने हो भने, भेडापालन व्यवसायलाई (क) सम्मानित, (ख) आधुनिक सुविधामा सहज पहुँच र (ग) बाह्य देशहरूका उत्पादनसँग प्रतिस्पर्धी बनाउने उपर्युक्त तीनओटै क्षेत्रमा समानान्तर पहलहरू लिन आवश्यक देखिन्छ । यसका लागि देहायका कार्य गर्न आवश्यक छ ।

स्मार्ट भेडीगोठ र खर्क : आधुनिक समयअनुकूल हुने गरी परम्परागत भेडीगोठहरूलाई आधुनिक सञ्चार सुविधा, सरसफाई, फर्निचर, भान्साकोठा, बैठक कोठा, वातानुकूलित सुविधासहितका स्मार्ट भेडीगोठ र खर्कहरूको व्यवस्था हुन जरुरी छ ता कि भेडापालकहरूको बसाइ सहज र सम्मानित हुन सकोस् । तीनै तहका सरकारले यस क्षेत्रमा लगानी गर्नु आवश्यक देखिन्छ ।

शिक्षा, स्वास्थ्य, सञ्चार, वित्त व्यवस्थापन सम्मानित पहुँच स्थापना : भेडापालन व्यवसायमा संलग्न भेडापालकहरू तथा तिनका सन्तानलाई सुविधा सम्पन्न शिक्षालयमा सरकारले विशेष छात्रवृत्तिको व्यवस्था गर्नुका साथै भेडापालन र ऊन उत्पादन व्यवसायमा उच्च शिक्षा अध्ययन, अनुभव आदानप्रदान, भ्रमण तथा भेडापालन, ऊनी व्यवसायसम्बद्ध नीति तर्जुमामा उनीहरूको सम्मानित प्रतिनिधित्व हुन आवश्यक छ ।

प्राविधिक पक्षमा लगानी : ऊन तथा ऊनी उत्पादनलाई बाह्य मुलुकका उत्पादनहरूसँग प्रतिस्पर्धी बनाउन भेडाको नश्ल सुधार, उच्च कोटीको ऊन उत्पादन गर्ने प्रविधि, आधुनिक औजारहरूको व्यवस्था तथा यस क्षेत्रको निरन्तर विकासका लागि अनुुन्धान र विकासजस्ता क्षेत्रमा आवश्यक लगानी हुन आवश्यक छ ।

सहयोग, संरक्षण र प्रोत्साहन : कृषिक्षेत्र आफैमा सरकारको बढी नै संरक्षण प्रदान गरिनुपर्ने क्षेत्र हो । त्यसमा पनि दुर्गम क्षेत्र र कष्टकर जीवनयापनको बाहुल्य रहेको भेडापालन क्षेत्र त सरकारको संरक्षण र सहयोगका लागि अझ बढी अपेक्षित क्षेत्र हो । यस पक्षलाई दृष्टिगत गरी भेडापालन तथा ऊन उत्पादनका सबै क्रियाकलाप र ऊनी वस्तु उत्पादनका सम्पूर्ण प्रक्रियामा सरकारबाट आवश्यक सहयोग, संरक्षण र प्रोत्साहनको खाँचो सर्वत्र महसूस गरिएको छ ।

नीति तर्जुमामा भेडापालकहरूको अनिवार्य प्रतिनिधित्व : भेडापालन र ऊन उत्पादनका क्षेत्रमा केकस्ता सुधारका कार्यक्रम आवश्यक छन्, यस क्षेत्रमा जनशक्तिलाई टिकाइराख्न केकस्ता उत्प्रेरणात्मक उपाय आवश्यक छन् र भेडापालन व्यवसायलाई सम्मानित, सहज र फलदायी बनाउन केकस्ता नीति र कार्यक्रमको आवश्यकता पर्छ भन्ने विषयमा वास्तविक लाभकारी पक्षलाई प्रतिनिधित्व गराउन नीति तर्जुमा तहमा भेडापालक र भेडी गोठालालाई अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था हुन पनि जरुरी देखिन्छ ।

भेडापालन र ऊनी वस्तु उत्पादकहरूबीच अन्तरसम्बन्ध स्थापना : भेडापालनको निरन्तरता तथा भविष्यको सुनिश्चिताका लागि भेडाका ऊनका वस्तु उत्पादक उद्यमी व्यवसायीहरूमा फलदायी सम्बन्ध स्थापना हुन जरुरी छ । विशेष गरी पश्मिना उत्पादक, ऊनी गलैंचा उत्पादक, ऊनका तयारी पोशाक उत्पादक तथा ऊनी फेल्ट उत्पादकहरूको भेडापालनमा लगानी हुने मोडालिटी तयार गरी यस क्षेत्रको विकास गर्नु जरुरी छ । पश्मिना, ऊनी गलैंचा, ऊनका तयारी पोशाक तथा ऊनी फेल्ट उत्पादकहरू स्वयम्ले भेडापालन गर्न चाहेको खण्डमा त्यस्तो व्यवसाय विस्तारका लागि सहज वातावरण सृजना गरिनु पनि आवश्यक देखिन्छ ।

अन्य व्यवसायसँग आबद्धता : भेडापालन, चौरीपालन, चीज उत्पादन, छुर्पी उत्पादन, छाला उत्पादनजस्ता व्यवसाय भेडापालन व्यवसायसँग अन्योन्याश्रित रूपमा गाँसिएर आउने व्यवसाय हुन् । भेडापालनसँग यी व्यवसायको आबद्धताको मोडालिटी तयार गरी भेडापालन व्यवसायलाई बहुआयामिक बनाउन पनि जरुरी छ । यस्तै स्मार्ट भेडीगोठहरू हिमाली र उच्च लेकाली पदयात्रीका लागि आवास स्थलका रूपमा होटेल सेवा प्रदान गर्ने गरी समेत विकास गर्न सकिन्छ ।

भेडापालन, स्मार्ट भेडीगोठ र पर्यटन प्रवर्द्धनलाई एकआपसमा जोडेर हिमाल र उच्च लेकाली क्षेत्रमा आर्थिक गतिविधिको नयाँ सुचक्र स्थापना गर्न सकिन्छ ।

यसरी उपर्युक्त ६ ओटा सूत्रमा आधारित रही भेडापालन व्यवसायको आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरण गर्न सकेको खण्डमा नेपाल चाँडै ऊनमा आत्मनिर्भर हुने निश्चित छ ।

लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro