म्याग्दी । यस वर्ष म्याग्दीमा धान र कोदो बालीको उत्पादन घटेको छ । गतवर्षको तुलनामा यस वर्ष धानको उत्पादन ११ दशमलव ५० प्रतिशत र कोदोको उत्पादन ६ दशमलव ८७ प्रतिशतले घटेको छ । धानको उत्पादकत्व प्रतिहेक्टर शून्य दशमलव ३ टन र कोदोको उत्पादकत्व प्रतिहेक्टर शून्य दशमलव १ टनले घटेको कृषि ज्ञान केन्द्रले बताएको छ । फूल खेल्ने समयमा वर्षात् र रोप्ने समयमा खडेरीका कारण धान र कोदो उत्पादनमा असर पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताए ।
रोपाइँ ढिलाइ भएको र खेतबारी आसपासका क्षेत्रमा बढेको जंगलको ओसले पनि धान र कोदोको उत्पादन घटेको उनले प्रस्ट्याए । गतवर्ष म्याग्दीमा १३ हजार ४८० टन धान र ३ हजार ४९० टन कोदो उत्पादन भएको थियो । यसपालि ३ हजार २५० टन कोदो र ११ हजार ९२९ दशमलव ३३ टन धान उत्पादन भएको केन्द्रका प्राविधिक सहायक सम्झना आचार्यले बताइन् ।
‘जिल्लाका विभिन्न ठाउँमा गरिएको धान र कोदो बालीको क्रप कटिङ विधिबाट उत्पादनको अवस्थाका विषयमा अध्ययन गरेका थियौं,’ उनले भनिन्, ‘धान प्रतिहेक्टर ३ दशमलव ४ टनबाट घटेर ३ दशमलव १ टन प्रतिहेक्टर भएको छ । कोदोको उत्पादकत्व प्रतिहेक्टर १ दशमलव २८ बाट घटेर १ दशमलव २७ टन भएको छ ।’
कृषि प्राविधिकहरूले जिल्लाका विभिन्न स्थानमा धान र कोदोको क्रप कटिङ गरेर उत्पादकत्व पहिचान गरेका थिए । म्याग्दीमा २ हजार ७५० हेक्टर क्षेत्रफलमा कोदो र ३ हजार ८९० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । रासस