काठमाडौं । विश्वकप फुटबलमा प्रि क्वाटर फाइनलका खेल सकिएसँगै क्वाटर फाइनलमा पुग्ने ८ ओटा टोलीको टुंगो लागीसकेको छ ।
८ मध्ये ६ टोलीले निर्धारित ९० मिनेटमै खेल जितेका थिए भने दुई टोलीले अतिरिक्त समयमा पनि नतिजा नआएपछि पेनाल्टी शुटआउटको सहारामा अन्तिम ८ मा स्थान बनाएका थिए ।
केही टोलीले समूह चरणको भन्दा नकआउट चरणको खेलमा सुधार गरेका थिए । केही टोलीले भने समूह चरणको भन्दा पनि झुर खेलेका थिए ।
प्रि क्वाटर फाइनलमा सबैभन्दा धेरै गोल गरेर जित्ने टोली पोर्चुगल बनेको छ । सबैभन्दा कम गोल अन्तरमा जित्ने टोली अर्जेन्टिना बनेको छ ।
विश्वकपमा बलियो दावेदारी नभएपनि क्वाटर फाइनल पुग्ने टोली मोरक्को बनेको छ । अन्य सबै टोलीलाई विश्वकपको दावेदारकै रुपमा लिइएको छ ।
क्वाटर फाइनल पुग्ने कुन टोलीले कस्तो खेले ?
क्वाटरफाइनल पुग्ने पहिलो टोली नेदरल्यान्डले अमेरिकालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै फ्रान्सले पनि पोल्याण्डलाई ३-१ गोल अन्तरले नै पराजित गरेको थियो ।
बेलायतले सेनेगललाई ३-० ले पराजित गर्यो भने अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ ले पराजित गरेको थियो ।
ब्राजिलले दक्षिण कोरियालाई ४-१ ले पराजित गर्दा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६-१ ले पराजित गर्यो । क्रोएशियाले भने जापानलाई पेनाल्टी शुटआउटमा ३-१ ले र मोरक्कोले स्पेनलाई पेनाल्टी शुटआउटमै ३-० ले पराजित गरेर क्वाटरफाइनल पुगेका हुन् ।
गोल अन्तरका आधारमा पोर्चुगल सबैभन्दा बलियो टोली देखिएको छ । उसले नियमित कप्तान रोनाल्डोलाई बेन्चमा राखेर शुरु गरेको खेलमा पनि ६ गोल गरेको थियो । दोस्रोमा ब्राजिल बलियो देखिएको छ । उसले दक्षिण कोरियालाई ४-१ ले पराजित गरेको थियो ।
तेस्रो बलियो देशका रुपमा बेलायतलाई लिन सकिन्छ । उसले सेनेगललाई ३-० ले पराजित गरेको थियो । नेदरल्यान्ड र फ्रान्सले भने समान ३-१ को जित निकालेका थिए । यी दुवै टोलीको हैसियत बराबर देखिन्छ ।
पेनाल्टी शुटआउटमा गएर जितेका क्रोएशिया र मोरक्को मध्ये क्रोएशियाले निर्धारित समयमा १-१ गोलको बराबरी खेलेकाले क्रोएशिया सातौ र मोरक्को आठौ स्थानमा रहेर अन्तिम ८ को यात्रा गरेका छन् ।
क्वाटर फाइनलमा कसको प्रतिद्वन्दी को ?
शुक्रवारदेखि शुरू हुने क्वाटर फाइनलका खेलहरूमा सबैभन्दा पहिला ब्राजिल र क्रोएशिया भिड्ने छन् । यी दुई टोली शुक्रवार राती ८ : ४५ बजे भिड्ने छन् । दोस्रो खेलमा अर्जेन्टिना र नेदरल्यान्ड राती १२ : ४५ बजे भिड्ने छन् ।
शनिवार बेलुका ८ : ४५ बजे पोर्चुगल र मोरक्को भिड्ने छन् । दोस्रो खेलमा राती १२ : ४५ बजे फ्रान्स र बेलायत भिड्ने छन् ।
अब विश्वकपमा क्वाटर फाइनल सहित ८ खेल हुन बाँकी छन् ।